
काठमाडौं । एभरेष्ट बैंकको सबैभन्दा ठूलो सेयरधनी प्रतिमा श्रेष्ठले लाभांश नपाउने भएकी छन् । लामो रस्साकस्सीपछि बुबाको नाममा रहेको सेयर आफ्नो नाममा ल्याए तापनि श्रेष्ठ बैंकले दिने लाभांशबाट बञ्चित हुने भएकी हुन् ।
नेपाल राष्ट्र बैंकले एभरेष्ट बैंकलाई एजीएम क्लियरेन्स दिने क्रममा प्रतिमाले स्वामित्व घटाएर १५ प्रतिशतमा सीमित नगरेसम्म लाभांश नदिन बैंकलाई निर्देशन दिएको हो ।
९४ वर्षको उमेरमा भेट्रान बैंकर बिके (बिष्णुकृष्ण) श्रेष्ठको निधनपछि उनका नाममा रहेको करिब डेढ अर्ब बराबरको एभरेष्ट बैंकको सेयर बकसपत्रअनुसार छोरी प्रतिमा श्रेष्ठले पाएकी थिइन् । तर, प्रतिमाको नाममा पहिल्यै १४.७७ % सेयर स्वामित्व भएकाले बुबाको ९.१८ % थपिँदा उनको स्वामित्व २३.९६ % पुगेको छ । यो बाफियाले तोकेको १५ % को सीमा विपरीत हो ।
राष्ट्र बैंकले सुरुमा कानुनी अड्चनका कारण नामसारी रोके पनि सर्वोच्च अदालतको अघिल्लो फैसला र संविधानमा तोकिएको सम्पत्ति अधिकारलाई आधार मानेर समाधान खोजेको थियो । समाधानस्वरूप प्रतिमाले आफ्नै सेयर क्रमशः बेच्दै जाने र त्यसअनुसार मात्र बुबाको नाममा रहेको सेयर ट्रान्स्फर हुँदै जाने सुविधा दिइएको छ ताकि १५% सीमा ननाघोस् ।
राष्ट्र बैंकले सुविधा दिए तापनि लाभांश वितरणका क्रममा भने ठूलो सर्त राखिदिएको हो । जसकारण अब प्रतिमालाई सेयर नबेची नहुने बाध्यता आइपरेको छ ।
एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत १४ प्रतिशत नगद लाभांश दिने भएको छ । जसअनुसार प्रतिमाको नाममा हाल रहेको ३ करोड १० लाख १६ हजार कित्ताका आधारमा उनले नगद लाभांश नै ४३ करोड १० लाख रुपैयाँ बराबरको पाउँछिन् । यसैगरी १८ लाख ६१ हजार सेयर उनको नाममा थपिनेछ ।
राष्ट्र बैंकले ४ वटा सर्त राखेर लाभांश स्वीकृति र वित्तीय विवरण प्रकाशनको स्वीकृति दिएको हो । जसमध्ये तेस्रो सर्तमा ‘चुक्तापुँजीको २३.९६ प्रतिशत संस्थापक सेयरमा लगानी रहेको सेयरधनी प्रतिमा श्रेष्ठलाई उल्लेखित व्यवस्था बमोजिम सेयर लगानी तोकिएको सीमाभित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश तथा बोनस सेयर वितरण रोक्का राख्ने व्यवस्था मिलाउनु हुन‘ उल्लेख छ ।

प्रतिमाको सेयर सीमामा ल्याएपछि रोक्का रहेको लाभांशको हकदार पनि प्रतिमा नै हुने राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । ‘उहाँले तत्काल लाभांश लिन पाउनु हुनेछैन । १५ प्रतिशतको सीमामा झारेपछि भने अहिले हक लाग्ने सबै लाभांश उहाँको हुनेछ,’ ती अधिकारीले क्लिकमान्डुसँग भने ।
एभरेष्ट बैंकका संस्थापक बीके श्रेष्ठको निधन २०८० कात्तिक ६ गते भएको थियो ।
श्रेष्ठ २०५२ देखि जीवनकालको अन्तिम दिनसम्म एभरेष्ट बैंकको सञ्चालक समिति अध्यक्ष थिए । बैंकले २०५१ मा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको वित्तीय संस्थाका रूपमा सञ्चालन अनुमति पाएको थियो ।
बैंकमा बिकेको ९.१८ प्रतिशत अर्थात् ९८ लाख २१ हजार ५ सय ११ कित्ता सेयर स्वामित्व थियो । प्रतिकित्ता १ सय रुपैयाँका दरले ९८ करोड र बजारमा कारोबार पछिल्लो मूल्य (संस्थापक सेयर प्रतिकित्ता १४५ रुपैयाँ)का आधारमा करिब डेढ अर्ब रुपैयाँ उनको सम्पत्ति बैंकमा थियो ।
उनले शेषपछि आफ्नो सम्पत्ति कसको हुने भन्ने खुलाएका थिएनन् । आफू मरेपछि बैंकको सेयर कसको नाममा हुने भने गोप्य बकश गरिदिएका थिए । बकशपत्र एउटा खाममा शीलबन्दी गरिएको थियो र ‘म मरेपछि मात्र यो खाम खोल्नु’ भनेकाले कसैले पनि बिकेले बकसपत्रमा के लेखेका छन् भनेर हेर्ने आँट गरेनन् ।
जीवनको उत्तरार्धमा आइपुग्दा बिके शारिरीक रुपमा निकै कमजोर बनिसकेका थिए । तर, उनी बैंकको काममा भने सक्रिए नै थिए । उनका एक छोरा र दुई छोरी थिए । तर, बिके बितेर गएपछि उनको स्वामित्व कसको हुन्छ रु भन्ने कसैलाई थाहा थिएन । त्यो नितान्त बिकेको एकल निर्णय थियो ।
९४ वर्षमा बिकेको निधन भयो ।
पारिवारिक स्रोतका अनुसार उनले गरेको बकशपत्र खोल्दा थाहा भयो कि ‘आफ्नो शेषपछि बैंकमा रहेको सबै स्वामित्व छोरी प्रतिमा श्रेष्ठको नाममा होस्’ भनेर लेखेका रहेछन् ।
प्रतिमाको नाममा पहिल्यै एभरेष्टको १४.७७ प्रतिशत अर्थात् १ करोड ७३ लाख ८६ हजार ७ सय २२ कित्ता सेयर थियो । उनी पञ्जाब नेसनलपछि सबैभन्दा धेरै स्वामित्व रहेको व्यक्ति हुन् ।
तर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया)ले ज्वाइन्ट भेन्चरका विदेशी बैंकबाहेक कम्पनीसँग कुनै एउटा बैंकमा १५ प्रतिशतभन्दा बढी स्वामित्व हुने नपाउने व्यवस्था गरेको छ । बाफियाको दफा ४१ ले यस्तो व्यवस्था गर्दा दफा ९९ को उपदफा ३(क) ले यदी कसैले राष्ट्र बैंकको निर्देशन अटेर गरेमा सेयर जफत वा रोक्का वा अन्य व्यक्तिलाई बिक्री गर्न सञ्चालक समितिलाई निर्देशन दिन सक्ने प्रबन्ध गरिएको छ ।
राष्ट्र बैंकले १५ प्रतिशत ननाघ्ने गरी सेयर ट्रान्स्फर गर्न दिने उपाय निकाल्यो । बिकेको सेयर क्रमैसँग प्रतिमाको नाममा ट्रान्स्फर हुँदा बैंकमा प्रतिमाको सेयर हिस्सा १५ प्रतिशत ननाघ्ने गरी सर्त राखिएको थियो । यसबीचमा बैंकले वितरण गर्ने लाभांशको हक पनि प्रतिमालाई नै लाग्छ ।
बुबाको सेयर आफ्नो नाममा सार्न प्रतिमाले आफ्नो नामको सेयर विस्तारै बेच्नुपर्ने भयो ।
तर, प्रतिमाको सेयर बिक्री भएको छैन । यस्तोमा राष्ट्र बैंकले सीमामा ल्याएपछि मात्र लाभांश दिन एभरेष्ट बैंकलाई निर्देशन दिएको हो ।







प्रतिक्रिया