आपराधिक पृष्ठभूमिका अर्जुन शाही ‘जेनजी नेता हुँ’ भन्दै सरकारी कार्यालय प्रमुख थर्काउँदै, आतंक मच्चाउँदै

३६ लाखभन्दा बढी ठगीको आरोप

2.2k
Shares

काठमाडौं । ठगी धन्दामा संलग्न अर्जुनबहादुर शाही जेनजी अगुवाका नाममा सरकारी कार्यालय प्रमुखलाई आतंकित बनाउँदै हिँडिरहेका छन् । सुशीला कार्कीले प्रधानमन्त्रीको सपथ खाएपछि हामी नेपाल नामक एनजीओका अध्यक्ष सुदन गुरूङसँगै देखिएका शाही ठगी कार्यमा लाग्दै आएको खुलेको हो ।

जेनजी भन्दै धम्काउदै हिँडिरहेका शाहीमाथि प्रहरी वृत्त महाराजगन्जमा २०८१ वैशाख २७ मा दर्ता भएको १० लाख ३० हजारको चेक बाउन्स, २०८१ पुस २३ गते प्रहरी वृत्त बौद्धमा दर्ता भएको ७ लाखको चेक बाउन्स, महाराजगन्जमै २०८१ पुस २९ मा २ लाखको अर्को चेक बाउन्स र स्वयम्भू प्रहरीमा २०८२ वैशाखमा १० लाखको चेक बाउन्सको मुद्दा छ ।

उनीमाथि २०८२ वैशाख २८ गते वैदेशिक रोजगार विभागमा जापान पाठाइदिने भन्दै ८ लाख रुपैयाँ ठगी गरेको वैदेशिक ठगीको मुद्दासमेत दर्ता छ ।

महाराजगन्जका श्रीकृष्ण फुयाँलसँग पनि उनले स्टुडियो खोल्ने भन्दै क्यामेरासहितको सामान ३ लाख ८० हजार रुपैयाँको खाली चेक दिएर ठगी गरेका छन् । फुयालले सामाजिक सञ्चालमा भिडियोमार्फत नै शाही र उनको साथीहरुको समूहले आफूमाथि ठगी गरेको दाबी गरेका छन् ।

शाहीले अर्का पार्टनर होमबहादुर खपाङ्गीसँगको साझेदारमा रेड स्टार प्रोडक्सन एन्ड मिडिया हाउसका नाममा ठगी गरेको फुयालले बताएका छन् । सुशीला कार्की प्रधानमन्त्री हुँदा सँगै देखिएका शाहीको फोटो मिडियाबाट सार्वजनिक भएपछि आफ्नो पैसा भुक्तानी नभएको पीडामा फुयालले शाहीविरुद्धका प्रमाण सार्वजनिक गरेका हुन । उनले शाहीले दिएको र नसाटिएको २ वटा चेकसहितको प्रमाण पनि राखेका छन् ।

शाहीले सोमबार नेपाल वायुसेवा निगम पुगेका शाहीसहितको जेनजीका एक समूहले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी भेटेनन् । अधिकारीलाई कार्यालयमा नभेटे पनि घरबाटै थुतेर ल्याउने भन्दै थर्काएका शाहीको समूह सोमबारै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको थियो ।

आयोग प्रमुख राईले पनि उनीहरुलाई भेट गर्न नदिएपछि कर्माचारीका सामु तथानाम गाली गरेर उक्त समूह फर्किएको थियो । यो अराजक समूहका नेतृत्वकर्ता अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाही नै हुन् । उनी माथि ठगी र चेक बाउन्सका ५ वटा मुद्दा प्रहरीकोमा रहेको प्रमाण यतिबेला सामाजिक सञ्जालमा छरपस्ट छन् ।

उनै शाहीसहितको समूह मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरण पुगेर महानिर्देशक प्रदीप अधिकारीलाई थर्काउँदै राजीनामा मागेको भिडियो सामाजिक सञ्जालमा भाइरल छन् । उनले बाना आधारका, आधिकारिकता नभएका उड्डयन प्राधिकरणसँग असम्बन्धित प्रश्न सोधेर जवाफ माग्दै काम गर्न नसकेको भन्दै राजीनामा दिन अधिकारीलाई धम्काएका छन् । अधिकारीसहित प्राधिकरणका कर्मचारी नेतृत्वसँग डेढ घण्टा नोकझोक गरेर बिना निष्कर्ष शाहीसहितको जेनजी समूह निस्किएर हिँडेको थियो ।

उनको समूह यसअघि सोमबारै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको थियो । आयोग प्रमुख प्रेमकुमार राईको राजीनामासहित गालिगलौज गर्नमा अग्रस्थानमा देखिएका शाही आपराधिक पृष्ठभूमिसँँग जोडिएका व्यक्ति भएको पुष्टी भएको छ । प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा उनी चेक बाउन्स तथा ठगीमा संलग्न व्यक्ति भनेर देखिएको छ ।