
काठमाडौं । २०८२ भदौ २३ देशको राजधानी काठमाडौंमा ठूलो तर शान्तिपूर्ण प्रदर्शन गर्ने सोचमा जेनजी अर्थात् जेनेरेसन जी (जी पुस्ता) थियो । सत्ताको दोहन गरेर ऐस गर्नेहरु र उनीहरुका छोराछोरीले बिताएको बिलासी जीवनशैलीको सामाजिक सञ्जालमा बिरोध व्यापक भइरहेको अवस्थामा मिराज ढुंगाना नाम गरेका एक युवा एकाएक उदाउँछन् । टेलिभिजन अन्तर्वार्ता दिन्छन्, पोडकास्टहरुमा उपस्थित हुन्छन् । सामाजिक सञ्जाल बन्द भएको समयमा पनि युवाहरुमाझ परिचित हुन्छन् । उनले जम्माजम्मी दुई वटा माग अघिसारेका थिए । पहिलो, स्थायी र जवाफदेही ४ वर्षको नो कोलिएसन गभर्मेन्ट अर्थात् गठबन्धनबिनाको सरकार । दोस्रो, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ।

जेनजीको प्रदर्शन मिराजको नेतृत्वमा अघि बढिरहेको थियो । सत्ताको दोहन गर्नेहरुबाट आक्रान्त युवा समुदाय (जेन जी)लाई मिराजले अघिसारेको माग साह्रै मन परेको थियो ।
किनकी, भ्रष्टाचारको अन्त्य भइ सुन्दर नेपाल देख्न चाहने नयाँ पुस्तालाई मिराजले उठाएका माग सम्बोधन भए आफ्नो आकांक्षा पूरा हुन्छ भन्ने लागेको थियो ।
इन्डोनेसिया, फिलिपिन्समा नेपो बेबी वा नेपो किड अभियानले सफलता पाएपछि नेपाली युवाहरुले असंगठित रुपमा सामाजिक सञ्जालमा नेता र उच्च ओहोदामा पुग्नेहरुको छोराछोरीलाई एक्स्पोज गरिरहेका थिए । सो अभियानको कुनै नेता थिएन, कसैबाट प्रबद्र्धित थिएन ।
२२-२४ वर्षको, गोरो, भलादमी र हेर्दै हाइटी खाइलाग्दो युवकले आफ्नो भावनाको कदर गर्दै उपायसहितको माग प्रस्तुत गर्दा सामाजिक सञ्जालमा छरपष्ट आवाजहरुले नेतृत्व पाएको महसुस गरेको थियो । सामाजिक सञ्जाल बन्द भएपछि पनि वैकल्पिक एप (डिस्कर्ड)मार्फत् असन्तुष्ट युवालाई एउटै मञ्चमा उभ्याएका थिए मिराजले ।
भदौ २३ गतेको अघिल्लो दिन मिराजसहित ३ युवाले भोलिपल्टको प्रदर्शनमा सरिक नहुन विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई आग्रह गरेका थिए । प्रशासनसँग प्रदर्शनीको अनुमति पनि मिराजले नै लिएका लिएका थिए ।

पूर्वनिर्धारित योजनाअनुसार भदौ २३ गते बिहान युवा भेला भए । सब ठीकठाकसँग चलिरहेको थियो । शान्तिपूर्ण आन्दोलन एकाएक भड्कियो । जेन जीको आन्दोलनमा घुसपैठ (हाइज्याक) भयो । लाउँलाउँ खाउँखाउँ उमेरका निहत्था युवायुवतीले ज्यान गुमाए । त्यो दिन अरु के के भयो भन्ने भन्नै परेन ।
शान्तिपूर्ण प्रदर्शन हाइज्याक मात्र भएन । जेनजीले जसलाई नेता मानिरहेको थियो, ऊ पनि एकाएक गायब भयो । त्यसपछि मिराज ढुंगाना कहीँ कतै देखिएनन् । उनले केही भिडियो सार्वजनिक गर्दै ज्यान मार्ने धम्की आएको जानकारी गराएका छन् । उनले भनेका छन्, ‘सहिद बन्नु छ र ?’
यो कुरालाई यतै छाडौं ।
यता, शान्तिपूर्ण भनिएको आन्दोलन विध्वंशकारी भएसँगै १९ जनाको ज्यान गएको भोलिपल्ट देशैभरका सार्वजनिक भौतिक सम्पत्तिमाथि आक्रमण भयो । नेताहरुसहित व्यक्तिका निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी भए । नेताहरुमाथि आक्रमण भयो । सिंहदरबार, संसद भवन, शीतल निवास, सर्वोच्च अदालत आदि आगजनी भए । केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध अघिल्लो रात नै फकुवा भइसकेको थियो ।
स्थिति असामान्य बनेपछि सोही दिन अबेर १० बजे नेपाली सेना सडकमा निस्कियो । राष्ट्रपतिसहित शीर्ष नेताहरु सेनाको सुरक्षामा थिए । भोलिपल्ट आन्दोलनरत पक्षलाई वार्तामा बोलाउने प्रयास भयो । तर, जेनजीका नाममा अनेकौं समूह अघि सरे । धेरै समूह भएपछि सेनाले ‘नेता छानेर आउनु’ भन्यो ।
को सक्कली को नक्कली जेनजी भनेर छुट्याउन हम्मेहम्मे परिरहेका बेला भीडमा हानाहान कुटाकुट नै भयो । यतिबेलासम्म दुई दिनदेखि हराइरहेका मिराजको खोजी हुन थालिसकेको थियो ।
यता डिस्कर्डमा प्रधानमन्त्री कसलाई बनाउने भन्ने छलफल चलिरहेकै थियो । प्रधानमन्त्रीमा सुशीला कार्कीलाई अघि सार्ने विषयमा बहुमत जुट्यो ।
त्यसपछि प्रतिनिधिसभा विघटन हुनुपर्ने, संविधानले नै परिकल्पना नगरेको कुरा गैर सांसद सुशीला कार्कीलाई कुनै पनि हालतमा प्रधानमन्त्री बनाउनुपर्ने जस्ता मागमा एउटा समूह अडिग देखियो ।
यतिबेलासम्म मिराजलाई नेता मानिरहेकाहरुको सामुन्ने अर्को नेता देखिए । उमेर हेर्दा मिराजभन्दा दोब्बर जस्तै देखिने, टाउको मुण्डन गरेका, कालो चस्मा लगाएका, हातभरी ट्याट्टु खोपेका, बोल्दाखेरी शिष्ट भाव प्रकट गर्न नजान्ने, प्रधानसेनापति, राष्ट्रपति लगायतको छलफलमा टेलिफोनमार्फत् धम्कीपूर्ण र अल्टिमेटमसहितको आदेश दिने एक मंगोलियन अनुहार अघि सर्यो । उनले ‘हामी नेपाल’ लेखेको, रातो र सेतो रंग मिसिएको एउटा ज्याकेट लगाएका थिए । उनको नाम सुधन गुरुङ रहेछ, हामी नेपाल नामक गैरसरकारी संस्था (एनजीओ)को अध्यक्ष रहेछन् उनी ।
फसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल बन्द भएपछि डिस्कर्डमा भर्चुअल भीड जुटाउने कामको नेतृत्व हामी नेपालले नै गरेको रहेछ । सोमबार १९ जनाको ज्यान गएपछि डिस्कर्डमार्फत् मंगलबार पनि माइतीघरमा युवा बोलाउने हामी नेपाल नै रहेछ। उक्त आन्दोलनका कारण हालसम्म ७४ जना बढीले ज्यान गुमाएका छन् ।
बिहीबार राति फेसबुकमा व्यापक सेयर भएको एउटा भिडियोमा उल्लेखित हुलियाका सुधन गुरुङ देखिन्छन् । सो भिडियोमा सुधनले काठमाडौं महानगरपालिकाका मेयरका सल्लाहकार ओमप्रसाद अर्यालसँग फोनमा कुरा गरिरहेका छन् र नेपाली सेना तथा राष्ट्रपतिलाई अर्यालमार्फत् धम्क्याइरहेका छन् ।
त्यसपछिमात्र युवापुस्ता अर्थात् जेन जी निष्कर्षमा पुग्छन् कि भदौ २३ को आन्दोलनमात्र होइन, नेतृत्व पनि हाइज्याक भइसकेको छ । सामाजिक सञ्जालमा कयौंले ‘काम गर्ने कालु (मिराज), मकै खाने भालु (सुधन)’ भन्दै टिप्पणी गरिरहेका छन् ।

डिस्कर्डमार्फत् छानिएको भनिएकी पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीलाई हामी नेपालले नै माइतीघरमा उतारेको थियो । सुशीला युवाहरुसँग सामेल भएपछि उनको लोकप्रियता बढ्यो ।
खासमा डिस्कर्डमा एउटा नाटक मञ्चन भएको थियो । डिस्कर्ड हाँक्नेहरुले एउटा मेसेज सर्बत्र फिँजाएका थिए । सन्देशमा भनिएको थियो, ‘काठमाडौं महानगरका मेयर बालेन शाहलाई प्रधानमन्त्रीको अफर गर्दा उनले फोन उठाएनन्, सुशीलाले सबैले स्वीकार्ने हो भने ओके भनिन्, सागर ढकाल धनगढीमा छन्, हर्क प्रधानमन्त्री बन्न तम्तयार छन् ।’
त्यसपछि डिस्कर्डमा भोटिङ भयो । सामाजिक सञ्जालले निर्वाचित गरेको संसारकै पहिलो प्रधानमन्त्री बन्ने संघारमा थिइन्, कार्की ।
यता अर्को युवा जमात थियो जो काठमाडौं महानगरपालिकाका ड्यासिङ मेयर बालेनलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहन्थ्यो । उनीहरुको भावनालाई बालेन प्रधानमन्त्री बन्न चाहेनन् भन्ने सन्देश पठाएर मारियो ।
सेनासँग ‘हामी पनि जेन जी हौं’ युवाहरु एकअर्कासँग हानहानमा उत्रिनुको फाइदा हामी नेपाल र सुधनले उठाइरहेका थिए ।
डिस्कर्डमा मतदान सुरु हुनु र बालेनले फोन उठाएनन् भन्ने सन्देश फैलाउनु अघि नै सुधन र हामी नेपालले ‘बालेनलाई ६ महिनाको प्रधानमन्त्री बनाउने कि ५ वर्षका लागि बनाउने ?’ भन्ने प्रश्न सामाजिक सञ्जालमा फिँजाइसकेका थिए ।
बालेनलाई यसरी योजनाअनुसार ब्याक गराएर सुशीलालाई अघि सारिएको विषय पुष्टि त्यतिखेर भयो, जब सेनासँगको वार्तामा जेन जी (हामी नेपाल) को तर्फबाट अर्याल सहभागी भएको छताछुल्ल भयो ।

उता बालेनले प्रतिनिधिसभा विघटन भएपछि मात्र सहमति गर्नु राम्रो भनेर सामाजिक सञ्जाललाई उत्तेजित बनाए । जे हुँदै थियो, बालेनले भनेअनुसार हुँदै थियो, हामी नेपालले प्लान बनाएअनुसार हुँदै थियो ।
सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने, प्रधानमन्त्री बनेलगत्तै कार्कीले प्रतिनिधिसभा विघटनका लागि सिफारिस गर्ने र राष्ट्रपतिले पनि प्रधानमन्त्रीको सिफारिसअनुसार तल्लो सदन विघटन गरी निर्वाचनको मिति तोक्ने भन्नेमा सहमति भएपछि जेन जी आन्दोलनको ल्यान्डिङ भयो ।
सोमबारदेखि शुक्रबार साँझसम्म दर्जनौं मारिए, खर्बौं रुपैयाँको सार्वजनिक सम्पत्ति जले, निजी क्षेत्रका खर्बौं रुपैयाँ लुटिए, तोडफोड र आगजनी भए । देशले ऐतिहासिक दस्तावेज गुमायो । न्यायको धरोहर सर्वोच्चसहित देशका धेरै अदालतहरु जलेर खरानी भए। तर लाभ भने हामी नेपाल नामक एनजीओले लियो ।
सहमतिअनुसार शुक्रबार प्रधानमन्त्रीको रुपमा कार्कीले सपथ लिइन् । प्रतिनिधिसभा विघटन गरियो । सुधनले नेपालको झण्डाले आँशु पुस्दै गरेको तस्बिर सार्वजनिक भयो, सुशीलाको खुट्टा ढोगेको तस्बिर बाहिरियो।
देशले पहिलो महिला प्रधानमन्त्री पाएको र ३६ वर्षीय जेन जीले नेपालको झण्डाले आँशु पुसेको तस्बिरबाट लाखौं नेपाली भावविह्वल भए । सामाजिक सञ्जालमा खुसी साटे ।
त्यतिबेलासम्म सुधनले उनका स्वयमंसेवकलाई रुखो बचनले ‘म नेता हुँ चुप लाग्’ भन्दै थर्काएको, रिपोर्टर्स क्लबमा कनीकुथी आफ्ना एजेन्डा भनेको, छिनमै ठूलो स्वर छिनमै मलिन प्रस्तुती दिएको भिडियो क्लिप सामाजिक सञ्जालमा छ्यापछ्याप्ति भइसकेको थियो ।
यतिबेला धेरैले मिराजको शालिनता, धैर्यता, विषयवस्तुलाई बुझाउने क्षमता मिस गरे । मिराजको च्याप्टर यहीँबाट क्लोज भएको छ ।
सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउँदा दिएको धम्की होस् वा शुक्रबार राष्ट्रपति निवासमा प्रधानमन्त्रीको सपथ लिइराख्दा हामी नेपाल र सुधनले जमाएको हक, दुवै हेर्दा प्रधानमन्त्री कार्की बनेकी हुन्, तर खास शासन ‘हामी नेपाल र सुधन’बाट हुने छनक पाइन्छ ।
यतिसम्म कि सुधनले राष्ट्रपतिको कार्यालयका सचिवलाई समेत थर्काएको घटना सार्वजनिक भएको छ । शीतल निवासमा सपथ खाइओरी हामी नेपाल टिम र सुशीलाको सामूहिक तस्बिर हेर्दा पनि सुशीला प्रधानमन्त्रीको कुर्सीमा बसेकी मात्र हुन् कि भन्ने आभाष मिल्छ ।
कानुनी वा संवैधानिक अधिकारबिनै कसैले शक्ति उपभोग गर्न वा निर्णयमा प्रभाव पार्न सक्छ त्यो व्यक्तिलाई ल्याटिन भाषामा ‘डि फ्याक्टो’ शासक भनिन्छ । ठीक विपरित कानुनी वा संवैधानिक अधिकार त छ, तर कसैको इशारा वा निर्देशनअनुसार निर्णय गर्छ भने पदमा रहेको व्यक्तिलाई ‘डि जुरी’ शासक भनिन्छ ।
नेपालसहित विश्वका विभिन्न देशमा डि फ्याक्टो डि जुरीमार्फत् शासन गरेको इतिहास छ । नेपालको इतिहासमा जिष्णु गुप्त, देवलक्ष्मीदेवी, महासामन्तहरु, भमिसेन थापा तथा राणा प्रधानमन्त्रीहरु डि फ्याक्टो शासक हुन् ।
वि.सं. २०७२ को भूकम्पपछि राहत वितरण र समाजसेवामा लागेको हामी नेपाल सन् २०२० मा आएर नेपालको सरकारी संयन्त्रमा दर्ता भयो । त्यसअघिसम्म डोनेसन उठाएर वा फन्ड जुटाएर विभिन्न अभियान गर्ने हामी नेपालले ५ वर्षमा ३० करोड रुपैयाँ डोनेशन लिएको आफ्नै वेवसाइडमा राखेको छ।

हामी नेपालले वेबसाइट र विभिन्न कार्यक्रमका क्रममा सार्वजनिक गरेको विवरणमा संस्थालाई कसले डोनेसन दिन्छ भन्ने खुलाएको छ ।
सुशीला कार्कीलाई चीनले बधाई दिनुअघि दलाई लामाको शुभकामना प्राप्त हुनु, अमेरिका खुसी हुनु, नामै नसुनेका देशले पनि बधाई दिनु संयोग होइन ।
हामी नेपाललाई डोनेसन दिनेहरुको सूचीमा अमेरिकी भावनाअनुसार काम गर्ने बारबरा फाउन्डेसन, स्वतन्त्र तिब्बतको अभियानमा सक्रिय भारतीय संस्था, नेपालकै व्यावसायिक घरानासम्म छन् ।
हामी नेपालले २०२१ डिसेम्बरमा एक कार्यक्रम (वार्षिक साधारणसभा)मार्फत् संस्थाको वेबसाइट लन्च गरिएको र सहयोगीलाई सम्मान गरेको जारी प्रेस विज्ञप्ति र त्यतिबेला प्रकाशित समाचारमा उल्लेख छ । सो कार्यक्रममा बारबारा फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइत, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र निर्देशक उपेन्द्र हिरावत तथा शंकर ग्रुपमा उपाध्यक्ष शुलभ अग्रवाल र प्रबन्ध निर्देशक साहिल अग्रवाललाई सम्मान गरिएको थियो ।
सामान्यतः विदेशमा प्रभाव जमाउने संस्थामा नेसनल इन्डोमेन्ट फर डेमोक्रेसी, यूएसएड, फ्रिडम हाउ, ओपन सोसाइटी फाउन्डेसन, फोर्ड फाउन्डेसनलाई प्रत्यक्ष र अप्रत्यक्ष सम्बन्ध रहेको बताइन्छ । हामी नेपालमा पनि डोनेसन गर्नेहरुलाई पछ्याउँदै जाँदा अमेरिकासँग प्रत्यक्ष सम्बन्ध भएका, स्वतन्त्र तिब्बत माग गर्ने र नेपालका व्यावसायिक घरानासम्म पुग्छ ।
उदाहरणका लागि आँखा सर्जन सन्दुक रुइतलाई पछ्याउने हो भने उनी रामोन मागसेसे अवार्ड विजेता हुन् । रुइत र बारबाराले हामी नेपाललाई कार्यालय उपलब्ध गराएको सुधनले सार्वजनिक रुपमै भनेका छन् । एसियाको नोबेल पुरस्कार भनेर चिनिने रामोन मागासेसे अवार्ड निकै विवादित छ । रकफेलर ब्रदर्स फन्डले दिने यो अवार्ड यस्ता व्यक्तिलाई दिइन्छ, जसले अमेरिकी स्वार्थ प्रवर्धन गर्छन् । रकफेलरका कार्यक्रमा एसियालक्षित कार्यक्रमले साम्यवाद (कम्युनिज्म)लाई परास्त गरी अमेरिकावादी बौद्धिक वर्ग विकास गर्ने उद्देश्य राख्छन् । मागसेसे अवार्ड बौद्धिक वर्गमार्फत् सीआईएको अवधारणा एसियामा प्रवर्धन गर्न दिइने अवार्डका रुपमा बदनाम छ ।
दलाइ लामाको फ्रि तिब्बत अभियानमा काम गर्ने संस्था हामी नेपालको दाता
हामी नेपालको वेबसाइटमा राखिएको स्टुडेन्ड फर अ फ्रि तिब्बत नामको भारतीय संस्था दलाई लामासँग मिलेर तिब्बत स्वतन्त्रताका लागि काम गर्छ । नेपालमा हुने चीन विरोधी प्रदर्शनमा पनि स्टुडेन्ट फर फ्रि तिब्बत जोडिएको छ ।
‘२०७० फागुन २ मा बौद्धमा तिब्बती युवा कर्मा ग्यास्तोले फ्रि तिब्बतको माग गर्दै आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भए । शिक्षण अस्पतालमा उपचारकोक्रममा उनको मृत्यु भएको थियो । अनुसन्धानमा आत्मदाहको घटनामा भारतमा रहेको सोही संगठनको संलग्नता देखियो । उनको काठमाडौँमै अन्त्यष्टी गरेपछि नेपाल सरकारले गुपचुप रूपमा अन्त्यष्टी गरेको भन्दै नेपाल सरकार विरुद्ध विरोध प्रदर्शन भएको थियो । विरोध प्रदर्शनमा स्टुडेन्ट फर अ फ्री तिब्बतको प्रत्यक्ष संलग्नता रहेको खुलेको थियो ।‘ उकेरा अनलाइनले लेखेको छ ।

यसैगरी थ्रांगु रिम्पोचे गुम्बा (नमोबुद्ध)ले पनि हामी नेपालमा डोनेसन दिएको छ । थ्रांगु रिम्पोचे गुम्बाको मुख्य सहयोगी संस्था अमेरिकामा रहेको हिमालयन चिल्ड्रेन्स फन्ड हो जुनस्वतन्त्र तिब्बत अभियानमा जोडिएको संस्थाको रुपमा परिचित छ । यसले हामी नेपालका गतिविधिमाथि राज्यले समयमै निगरानी राख्न नसक्दा अहिले यस्तो परिणाम आएको हो ।
यी हुन् हामी नेपालका अन्य दाताहरु
हामी नेपाललाई पैसा दिनेहरुमा व्यावसायिक घरानाहरु शंकर ग्रुप, इन्फिनिटी होल्डिङ्स, गोल्स्टार, भिजन क्राफ्ट, पञ्चकन्या ग्रुप, जम्प केटीएम, एभरेस्ट आउटफिट, चाँदबाघ स्कुल, याक एन्ड यति होटल, दराज, डल्ले मम, मल्बेरी होटल, भाइबर, एसटीसी, कोकाकोला, च्याम्बर आयरल्यान्ड, टाइम फार्मास्युटिकल्स, हाइलाइफ, आलय, क्याम्पियन कलेज, एमडीएच फार्मास्युटिकल्स, हाइलाइफ क्लोथिङ, आरबीके प्रोडक्सन, प्रोजेक्ट सारंगी, गोर्खा वेल्फेयर फन्ड र होटल एम्बास्डरलगायत छन्।

शंकर ग्रुप, इन्फिनिटी होल्डिङ्स र बारबरा फाउन्डेशनले भने- हामी नेपालसँग अहिले कुनै सम्बन्ध छैन
शंकर ग्रुप र इन्फिनिटी होल्डिङले जेनजी आन्दोलनकारी समूहका अगुवा सुधन गुरुङ र उनको संस्थासँग जोडेर आएका समाचारहरुप्रति असहमति जनाउँदै सो संस्था र उनीहरुको राजनीतिसँग कुनै सम्बन्ध नरहेको बताएको छ । दुवै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै गुरुङले नेतृत्व गर्ने ‘हामी नेपाल’ संस्था र उसको राजनीतिसँग आफ्नो कुनै संलग्नता र सरोकार नरहेको जनाएका हुन् ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीका बेला व्यावसायिक धर्मबाट माथि उठेर मानव सेवामा पुण्यकर्म गर्नुपर्दछ भन्ने उद्देश्यले सुदन गुरुङ संलग्न संस्था ‘हामी नेपाल’ नामक संस्थासँग हातेमालो गरेको तर त्यसपछि कुनै सम्बन्ध र सहकार्य नरहेको उनीहरुले प्रष्ट पारेका छन् ।
‘हजारौं विपत्तिमा पर्नुभएका आमा, बुबा, दाजुभाइ, दिदीबहिनीको उपचार र पुनर्स्थापनामा सहयोगी हात बढाएका थियौं, जसका कारण हजारौंको ज्यान जोगिन पुग्यो र त्यसमा हामीलाई गर्व पनि छ, उक्त महामारीका समयमा ‘हामी नेपाल’ संस्था र त्यसका नेतृत्वकर्ता सुधन गुरुङसँग चिनजान भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यही क्रममा हामीले कोरोना प्रभावित नेपालीलाई सहयोग गर्न उहाँहरूलाई परिचालन पार्टनर छनोट गरेका थियौं । त्यसयता उक्त संस्थासँग हाम्रो कुनै सहकार्य नभएको समेत स्पष्ट पार्न चाहन्छौं ।’
त्यसबेला उक्त सहयोग पारदर्शी रूपमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गरिएको र त्यतिबेलै सार्वजनिक प्रेस विज्ञप्ति मार्फत् जानकारी गराइएको बताइएको छ ।
तर ‘हामी नेपाल’ले जिम्मा लिएको जेनजी आन्दोलनमा उनै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सको लगानी रहेको राजधानीको हिल्टन होटल लुटपाट, तोडफोड र आगजनी गरि ध्वस्त बनाइएको छ ।
त्यस्तै सन्दुक रोइतले पनि महामारीका बेला परोपकारी भावनाले मात्रै हामी नेपाल नामक संस्थालाई सहयोग गरिएको प्रष्ट पारेका छन् । रोइतको ‘बारबरा फाउन्डेसन’ ले आफूलाई जेनजी आन्दोलनसँग जोडेर गरिएको प्रचारको खण्डन गर्दै संस्थाले आफू कुनै पनि राजनीतिक वा आर्थिक चलखेलमा संलग्न नरहेको स्पष्ट बारबराले विज्ञप्तिमार्फत स्पस्ट पारेको छ।
विज्ञप्तिमा फाउन्डेसनले ‘हामी नेपाल’ नामक संस्थासँग कोभिड महामारीको समयमा मात्र सहकार्य गरेको दाबी गर्दै त्यस संस्थासँग कुनै आर्थिक सम्बन्ध नभएको जनाएको छ।
सुधनले लिए जिम्मा, बालेनलाई लाभ
सुधनलाई नजिकबाट चिन्नेहरुका अनुसार उनी २०७२ अगाडिसम्म रेस्टुरेन्ट चलाउँथे, आफैं डीजे थिए । ७२ सालको भूकम्पमा उनको छोराको निधन भएपछि उनी भूकम्प प्रभावितलाई राहत तथा उद्दार कार्यमा खटिए ।
हामी नेपालले भूकम्प तथा कोरोनामा राहत वितरण कार्य गरेको थियो भने धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधारसम्मका लागि दबाब दिएको थियो । संस्थाले जाजरकोट भूकम्प, कागबेनी बाढी, कागबेनी आगलागीदेखि टर्कीको भूकम्पसम्म उद्दार तथा राहतको काम गरेको छ ।
सुधनले दुई वर्ष अगाडि राजनीतिमा आउने घोषणा गरेका थिए ।
सामाजिक सञ्जालमा नेपो बेबी र नेपो किड्स अभियानअनुसार नेताका छोराछोरीको बिलासी जीवनशैली देखाउने तस्बिर र भिडियो सेयर गर्ने युवाहरुले हाम्रो कर कहाँ खर्च गर्यौ भनेर प्रश्न सोध्दै गर्दा मिराज ढुंगानाले कमान्ड सम्हालेका थिए । सुधन भने भदौ २२ गतेदेखि मात्र सक्रिय भएका हुन् ।
जेन जी प्रदर्शनीमा सुधन आफू पानी बाँड्ने तथा प्रदर्शन गर्नेलाई आइपरेको अवस्थामा प्राथमिक उपचार गर्ने भन्दै आएका थिए।
तर, जसले प्रदर्शनको नेतृत्व रह्यो, आज ऊ गुमनाम छ तर फाइदा भने सुधनले उठाएको देखिन्छ ।
पछि बिहीबार बेलुका १२ बजेसम्म कार्कीलाई प्रधानमन्त्री नियुक्त नगरे राष्ट्रपतिलाई घिसारेर सडकमा ल्याउनेसम्मको अभिव्यक्ति दिएका थिए । मिराज नहुँदा सुधनसँगै बालेन समूहले जेन जी प्रदर्शनको फाइदा लिएका छन् ।







प्रतिक्रिया