दशैँमा कस्तो मासु खाने ? मासुको मीठो स्वादसँगै स्वाथ्यकोपनि राख्नुस् ख्याल



काठमाडौं । दशैँ भन्ने बित्तिकै अधिकांश मानिसहरुको लागि थरिथरीका मिठा परिकार बनाएर स्वादिस्ट खानाको स्वाद लिन पाउने अवसरको रुपमा बुझ्ने गरिन्छ । खाने कुराहरुको परिकार मध्ये अझ बढी मासुको प्रयोग हरेक नेपालीको भान्छामा हुने गर्छ ।
तर, दशैँ तिहार जस्ता चाडपर्वमा खुशी साट्न खाने र खुवाइने मासुका परिकारहरु सही तरिकाले खान जानिएन भने त्यो एकछिनको खुशी शरिरको लागि दुःखको समाचार बन्नपनि सक्छ ।

त्यसैले चाडवाडमा मासु र मासुजन्य वस्तुहरु खाँदा यसमा धेरै ध्यान पुर्याउनु पर्ने नेपालकी पहिलो महिला डि.एम कार्डियोलोजिस्ट मुटु रोग विशेषज्ञ डा. भवानी मानन्धर बताउँछिन् ।

मासु तथा मासुजन्य खाना दशैँमा बढी उपभोग हुने गर्छ तर, कस्तो रोगीले कस्तो मासु खाने र कस्तो मासु खानु हुन्न भन्नेबारे सबैलाई जानकारी नहुन पनि सक्छ ।

क्लिकमाण्डुसँग कुरा गर्दै डा. भवानीले विशेष गरी माछामा पाइने ओमेगा ३ फ्याटी एसिड हाम्रो मुटुको लागि राम्रो हुने बताइन् । तर, माछा धेरै फ्राई गरेर खानु फाइदा जनक नहुने बताउँछिन् । उनले मुटुरोगीहरुले अन्य मासु भन्दा माछा खानु फाइदाजनक हुने बताइन् ।
यस्तै कुखुराको मासुमा अन्य मासुमा भन्दा कम स्याटुरेटेड फ्याट हुन्छ । त्यसैले रातो मासु भन्दा कुखुराको मासुले मुटु रोग निम्त्याउन नदिने हुँदा कुखुराको मासु खानु फाइदा जनक हुने डा. भवानी बताउँछिन् ।

रातो मासु भन्नाले खसी, राँगा, बंगुर आदिका मासु हुन् । यी मासुहरुमा बढी मात्रामा बोसो हुने गर्छ ।

रातो मासुले कसरी बिमारी निम्त्याउँछ ?

रातो मासु बढी खानाले उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्ने, मधुमेह हुने, मुटुको धमनीहरु साधुरो हुने, ह्ृदयघात, पक्षघात लगायतका समस्या निम्तिन सक्ने डा. भवानी बताउँछिन् ।

रातो मासु खाँदा हाम्रो पेटमा भएका जीवाणुहरुले रातो मासुबाट कारनिटिन भन्ने तत्वको उत्पादन गर्दछ । कारनिटिनले मुटु तथा अन्य धमनीहरुलाई साह्रो र साघुरो बनाउछ ।

मासु कसरी खाने ?

कुनैपनि मासु खाँदा त्यसको छाला मुनि बोसो हुने भएकाले जहिलेपनि माछा मासु खाँदा त्यसको छाला निकालेर पकाएर खानु उचित हुने डा. भवानी बताउँछिन् ।

मासु पकाउँदा धेरै तेल तथा नुन प्रयोग नगरी पकाउन उनको सुझाव छ । सकेसम्म रातो मासुको सेवन नगर्नु नै स्वास्थ्यका लागि फाइदा जनक हुने उनी बताउँछिन् ।

यस्तै मासु पोलेर खाँदा यसले क्यान्सरको जोखिम बढाउने हुँदा कुनैपनि मासु पोलेर नखान डा. भवानी सल्लाह दिन्छिन् । ताजा मासु भन्दा केमिकल भएको मासुले अझ मुटुको रोग बढाउने उनको भनाई छ ।


क्लिकमान्डु