एक्सप्लेनर

जेनजी आन्दोलनमा मिराजदेखि सुधन-बालेन, ‘हामी नेपाल’लाई कसको फन्डिङ ?

455
Shares

काठमाडौं । नेपालमा विध्वंस मच्चाएको जेनजी आन्दोलन, सुरुवात गर्ने मिराज देखि अन्त्य गर्ने सुधनसम्म ।।

प्रधानमन्त्री सुशीला कार्की देखि डिफ्याक्टो शासक हामी नेपाल नामक एनजीओसम्म ।

हामी नेपालको डोनर को हुन् ? कसले गरेको छ फन्डिङ ? क्लिकमान्डुको यो एक्स्प्लेनरमा हामी जेनजी आन्दोलन कसरी हाइज्याक भयो भन्ने देखि हामी नेपालमा कसको प्रभाव छ ? भन्नेसम्मका कुरा गर्दैछौं ।

२०८२ भदौ २३ देशको राजधानी काठमाडौंमा ठूलो तर शान्तिपूर्ण प्रदर्शन गर्ने सोचमा जेनजी अर्थात् जेनेरेसन जी (जी पुस्ता) थियो । सत्ताको दोहन गरेर ऐस गर्नेहरु र उनीहरुका छोराछोरीले बिताएको बिलासी जीवनशैलीको सामाजिक सञ्जालमा बिरोध व्यापक भइरहेको अवस्थामा मिराज ढुंगाना नाम गरेका एक युवा एकाएक उदाउँछन् ।

टेलिभिजन अन्तर्वार्ता दिन्छन्, पोडकास्टहरुमा उपस्थित हुन्छन् । सामाजिक सञ्जाल बन्द भएको समयमा पनि युवाहरुमाझ परिचित हुन्छन् ।

उनले जम्माजम्मी दुई वटा माग अघिसारेका थिए । पहिलो, स्थायी र जवाफदेही ४ वर्षको नो कोलिएसन गभर्मेन्ट अर्थात् गठबन्धनबिनाको सरकार । दोस्रो, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ।

जेनजीको प्रदर्शन मिराजको नेतृत्वमा अघि बढिरहेको थियो । सत्ताको दोहन गर्नेहरुबाट आक्रान्त युवा समुदाय (जेन जी)लाई मिराजले अघिसारेको माग साह्रै मन परेको थियो ।

किनकी, भ्रष्टाचारको अन्त्य भइ सुन्दर नेपाल देख्न चाहने नयाँ पुस्तालाई मिराजले उठाएका माग सम्बोधन भए आफ्नो आकांक्षा पूरा हुन्छ भन्ने लागेको थियो ।

इन्डोनेसिया, फिलिपिन्समा नेपो बेबी वा नेपो किड अभियानले सफलता पाएपछि नेपाली युवाहरुले असंगठित रुपमा सामाजिक सञ्जालमा नेता र उच्च ओहोदामा पुग्नेहरुको छोराछोरीलाई एक्स्पोज गरिरहेका थिए । सो अभियानको कुनै नेता थिएन, कसैबाट प्रबर्द्धित थिएन ।

२२–२४ वर्षको, गोरो, भलादमी र हेर्दै हाइटी खाइलाग्दो युवकले आफ्नो भावनाको कदर गर्दै उपायसहितको माग प्रस्तुत गर्दा सामाजिक सञ्जालमा छरपष्ट आवाजहरुले नेतृत्व पाएको महसुस गरेको थियो । सामाजिक सञ्जाल बन्द भएपछि पनि वैकल्पिक एप (डिस्कर्ड)मार्फत् असन्तुष्ट युवालाई एउटै मञ्चमा उभ्याएका थिए मिराजले ।

भदौ २३ गतेको अघिल्लो दिन मिराजसहित ३ युवाले भोलिपल्टको प्रदर्शनमा सरिक नहुन विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई आग्रह गरेका थिए । प्रशासनसँग प्रदर्शनीको अनुमति पनि मिराजले नै लिएका लिएका थिए ।

पूर्वनिर्धारित योजनाअनुसार भदौ २३ गते बिहान युवा भेला भए । सब ठीकठाकसँग चलिरहेको थियो । शान्तिपूर्ण आन्दोलन एकाएक भड्कियो । जेन जीको आन्दोलनमा घुसपैठ (हाइज्याक) भयो । लाउँलाउँ खाउँखाउँ उमेरका निहत्था युवायुवतीले ज्यान गुमाए । त्यो दिन अरु के के भयो भन्ने भन्नै परेन ।

शान्तिपूर्ण प्रदर्शन हाइज्याक मात्र भएन । जेनजीले जसलाई नेता मानिरहेको थियो, ऊ पनि एकाएक गायब भयो । त्यसपछि मिराज ढुंगाना कहीँ कतै देखिएनन् । उनले केही भिडियो सार्वजनिक गर्दै ज्यान मार्ने धम्की आएको जानकारी गराएका छन् । ‘सहिद बन्नु छ र ?’ भन्दै उनले भनेका छन् ।

२३ गतेको आन्दोलमा हामी नेपालका टिम भने बेलुकैसम्म स्वयम् सेवकको भुमिकामा सडकमा देखि रहेका थिए ।

२३ गतेको कुरालाई यो कुरालाई यतै छाडौं ।

यता, शान्तिपूर्ण भनिएको आन्दोलन विध्वंशकारी भएसँगै १९ जनाको ज्यान गएको भोलिपल्ट देशैभरका सार्वजनिक भौतिक सम्पत्तिमाथि आक्रमण भयो । नेताहरुसहित व्यक्तिका निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी भए । नेताहरुमाथि आक्रमण भयो । सिंहदरबार, संसद भवन, शीतल निवास, सर्वोच्च अदालत आदि आगजनी भए । केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध अघिल्लो रात नै फकुवा भइसकेको थियो ।

स्थिति असामान्य बनेपछि सोही दिन अबेर १० बजे नेपाली सेना सडकमा निस्कियो । राष्ट्रपतिसहित शीर्ष नेताहरु सेनाको सुरक्षामा थिए । भोलिपल्ट आन्दोलनरत पक्षलाई वार्तामा बोलाउने प्रयास भयो । त्यसबेला जेनजीका नाममा अनेकौं समूह अघि सरे । धेरै समूह भएपछि सेनाले ‘नेता छानेर आउनु’ भन्यो ।

को सक्कली को नक्कली जेनजी भनेर छुट्याउन हम्मेहम्मे परिरहेका बेला भीडमा हानाहान कुटाकुट नै भयो । यतिबेलासम्म दुई दिनदेखि हराइरहेका मिराजको खोजी हुन थालिसकेको थियो ।

यता डिस्कर्डमा पनि प्रधानमन्त्री कसलाई बनाउने भन्ने छलफल चलिरहेकै थियो । प्रधानमन्त्रीमा सुशीला कार्कीलाई अघि सार्ने विषयमा बहुमत जुट्यो ।

त्यसपछि प्रतिनिधिसभा विघटन हुनुपर्ने, संविधानले नै परिकल्पना नगरेको कुरा गैर सांसद सुशीला कार्कीलाई कुनै पनि हालतमा प्रधानमन्त्री बनाउनुपर्ने जस्ता मागमा एउटा समूह अडिग देखियो । जुन समुह हो हामी नेपाल ।

यतिबेलासम्म मिराजलाई नै जनजीको नेता मानिरहेकाहरुको सामुन्ने अर्को नेता देखिए । उमेर हेर्दा मिराजभन्दा दोब्बर जस्तै देखिने, टाउको मुण्डन गरेका, कालो चस्मा लगाएका, हातभरी ट्याट्टु खोपेका, बोल्दाखेरी शिष्ट भाव प्रकट गर्न नजान्ने, प्रधानसेनापति, राष्ट्रपति लगायतको छलफलमा टेलिफोनमार्फत् धम्कीपूर्ण र अल्टिमेटमसहितको आदेश दिने एक मंगोलियन अनुहार अघि सर्यो । उनले ‘हामी नेपाल’ लेखेको, रातो र सेतो रंग मिसिएको एउटा ज्याकेट लगाएका थिए । उनको नाम सुधन गुरुङ रहेछ, हामी नेपाल नामक गैरसरकारी संस्था (एनजीओ)को अध्यक्ष रहेछन् उनी ।

फसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल बन्द भएपछि डिस्कर्डमा भर्चुअल भीड जुटाउने कामको नेतृत्व हामी नेपालले नै गरेको रहेछ । सोमबार १९ जनाको ज्यान गएपछि डिस्कर्डमार्फत् मंगलबार पनि माइतीघरमा युवा बोलाउने हामी नेपाल नै रहेछ। उक्त आन्दोलनका कारण हालसम्म ७४ जना बढीले ज्यान गुमाएका छन् ।

सेनाले ‘नेता छानेर आउनु’ भनेको भोलि पल्ट जेनजीको लिडरको रुपमा सुधन गुरुङ उपस्थित भएका थिए ।

उता त्यसबेला देखि नै सामाजिक सञ्जालमा कयौंले ‘काम गर्ने कालु भनेर (मिराज)लाई र मकै खाने भालु (सुधन) भन्दै सुधनलाई लक्षित टिप्पणी सुरु भइसकेको थियो ।

डिस्कर्डमार्फत् छानिएको भनिएकी पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीलाई हामी नेपालले नै माइतीघरमा उतारेको थियो । सुशीला युवाहरुसँग सामेल भएपछि उनको लोकप्रियता बढ्यो ।

खासमा डिस्कर्डमा एउटा नाटक मञ्चन भएको थियो । डिस्कर्डमा प्रधानमन्त्री कस्लाई बनाउने भन्ने छलफल चलिरहदा डिस्कर्ड हाँक्नेहरुले एउटा मेसेज सर्बत्र फिँजाएका थिए । ‘काठमाडौं महानगरका मेयर बालेन शाहलाई प्रधानमन्त्रीको अफर गर्दा उनले फोन उठाएनन्, सुशीलाले सबैले स्वीकार्ने हो भने ओके भनिन्, सागर ढकाल धनगढीमा छन्, हर्क प्रधानमन्त्री बन्न तम्तयार छन् ।’

त्यसपछि डिस्कर्डमा यि नाममा भोटिङ भयो । जहाँ सुशीला कार्कीलाई बहुमत थियो । सामाजिक सञ्जालले निर्वाचित गरेको संसारकै पहिलो प्रधानमन्त्री बन्ने संघारमा थिइन्, कार्की ।

यता अर्को युवा जमात थियो जो काठमाडौं महानगरपालिकाका ड्यासिङ मेयर बालेनलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहन्थ्यो । उनीहरुको भावनालाई बालेन प्रधानमन्त्री बन्न चाहेनन् भन्ने सन्देश पठाएर मारियो ।

सेनासँग ‘हामी पनि जेन जी हौं’ युवाहरु एकअर्कासँग हानहानमा उत्रिनुको फाइदा हामी नेपाल र सुधनले उठाइरहेका थिए ।

डिस्कर्डमा मतदान सुरु हुनु र बालेनले फोन उठाएनन् भन्ने सन्देश फैलाउनु अघि नै सुधन र हामी नेपालले ‘बालेनलाई ६ महिनाको प्रधानमन्त्री बनाउने कि ५ वर्षका लागि बनाउने ?’ भन्ने प्रश्न सामाजिक सञ्जालमा फिँजाइसकेका थिए ।

बालेनलाई यसरी योजनाअनुसार ब्याक गराएर सुशीलालाई अघि सारिएको विषय पुष्टि त्यतिखेर भयो,जतिबेला सेनासँगको वार्तामा जेन जी (हामी नेपाल) को तर्फबाट अर्याल सहभागी भएको छताछुल्ल भयो ।

बिहीबार राति फेसबुकमा व्यापक सेयर भएको एउटा भिडियोमा पनि उल्लेखित हुलियाका सुधन गुरुङले काठमाडौं महानगरपालिकाका मेयरका सल्लाहकार ओमप्रसाद अर्यालसँग फोनमा कुरा गरिरहेको देखिए । नेपाली सेना तथा राष्ट्रपतिलाई अर्यालमार्फत् धम्क्याइरहेका थिए ।

उता बालेनले पनि प्रतिनिधिसभा विघटन भएपछि मात्र सहमति गर्नु राम्रो भनेर सामाजिक सञ्जाललाई उत्तेजित बनाएका थिए । जे हुँदै थियो, बालेनले भनेअनुसार हुँदै थियो, हामी नेपालले प्लान बनाएअनुसार हुँदै थियो ।

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने, प्रधानमन्त्री बनेलगत्तै कार्कीले प्रतिनिधिसभा विघटनका लागि सिफारिस गर्ने र राष्ट्रपतिले पनि प्रधानमन्त्रीको सिफारिसअनुसार तल्लो सदन विघटन गरी निर्वाचनको मिति तोक्ने भन्नेमा सहमति भएपछि जेन जी आन्दोलनको ल्यान्डिङ भयो ।

सहमतिअनुसार शुक्रबार प्रधानमन्त्रीको रुपमा कार्कीले सपथ लिइन् । प्रतिनिधिसभा विघटन गरियो । सुधनले नेपालको झण्डाले आँशु पुस्दै गरेको तस्बिर सार्वजनिक भयो, सुशीलाको खुट्टा ढोगेको तस्बिर बाहिरियो।

देशले पहिलो महिला प्रधानमन्त्री पाएको र ३६ वर्षीय जेन जीले नेपालको झण्डाले आँशु पुसेको तस्बिरबाट लाखौं नेपाली भावविह्वल भए । सामाजिक सञ्जालमा खुसी साटे ।

त्यतिबेलासम्म सुधनले उनका स्वयमंसेवकलाई रुखो बचनले ‘म नेता हुँ चुप लाग्’ भन्दै थर्काएको, रिपोर्टर्स क्लबमा कनीकुथी आफ्ना एजेन्डा भनेको, छिनमै ठूलो स्वर छिनमै मलिन प्रस्तुती दिएको भिडियो क्लिप सामाजिक सञ्जालमा छ्यापछ्याप्ति भइसकेको थियो ।

यतिबेला धेरैले मिराजको शालिनता, धैर्यता, विषयवस्तुलाई बुझाउने क्षमता मिस गरे । सामाजिक सञ्जालमा नेपो बेबी र नेपो किड्स अभियानअनुसार नेताका छोराछोरीको बिलासी जीवनशैली देखाउने तस्बिर र भिडियो सेयर गर्ने युवाहरुले हाम्रो कर कहाँ खर्च गर्यौ भनेर प्रश्न सोध्दै गर्दा मिराज ढुंगानाले कमान्ड सम्हालेका थिए । त्यसकारण पनि मिराजलाई धेरैले सम्झिए । तर २३ गतेदेखि गुमनाम भएका मिराजलाई सम्झिदै उनको च्याप्टर यहीँ क्लोज भयो ।

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउँदा बालेनका सल्लाहकार अर्याललाई दिएको धम्की होस् वा शुक्रबार राष्ट्रपति निवासमा प्रधानमन्त्रीको सपथ लिइरहँदा हामी नेपाल र सुधनले जमाएको हक, दुवै हेर्दा ‘हामी नेपाल र सुधन’बाट भएको प्रयासमा कार्की प्रधानमन्त्री बनेकी हुन् भन्ने छनक देखिन्छ ।

यतिसम्म कि सुधनले राष्ट्रपतिको कार्यालयका सचिवलाई समेत थर्काएको घटना र शीतल निवासमा सपथ खाइओरी हामी नेपाल टिम र सुशीलाको सामूहिक तस्बिर र शनिबार राति प्रधानमन्त्री निवास बाहीरबाट सुधनले प्रधानमन्त्रीलाई दिएको चेतावनीबाट हेर्दा पनि सुशीला प्रधानमन्त्रीको कुर्सीमा बसेकी मात्र हुन् कि भन्ने आभाष मिल्छ ।

कानुनी वा संवैधानिक अधिकारबिनै कसैले शक्ति उपभोग गर्न वा निर्णयमा प्रभाव पार्न सक्छ त्यो व्यक्तिलाई ल्याटिन भाषामा ‘डि फ्याक्टो’ शासक भनिन्छ । ठीक विपरित कानुनी वा संवैधानिक अधिकार त छ, तर कसैको इशारा वा निर्देशनअनुसार निर्णय गर्छ भने पदमा रहेको व्यक्तिलाई ‘डि जुरी’ शासक भनिन्छ ।

अब सुशीला कार्की को हुन् त डि जुरी शाशक वा डि फ्याक्टो शासक ? त्यो उनलाई मात्रै थाहा होला ।

एता हामी कुरा गरौं हामि नेपाल नामक संस्थाको ।

वि.सं. २०७२ को भूकम्पपछि राहत वितरण र समाजसेवामा लागेको हामी नेपाल सन् २०२० मा आएर नेपालको सरकारी संयन्त्रमा दर्ता भयो । त्यसअघिसम्म डोनेसन उठाएर वा फन्ड जुटाएर विभिन्न अभियान गर्ने हामी नेपालले ५ वर्षमा ३० करोड रुपैयाँ डोनेशन लिएको आफ्नै वेवसाइटमा राखेको छ .

हामीले यसअघि नै भनि सकेका छौं । हामी नेपालका संचालक सुधन गुरुङ हुन् । सुधनलाई नजिकबाट चिन्नेहरुका अनुसार उनी २०७२ अगाडिसम्म रेस्टुरेन्ट चलाउँथे, आफैं डीजे थिए । ७२ सालको भूकम्पमा उनको छोराको निधन भएपछि उनी भूकम्प प्रभावितलाई राहत तथा उद्दार कार्यमा खटिए ।

हामी नेपालले भूकम्प तथा कोरोनामा राहत वितरण कार्य गरेको थियो भने धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधारसम्मका लागि दबाब दिएको थियो । संस्थाले जाजरकोट भूकम्प, कागबेनी बाढी, कागबेनी आगलागीदेखि टर्कीको भूकम्पसम्म उद्दार तथा राहतको काम गरेको छ ।

तर समाजसेवाका लागि हामी नेपालले खर्च कसरी जुटाउथ्यो ? त्यस बारेमा बुझौं ।

हामी नेपालले वेबसाइट र विभिन्न कार्यक्रमका क्रममा सार्वजनिक गरेको विवरणमा संस्थालाई कसले डोनेसन दिन्छ भन्ने खुलाएको छ ।

हामी नेपाललाई डोनेसन दिनेहरुको सूचीमा अमेरिकी भावनाअनुसार काम गर्ने बारबरा फाउन्डेसन, स्वतन्त्र तिब्बतको अभियानमा सक्रिय भारतीय संस्था, नेपालकै व्यावसायिक घरानासम्म छन् । हामी नेपालमा पनि डोनेसन गर्नेहरुलाई पछ्याउँदै जाँदा अमेरिकासँग प्रत्यक्ष सम्बन्ध भएका, स्वतन्त्र तिब्बत माग गर्ने र नेपालका व्यावसायिक घरानासम्म पुग्छ ।

उदाहरणका लागि आँखा सर्जन सन्दुक रुइतलाई पछ्याउने हो भने उनी रामोन मागसेसे अवार्ड विजेता हुन् । रुइत र बारबाराले हामी नेपाललाई कार्यालय उपलब्ध गराएको सुधनले सार्वजनिक रुपमै भनेका छन् । एसियाको नोबेल पुरस्कार भनेर चिनिने रामोन मागासेसे अवार्ड निकै विवादित छ । रकफेलर ब्रदर्स फन्डले दिने यो अवार्ड यस्ता व्यक्तिलाई दिइन्छ, जसले अमेरिकी स्वार्थ प्रवर्धन गर्छन् । रकफेलरका कार्यक्रमा एसियालक्षित कार्यक्रमले साम्यवाद (कम्युनिज्म)लाई परास्त गरी अमेरिकावादी बौद्धिक वर्ग विकास गर्ने उद्देश्य राख्छन् । मागसेसे अवार्ड बौद्धिक वर्गमार्फत् सीआईएको अवधारणा एसियामा प्रवर्धन गर्न दिइने अवार्डका रुपमा बदनाम छ ।

सन्दुक रुइतको बारबारा फाउन्डेसनले पनि हामी नेपाललाई कार्यालय उपलब्ध गराएको सुधनले सार्वजनिक रुपमै भनेका छन् । तर सन्दुक रोइतले माहामारीका बेला परोपकारी भावनाले हामी नेपाल नामक संस्थालाई सहयोग गरिएको र त्यस पश्चात आफुहरुको सहकार्य नहरेको प्रष्ट पारेका छन् । रूइतको ‘बारबरा फाउन्डेसन’ ले विज्ञप्तिमा फाउन्डेसनले ‘हामी नेपाल’ नामक संस्थासँग कोभिड महामारीको समयमा मात्र सहकार्य गरेको दाबी गर्दै त्यस संस्थासँग कुनै आर्थिक सम्बन्ध नभएको जनाएको छ ।

हामी नेपालको वेबसाइटमा डोनेसन दिनेहरूको सूचीमा स्टुडेन्ड फर अ फ्रि तिब्बत नामको भारतीय संस्था पनि छ । जसले दलाई लामासँग मिलेर तिब्बत स्वतन्त्रताका लागि काम गर्छ । नेपालमा हुने चीन विरोधी प्रदर्शनमा पनि स्टुडेन्ट फर फ्रि तिब्बत जोडिएको छ ।

यसैगरी थ्रांगु रिम्पोचे गुम्बा (नमोबुद्ध)ले पनि हामी नेपालमा डोनेसन दिएको छ । थ्रांगु रिम्पोचे गुम्बाको मुख्य सहयोगी संस्था अमेरिकामा रहेको हिमालयन चिल्ड्रेन्स फन्ड हो जुनस्वतन्त्र तिब्बत अभियानमा जोडिएको संस्थाको रुपमा परिचित छ ।

हामी नेपाललाई पैसा दिनेहरुमा अन्य व्यावसायिक घरानाहरु पनि छन् जुन शंकर ग्रुप, इन्फिनिटी होल्डिङ्स, गोल्स्टार, भिजन क्राफ्ट, पञ्चकन्या ग्रुप, जम्प केटीएम, एभरेस्ट आउटफिट, चाँदबाघ स्कुल, याक एन्ड यति होटल, दराज, डल्ले मम, मल्बेरी होटल, भाइबर, एसटीसी, कोकाकोला, च्याम्बर आयरल्यान्ड, टाइम फार्मास्युटिकल्स, हाइलाइफ, आलय, क्याम्पियन कलेज, एमडीएच फार्मास्युटिकल्स, हाइलाइफ क्लोथिङ, आरबीके प्रोडक्सन, प्रोजेक्ट सारंगी, गोर्खा वेल्फेयर फन्ड र होटल एम्बास्डरलगायत छन् ।
तर शंकर ग्रुप र इन्फिनिटी होल्डिङले जेनजी आन्दोलनकारी समूहका अगुवा सुधन गुरुङ र उनको संस्थासँग जोडेर आएका समाचारहरुप्रति असहमति जनाउँदै सो संस्था र उनीहरुको राजनीतिसँग कुनै सम्बन्ध नरहेको बताएको छ । दुवै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै गुरुङले नेतृत्व गर्ने ‘हामी नेपाल’ संस्था र उसको राजनीतिसँग आफ्नो कुनै संलग्नता र सरोकार नरहेको जनाएका हुन् ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीका बेला व्यावसायिक धर्मबाट माथि उठेर मानव सेवामा पुण्यकर्म गर्नुपर्दछ भन्ने उद्देश्यले सुदन गुरुङ संलग्न संस्था ‘हामी नेपाल’ नामक संस्थासँग हातेमालो गरेको तर त्यसपछि कुनै सम्बन्ध र सहकार्य नरहेको उनीहरुले प्रष्ट पारेका छन् ।

त्यसबेला उक्त सहयोग पारदर्शी रूपमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गरिएको र त्यतिबेलै सार्वजनिक प्रेस विज्ञप्ति मार्फत् जानकारी गराइएको बताइएको छ ।

कोभीड पछि उनिहरुको कुनै सहकार्य नभएको प्रष्ट पारेका छन् ।

तर भदौ २४ को जेनजी आन्दोलमा । ‘हामी नेपाल’ले जिम्मा लिएको जेनजी आन्दोलनमा उनै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सको लगानी रहेको राजधानीको हिल्टन होटल लुटपाट, तोडफोड र आगजनी गरि ध्वस्त बनाइएको छ । जो कोभिडको बेलामा हामी नेपालसँग सहकार्य गरेर छुटिएका थिए । तर २४ गते ती संस्थाको व्यवसाय ध्वस्त भयो ।

जेन जी प्रदर्शनीमा सुधन गुरूङले आफू पानी बाँड्न तथा प्रदर्शन गर्नेलाई आइपरेको अवस्थामा प्राथमिक उपचार गर्न आएका बताएका थिए ।

आज जसले प्रदर्शनको नेतृत्व गर्यो, ऊ सत्ताको राडरबाट टाढा छ, जो समाजसेवा गर्ने भनेर मैदानमा आयो ऊ डिफ्याक्टो शासक बनेको छ । मिराज नहुँदा सुधनसँगै बालेन समूहले पनि जेन जी प्रदर्शनको फाइदा लिएका छन् । तर, नेपाली सचेत नागरिकले हामी नेपालमा को कसलको फन्डिङ छ र ऊ सत्ताको डिफ्याक्टो शासक हुँदा के कस्तो र कसको हितमा निर्णय गराउँछ भन्ने पक्कै पनि केलाउने छन् ।