
काटमाडौं । आउँदो कार्तिक १४ गतेबाट प्रदर्शनमा आउने पारिवारिक कथामा आधारित चलचित्र ‘परान’ ले दर्शक आकर्षित गर्न ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गरेको छ । प्रतियोगिताका विजेतालाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
निर्माण पक्षका अनुसार इच्छुक सहभागीहरूले आफ्नो जीवनको ‘परान’ को रूपमा रहेका व्यक्ति (जस्तै—आमा, बुबा, श्रीमान, श्रीमती, साथी, प्रेमी/प्रेमिका, दाजुभाइ, दिदीबहिनी आदि) सँगको तस्बिरमा ‘मेरो परान’ लेख्दै भावना व्यक्त गर्नुपर्नेछ र सो पोस्टलाई चलचित्रको आधिकारिक फेसबुक पेजमा ट्याग गर्नुपर्नेछ।
सहभागीहरूमध्ये एक जना भाग्यशाली विजेताले गोलाप्रथामार्फत एक लाख रुपैयाँ जित्नेछन्, जबकि १०० जनाले चलचित्रको विशेष शोको टिकट पाउनेछन्।
चलचित्रको प्रचारका लागि स्वयंसवकहरूले फिल्मको क्यूआर कोडसहित शहरभर भ्रमण गरिरहेका छन्। क्यूआर स्क्यान गरी ‘परान’को ट्रेलर वा गीत सेयर गर्ने ५० जनाले कलाकारसँगै चलचित्र हेर्ने अवसर पाउनेछन्। यी दुवै प्रतियोगितामा कार्तिक २० गतेसम्म सहभागी हुन सकिनेछ।
‘सक्किगोनी’ फेम दीपकप्रसाद आचार्य (काकु) निर्देशित यो पहिलो चलचित्र हो, जसमा बुबा र छोराबीचको भावनात्मक कथा प्रस्तुत गरिएको छ।
चलचित्रमा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, साथै बाल कलाकार आर्यदीप आचार्य र आरभजंग अधिकारी अभिनय गरेका छन्।







प्रतिक्रिया