प्रधानमन्त्री कार्कीको प्रश्न: सिंहदरबारसहित संरचनामाथि आक्रमण गर्नेलाई कसरी नेपाली भन्ने?

532
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका अत्यावश्यक संस्थाहरूलाई लक्षित गरी आक्रमण भएकोप्रति चिन्ता व्यक्त गरेकी छन् ।

आइतबार पदभार ग्रहणपछि उच्च सरकारी अधिकारीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सिंहदरबार, प्रहरी चौकीसहित सरकारकी संयन्त्र जलाउने घटनाले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरिन् । उनीहरुलाई नेपाली भन्दासमेत आफूलाई लाज लाग्ने उनको भनाइ छ ।

‘प्रहरी चौकी–थाना जलाइए, अदालतका फाइल नष्ट गरिए, सिंहदरबारसम्म क्षति पुर्‍याइयो । किन यस्ता भवन र कागज जलाइए भन्ने प्रश्नले मलाई आश्चर्यचकित बनाएको छ । अझ नेपालीकै हातले भएको भए तिनलाई कसरी नेपाली भन्ने भन्ने सोच्दा लाज लाग्छ। यस्तो घटना यो देशमा पहिलोपटक भएको हो।’

प्रधानमन्त्री कार्कीले घटनालाई षड्यन्त्रको सम्भावना पनि बताउँदै यसमा संलग्नमाथि छानबिन हुने बताइन् ।

‘म रहरले प्रधानमन्त्री बनेकी होइन । सडकबाट जनताको आवाज उठेकाले बाध्य भएर जिम्मेवारी लिनुपरेको हो । यो पद सत्ताको रसास्वादनका लागि होइन,’ उनले भनिन् ।

कार्कीले आफू ६ महिनामात्र प्रधानमन्त्री रहने अठोट गरेको बताउँदै त्यसपछि नयाँ निर्वाचित संसद र मन्त्रीलाई सत्तासमेत हस्तान्तरण गर्ने उल्लेख गरिन् ।

उनले सुरक्षा निकायसहित सबै पक्षको सहयोगबिना यो लक्ष्य पूरा गर्न नसकिने भएकाले सहकार्यका लागि अपिल गरिन्।