
शोभाकर (हरि) न्यौपाने अम्बे ग्रुपका अध्यक्ष हुन् । व्यावसायिक क्षेत्रमा उनको ३ दशकभन्दा लामो अनुभव छ । उनी भदौ २३ र २४ को जेनजी विद्रोहका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले समग्र निजी क्षेत्रको आत्मविश्वासमा ठूलो धक्का पुर्याएको बताउँछन् । जेनजी विद्रोहका कारण व्यवसायीले भोग्नुपरेको आर्थिक तथा भौतिक क्षति र लगानीको खस्कँदो वातावरणबारे न्यौपानेको अनुभव र विश्लेषण यहाँ प्रस्तुत गरिएको छ।
जेनजी प्रदर्शनका क्रममा तपाईंले के कस्ता क्षति भोग्नुभयो ?
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा मुलुकका महत्त्वपूर्ण सरकारी संरचनासँगै निजी क्षेत्रका व्यावसायिक भवन र घरमा आगजनी भयो । तर, जेनजी प्रदर्शनका क्रममा मेरो उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि कुनै पनि प्रकारको क्षति भने हुन पाएन ।
जेनजी प्रदर्शनका कारण तपाईंको मनोबलमा कस्तो प्रभाव पर्यो ? तपाईं थप लगानी गर्न तयार हुनुहुन्छ ?
प्रदर्शनका कारण उद्योगको उत्पादन र सेवा क्षेत्रमा आंशिक क्षति पुगेको छ । यसले गर्दा बजार प्रभावित हुनुका साथै आपूर्ति शृंखलामा असर पुर्याउनुका साथै मनोवैज्ञानिक रूपमा ठूलो असर परेको पनि छ । यसर्थ, तत्कालै थप लगानी गर्न सक्ने स्थिति छैन । साथै, लगानी वृद्धि गर्ने सोच वा योजना पनि बनाइसकेको छैन।
जेनजी प्रदर्शनका कारण लगानीको वातावरणमा कतिको धक्का पुगेको छ ?
जेनजी प्रदर्शनका कारण लगानीको वातावरणमा ठूलो धक्का लागेको छ । यसले गर्दा समग्र लगानीको वातावरण थोरै कमजोर भएको महसुस हामीले गरेका छौं ।
यद्यपि, प्रदर्शनपश्चात् सरकारबाट जुन किसिमको मनोबल बढाउने कदम अघि बढाइएको छ त्यो सराहनीय छ ।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले कस्तो प्रत्यक्ष (भौतिक) र अप्रत्यक्ष (आर्थिक) क्षति बेहोर्नुपर्यो ?
प्रदर्शनका क्रममा निजी क्षेत्रले सबैभन्दा ठूलो क्षति बेहोरेको विषयमा हामी सबै जानकार नै छौं । निजी क्षेत्रको भौतिक संरचनामाथि, उद्योग, व्यावसायिक प्रतिष्ठान र निजी घरमा तोडफोड, लुटपाट र आगजनी भए ।
तर, जेनजी प्रदर्शनको क्षति यतिमा मात्रै सीमित भएन । यसले लगानीकर्ता तथा उद्योगी व्यवसायीमा एक किसिमको त्रासको स्थिति सिर्जना गरेको छ ।
अफवाह तथा भ्रमपूर्ण सूचना, समाचार, व्यक्तिगत रिसइबी र कुण्ठाका कारण पनि निजी क्षेत्रमा ठूलो क्षति भएको छ । यो स्थिति नदोहोरिएला भन्ने अवस्था छैन ।
जेनजी प्रदर्शनबाट सिर्जित अनिश्चितताले सुदृढ हुँदै गरेको लगानी वातावरणमा गम्भीर धक्का पुगेको हो ?
कोरोना महामारी, भूकम्प जस्ता अवस्थापछि नेपालको लगानीको वातावरण केही हदसम्म सकारात्मक ढंगमा अगाडि बढिरहेको थियो । तर, यसबीचमा एक्कासि जेनजी प्रदर्शन भयो र लगानी वातावरणमा गम्भीर प्रकृतिको धक्का लागेको छ ।
तथापि, सुधारको पक्षमा सरकारले काम गरिरहेकाले नकारात्मक हुनुपर्ने अवस्था भने छैन । बरू, सरकारका कदमले निजी क्षत्रको मनोबल केही हदसम्म सहज बनाउँदै लगेको छ ।
जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण जोगाउन सरकारले गरेका प्रयासहरू के कस्ता छन् ? र, ती प्रयास कत्तिको प्रभावकारी भइरहेका छन् ?
जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण सुधार्न सरकारले केही हदसम्म प्रयास गरेको देखिए पनि त्यो पर्याप्त छैन । यद्यपि, यो प्रयास पर्याप्त छ वा छैन भन्ने विषय मापन गर्ने समय पनि भइसकेको जस्तो लाग्दैन ।
हालका प्रयासहरूको नतिजा कस्तो आउँछ भन्ने विषय मुख्य छ । अब एक–दुई क्षेत्रमा उक्त प्रयासको प्रभाव देखिँदै गएमा थप स्पष्ट हुने ठाउँ बन्छ ।
व्यवसायीको मनोबल बढाउन सरकारलाई तपाईंका सुझाव के के छन् ?
व्यवसायीको मनोबल बढाउन सरकारबाट सबैभन्दा पहिले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले आफ्नो परम्परागत नीतिमा सुधार गरेर परिवर्तन भएर आउनुपर्छ ।
यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहेका विभिन्न झन्झटिलो समस्याहरू हटाउनुपर्छ ।
नीतिगत कानूनी व्यवस्थाहरू उद्योग र व्यवसायमैत्री हुने गरी हलुको बनाउनुपर्छ । उद्योगी व्यवसायी निराश भएको समयमा सरकार उदार हुनुपर्छ ।
भविष्यमा निजी क्षेत्रमाथि आक्रमण हुन नदिन वा यस्ता प्रदर्शनबाट निजी क्षेत्रलाई टाढै राख्नका लागि सरकार, व्यवसायी आफैं र अन्य सरोकारवालाहरूबाट के कस्तो पहलको आवश्यकता छ ? वा निजी क्षेत्रमाथि सर्वसाधारणको नकारात्मक मनोवृत्ति (दृष्टिकोण) कसरी बदल्न सकिन्छ ?
देशमा रोजगारीको अवसर सिर्जना गर्ने जिम्मेवारी निजी क्षेत्रको हो । तर, उद्योगलाई फल्नेफुल्ने वातावरण राज्यले बनाइदिनुपर्छ । मुलुकभित्रै रोजगारीको अवसर सिर्जना नहुँदा युवापुस्तामा तनावको स्थिति सिर्जना भएको छ । सरकारकोे नीति तथा कानूनहरू उदार नभए लगानीको वातावरण बन्न सक्दैन ।
निजी क्षेत्रले सरकारलाई तिरेको राजस्वबाट मुलुक चलेकाले उद्योगी र व्यवसायीलाई सरकारले कन्फिडेन्समा लिन सक्नुपर्छ । यस्तो अवस्था सिर्जना भयो भने पक्कै पनि उद्योग व्यवसायमा उत्साह आउनेछ । रोजगारीको अवसर पनि प्रशस्त मात्रामा सिर्जना हुनेछन् भने सर्वसाधारणको निजी क्षेत्रप्रतिको नकारात्मक दृष्टिकोणमा परिवर्तन ल्याउन सकिन्छ ।
जनतालाई गलत बाटोमा लाग्न राजनीतिक दलले नै प्रेरित गरेका छन् । निर्वाचन जित्नको लागि धनी र गरिबको विभेदको संकथन निर्माण गरिएको छ । जहाँ गए पनि निजी क्षेत्रलाई शोषकको रूपमा गलत भाष्य स्थापित गरिएको छ । राजनीतिमा भोट दिने जनताको ब्रेनवाश गर्ने काम सदाको लागि बन्द गर्नुपर्छ ।
धनी र गरिबबीचको आय अन्तरलाई कम गर्नुपर्छ । राजनीतिक दलले निजी क्षेत्रलाई सही रूपमा मूल्यांकन गरी सही रूपमा सहयोग गरे आफैं सर्वसाधारणको नकारात्मक दृष्टिकोणमा परिवर्तन आउँछ ।
नेपालमा लगानीमैत्री वातावरण बनाउन कसले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?
लगानीमैत्री वातावरण बनाउन नेपालमा पर्याप्त मात्रामा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनुपर्छ । यसका लागि राज्यबाट पर्याप्त र भरपर्दो रूपमा सुरक्षाको वातावरणका साथै मनोबल बढाउन आवश्यक छ ।
यसका साथै रिटर्न फिर्ता आउने ग्यारेन्टीको वातावरण पनि बन्नुपर्छ । उद्योगी व्यवसायी अप्ठयारोमा पर्दा त्यस्ता समस्याबाट छुटकारा पाउन राज्यले त्यस्तो अवस्थामा हामी छौं भनेर मनोबल बढाउन सक्नुपर्छ ।
यसका साथै लगानीमैत्री वातावरण बनाउने खालको सरकार पनि आवश्यक पर्छ । निजी क्षेत्रको भित्री भावना बुझ्ने खालको व्यक्ति राज्यको लिडरशिपमा अब जान आवश्यक छ । कर नीति सुधार गरी काम गर्ने क्रममा आएका समस्याहरूलाई राज्यले सहज रूपमा समाधान गरिदिनुपर्छ ।
यसका साथै प्रक्रियागत झन्झटलाई राज्यले क्रमिक रूपमा हटाएर ती प्रक्रियालाई सदाको लागि अन्त्य गरिदिए नेपालमा लगानीमैत्री वातावरण मात्रै बन्ने होइन, रोजगारीको ठूलो अवसर समेत सिर्जना हुन्छ ।
(प्रस्तुत अन्तर्वार्ता ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा सोधिएका प्रश्नहरुमा अम्बे ग्रुपका अध्यक्ष न्यौपानेले दिएको जवाफका आधारमा तयार पारिएको हो।)








प्रतिक्रिया