
मासु प्रयोग गर्दा यस्ता विषयमा ध्यान दिऔं
– हरियो र कालो फिक्का जस्तो देखिने, च्यापच्याप लाग्ने र दुर्गन्ध आउने मासु खरिद गर्नु हुँदैन
– सकेसम्म छाला र भएको मासु प्रयोग गर्नु हुँदैन
– मासुलाई टुक्रा–टुक्रा पारी फ्रिजमा माइनस १८–३० डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण गर्नुपर्छ
– पकाएको मासु फ्रिजमा राख्ने र खाने बेलामा तताउने र फेरी फ्रिजमा राख्ने र फेरी खाने बेलामा तताउने प्रक्रिया घातक हुन सक्छ
– रातो मासु पोलेर, धेरै भुटेर, तारेर वा डढाएर खाँदा विभिन्न प्रकारको रोगलाई निम्त्याउने प्रबल सम्भावना हुन्छ
– माछा मासुसँगै हरियो तरकारी, सागसब्जी र गेडागुडी सन्तुलन गरी खाँदा राम्रो हुन्छ
– गुणस्तरयुक्त खानेतेल र मसला मात्रै प्रयोग गर्नुपर्छ
काठमाडौं । वर्षैभरी मासु सेवन गर्नु र दशैंमा मात्रै खानु वेग्ला वेग्लै विषय हुन् । वर्षैभर मासु खाएर पनि आच्छु नलाग्ने नेपालीलाई दशैंमा मासु नखाई हुन्न । यसो त दशैं भनेकै मासुको पर्व हो पनि भनिन्छ ।
यो पर्वमा मासुले अग्र भूमिका खेलेको हुन्छ, महत्त्व पनि त्यतिकै राख्दछ । अधिकांश परिकार मासुकै हुन्छ । मासुका परिकार आफैं पनि खाइन्छ र साथीभाइलाई पनि जमघट गराई खुवाइने चलन छ । मार हान्नेले आफैं खसी किनेर मार हान्छन् । बली दिनेले पनि आफैं किनेर मठ मन्दिरमा बली दिन्छन् । नहुनेले गच्छे अनुसार बजारबाट मासु किनेर ल्याउँछन् ।
दशैं यतिकै अत्याधिक भिडभाड र बफुर्सदिलो पर्व हो । यो पर्व मनाइरहँदा मासुजन्य पदार्थको गुणस्तरता र स्वच्छतामा निक्कै ध्यान दिनुपर्छ । अत्याधिक परिमाणमा तेलिय पदार्थ प्रयोग गरी मासु मासुकै विभिन्न परिकार उपभोग गर्दा स्वास्थ्यलाई हानि मात्रै होइन, अपत्यारिलो रुपमा गम्भीर दुर्घटनासमेत निम्तियाउन सक्छ । विज्ञहरुका पनि भन्छन्, चाडपर्वको यस्तो माहोलमा थोरै खाउँ तर शुद्ध र गुणस्तरीय मासु नै खाउ ।
यो बेला हृदय खोलेर आफू पनि खाने र साथीभाइलाई पनि खुवाइने चलन छ । चिल्लो, पिरो, मसालेदार, सेकुवाको रुपमा मुख रसाउने गरी खाइने मासुका परिकारको बारेमा सचेत हुन खाद्य वैज्ञानिकहरुको सुझाव छ । दशैंको समयमा झन्डै मासुबाट बनेका दुई दर्जन परिकार तयार पारी खाने चलन छ ।
दशैंमा खसीबोकाको मासुबाट साँधेको कलेजो, साँधेको टाउको, ह्याकुलाको छोइला, भुटेको फोक्सो, सादा कबाब, सिंक कबाब, भरेको फोक्सो, मटन चप्स, मटन बल, रोगन जोस, मुस्लिम कबाफ, सुक्खा मासु, प्याजी मासु, हाँडी कबाब, सेकुवा, मटन बिरयानी, भुटन, तास, लेदो मासु र किमाजस्ता परिकार अत्यधिक खाने गरिन्छ ।
विज्ञका अनुसार यो समयमा मासुको गुणस्तर नहेरी जथाभावी मासु सेवन गरे धेरै प्रकारका रोगबाट पीडित हुने खतरा हुन्छ । दशैंमा सबैभन्दा बढी खसीबोकाको मासु उपभोग हुन्छ । सामान्य समयभन्दा यो समयमा झण्डै १० गुणाको हाराहारीमा मासुको उपभोग हुन्छ । वरिष्ठ खाद्य विज्ञ हस्तवहादुर राईका अनुसार मासु खरिद गर्दा हरियो र कालोजस्तो देखिने, च्यापच्याप लाग्ने र दुर्गन्ध आउने मासु खरिद गर्नु हुँदैन ।
उनका अनुसार बोसो भएको मासु पनि सकेसम्म खरिद गरी उपभोग गर्नु हुन्न । नेपाली बजारमा उत्पादन हुने मासुमध्ये करिब ८० प्रतिशत मासु अस्वस्थ्यकर छन् । मासु उत्पादन हुने मूल स्रोत बधशाला नै अव्यवहारिक भएकाले शुद्ध मासुको अपेक्षा गर्न नसकिने उनको ठहर छ ।
‘मासुको ओसार पसार र भण्डारण वैज्ञानिक छैन,’ राई भन्छन्, ‘तथापी उपभोक्ताले आफैं सचेत भएर सकेसम्म स्वच्छ मासु उपभोग गर्न सक्छन् । सकेसम्म छाला भएको मासु प्रयोग गर्नु हुँदैन ।’
बंगुरको हकमा भने अत्याधिक बोसो भएको मासुले पनि क्षति गर्छ । खरिद गरेको वा घरमै काटिएको मासु धेरै दिनसम्म राख्नलाई मासुलाई पहिलेदेखि नै टुक्रा–टुक्रा बनाएर फ्रिज (रेफ्रिजरेटर) मा माइनस १८ देखि ३० डिग्री सेल्सियससम्मको तापक्रममा राख्दा मासुको गुणस्तर कायमै राख्न सकिन्छ ।
‘काँचो मासु फ्रिजमा राख्नुपर्छ । फ्रिजबाट झिकेर फेरी आवश्कता अनुसार काटेर पकाउनु पर्छ,’ राईले भने, ‘बचेको मासु फेरी फ्रिजमा राख्ने र फेरी निकालेर काटेर पकाउने प्रक्रियाले मासु गुणस्तरहीन बन्ने सम्भावना हुन्छ । यस्तो मासु खानलाई अयोग्य मानिन्छ ।’
यस्तै पकाइसकेको मासु फ्रिजमा राख्ने र खाने बेलामा तताउने फेरी फ्रिजमा राख्ने र फेरी खाने बेलामा तताउने प्रक्रिया पनि मानव स्वास्थ्यको लागि निक्कै घातक हुनसक्ने उनको ठहर छ ।
यस्तो मासु सेवन गर्दा फुड प्वाइजन हुने खतरा हुन सक्छ । मासुमा अम्लियपनाको मात्रा ५.७ पिएचभन्दा कम र ६.३ पिएच भन्दा बढी हुनुहुँदैन । यस्तो भयो भने मासु कालो र फिक्का जस्तो देखिन्छ । यस्ता मासु सेवन गर्नुहुँदैन ।
राईका अनुसार डिप फ्रिजमा राखिएको मासु पनि तापक्रम नमिलेर मासुभित्र पानी जम्ने सम्भावना हुन्छ । यस्तो मासु पनि मानव स्वास्थ्यका लागि खान अयोग्य हुन्छ ।
प्रतिदिन १०० ग्रामसम्म मासु सेवन गर्नुपर्छ । कतिपय मासुमा पहिलेदेखि किटाणु यथावत हुन्छ ।
उक्त किटाणुले मासुमा विष छोडेको अवस्थामा त्यस्ता मासु पनि खान हुँदैन । मासु सकेसम्म ७२ डिग्री सेल्सियस तापक्रममा पकाएर खादा उत्तम मानिन्छ ।
प्रतिग्राम मासुमा एक लाखभन्दा बढीको संख्यामा इकोला, साल्मोनेला, कम्पाइलोब्याक्टर, बरुसोलोसिस लगायतका जीवाणु भेटिए खान अयोग्य मानिएको छ । बढी संख्यामा भेटिने जीवाणुयुक्त मासु सेवन गर्दा झाडापखाला लाग्ने, पेट दुख्ने, क्षयरोग लाग्ने, कलेजो, मिर्गौला र टाउकोमा असर गर्ने, प्रजनन क्षमतामा असर पुर्याउने लगायतका समस्या देखापर्ने राईले जानकारी दिए ।
दशैंको स्वच्छ मासुसँगै ताजा शुद्ध मसला र खानेतेल पनि उत्तिकै महत्त्व राख्छ । मासु शुद्ध हुने तथा मसला र खानेतेल अशुद्ध परेको अवस्थामा फुड प्वाइजन, बान्ता आउने, झाडा पखाला लाग्ने र आउलाग्ने जस्ता समस्या आइपर्छ । सकेसम्म दशैंको लागि मसला आफैं तयार पार्नुपर्छ । खानेतेल पनि निक्कै सोचविचार गरी खरिद गर्नुपर्ने उनको तर्क छ । स्वास्थ्यका लागि मासुमा धेरै मसला र बोसो प्रयोग गर्न नहुने राईले सुझाव दिए ।
खानपिनमा सामान्य ध्यान नदिँदा दशैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने गरेको खाद्य विज्ञहरुको भनाई छ ।
‘धेरै दिन पुग्ने गरी एकै दिन मासु पकाएर खाँदा विभिन्न प्रकारका फुड प्वाइजन हुने खतरा हुन्छ,’ राईले भने ।
उनका अनुसार रातो मासु पोलेर, धेरै भुटेर, तारेर वा डढाएर खाँदा विभिन्न प्रकारको रोगलाई निम्त्याउने प्रबल सम्भावना हुन्छ । मधुमेह र क्यान्सरजन्य रोगबाट प्रभावित भएकाले पोलेको, भुटेको, तारेको वा डढाएको मासु सेवन गर्न नहुने राईको सुझाव छ ।
‘त्यही भएर सकेसम्म ताजा मासु मात्रै खानुपर्छ । खसीबोकाको मासुसँगै कुखुराको मासु, माछा, हरियो तरकारी, सागसब्जी र गेडागुडी सन्तुलन गरी खाँदा पचाउन पनि सजिलो हुन्छ । यसरी सन्तुलित खाना खाँदा शरिरमा बोसो पनि जम्मा नहुने अनि फाइदा पनि गर्छ,’ राईले भने ।
उनका अनुसार एक पटकमा अधिकतम तीन चार टुक्रा खाँदा फाइदा गर्छ मासुले ।
लोकल खसीमै छ स्वाद
दशैंमा मासुको जोहो गर्न खसीबोका खरिद गर्न खोज्दै हुनुहुन्छ भने सकभर खसीबोका सम्बन्धी सम्पूर्ण जानकारी लिएर किनमेल गर्दा उत्तम हुन्छ । आवश्यक जानकारी बिना खरिद गरिने खसीबोकाले दशैं पर्वको रमझमलाई खल्लो बनाउन सक्छ ।
उपत्यकाको विभिन्न बजारमा अहिले भारतबाट आयात हुने र स्वदेशमै उत्पादन हुने खसीबोका बिक्रीका लागि राखिएका छन् । बजारमा अहिले कोही सेता छन् । कोही काला छन् । कोही खैरो छन भने कोही मधुरो रातो रंगका भुत्ला भएका खसीबोका बजारमा यत्रतत्र छन् ।
कुनै हृष्ट पुष्ट छन् । कुनै निक्कै अग्ला छन् भने कुनै होचो जस्ता पनि छन् । झट्ट हेर्दा सबै खसीबोका किनौं किनौं जस्तो लाग्छ । लाग्छ ति सबै खसीबोका स्वस्थ्यकर नै छन् । सबैको मासु एकनाश नै छ । सबैको मूल्य समान नै छ । यो सोचाई राखेर खसीबोका खरिद गर्दै हुनुहुन्छ भने तपाईंको छनोट गलत हुनसक्छ ।
विज्ञहरुका अनुसार दशैंको समयमा बिक्री हुने खसीबोका खरिद गर्दा केही आधारभूत विषयवस्तुमा निक्कै ध्यान दिनुपर्ने हुन्छ । विज्ञहरु भन्छन्, स्वादिलो मासुको उपभोग गर्न सकेसम्म स्वदेशमा उत्पादन भएका ‘लोकल’ जातका खसीबोका नै रोजौं ।
लोकल जातको खसीबोकाको तुलनामा भारतबाट आयात हुने खसीबोका भने व्यवसायिक नाफा प्रयोजनका लागि उत्तम मानिए पनि स्वाद र स्वास्थ्यका लागि लोकल जातको खसीबोका उत्तम मानिन्छ ।
नेपाल व्यवसायिक बाख्रापालक महासंघका अध्यक्ष गोविन्द सुवेदीका अनुसार स्वास्थ्यलाई ध्यानमा राखेर मिठो स्वाद भएको मासु खाने हो भने लोकल जातकै खरीबोका रोज्दा उत्तम हुन्छ । मूल्यमा लोकल जातका खसीबोका भारतीय खसीबोकाभन्दा केही महँगो भएपनि आफ्नै स्वदेशको उत्पादन राम्रो भएको उनले बताए । लोकल र भारतीय खसीबोका टाढाबाट हेर्दा उस्ता उस्तै देखिएपनि नजिकबाट हेर्दा फरक छुट्याउन सकिन्छ ।
दशैंमा बिक्री हुने खसीबोकामा सबैभन्दा पहिले सिंहमा ‘हरियो’ र ‘रातो’ रंग लगाइएको आधारमा छनौट गर्नुपर्छ । हरियो रंग स्वस्थ्यवद्र्धक गर्छ भन्ने जनाउंछ भने रातो रंग अस्वस्थ्य छ भन्ने बुझाउछ ।
पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार लोकल खसीबोका खरिद गर्ने वा भारतीय खसीबोका खरिद गर्ने हो, त्यो विषयमा निर्क्योल गर्नुपर्छ । स्वादिलो मासु र धेरै दिनसम्म मासु राख्नु छ भने लोकल जातकै खसीबोका खरिद गरेको जाति । यसका लागि खसीबोकाको शरिरमा दाग (खसीबोकाको शरिरमा रहेका भुत्ला कैंचीले टाटेपाटे गरी काटिएको छ वा छैन ) छ वा छैन भन्ने हेर्नुपर्छ । लोकल जातको खसीबोकाको शरिरमा दाग हुँदैन ।
अर्थात् कैंचीले शरिरको भुत्ला टाटेपाटे गरी काटिएको हुँदैन । भारतीय खसीबोकामा भने यस्तो गरी काटिएको हुन्छ । त्यस्तै लोकल खसीबोकाको शरिरमा भुत्ला निक्कै बढी हुन्छ ।
‘लोकल जातको खसीबोकामा भारतीय खसीबोकाको तुलनामा मासु केही कम हुन्छ । बोसो पनि निक्कै कम हुन्छ । तर स्वस्थ्यकर र स्वादिलो मासु लोकलमै हुन्छ,’ डा. उपाध्यायले भने । उनका अनुसार लोकल खसीबोकाको मासु केही लामो दिनसम्म पनि जर्गेना गरी खान मिल्छ । मासु बग्रँदैन । तर भारतीय मासु धेरै दिनसम्म राखेर खान मिल्दैन ।
दशैंमा आठ दोब्बरले मासुको खपत बढ्ने
पशु सेवा विभागका अनुसार दशैंको समयमा उपत्यकामा ५० देखि ६० हजारको संख्यामा खसीबोकाको व्यापार हुँदै आएको छ । यस्तै ३ हजारको संख्यामा च्याङग्रा र ५ सयको संख्यामा राँगा खपत हुन्छ ।
सामान्य समयमा राजधानीमा मात्रै दैनिक १ हजार २ सयको संख्यामा खसीबोका खपत हुँदै आएको छ ।
विभागका अनुसार दशैंको ७ दिनको अवधीमा मासुको अत्यधिक खपत हुन्छ । दशैंको समयमा अन्य समयभन्दा मासुको खपत झण्डै आठ गुणाले बढ्छ । सप्तमीदेखि प्रतिव्यक्ति मासुको उपभोग दर दैनिक २८ ग्रामबाट बढेर सरदर दुई सय १२ ग्रामसम्म पुग्छ ।







प्रतिक्रिया