
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा ज्ञापनपत्र बुझाउँदै धर्ना गरेका युवामध्ये केही फौजदारी मुद्दा सामना गरिरहेका व्यक्तिहरू रहेको खुलेको छ ।
सोमबार एन्फाको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै धर्ना दिएका युवामध्ये ३० वर्षीय अनिश कार्की बैंकिङ कसुरको मुद्दामा संलग्न रहेको पाइएको हो ।
दोलखाका कार्कीले कागेश्वरी मनोहराका कविराज गिरीबाट घर व्यवहार मिलाउने बहानामा पाँच लाख ३० हजार रुपैयाँ लिएर रकम नभएको चेक दिएका थिए । गिरीले यसलाई नियतवश गरिएको ठगीको घटना बताउँदै प्रहरीमा उजुरी दिएका थिए ।
त्यस्तै, यसअघि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग्दै कार्यालयमै पुगेका अर्जुनबहादुर शाहीमाथि पनि फौजदारी आरोप रहेको खुलिसकेको छ । अछामका २६ वर्षीय शाहीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा १० वटाभन्दा बढी उजुरी दर्ता छन् ।
हाल ‘जेनजी’को नाममा विभिन्न युट्युबरहरूको सहभागितासहित सरकारी कार्यालयहरूमा पुग्ने, कर्मचारीमाथि अभद्र व्यवहार गर्ने र दवाव सिर्जना गर्ने गतिविधि बढ्दो क्रममा रहेको प्रहरी स्रोतले जनाएको छ ।








प्रतिक्रिया