
काठमाडौं । ‘बारबरा फाउन्डेसन’ ले आफूलाई जेनजी आन्दोलनसँग जोडेर गरिएको प्रचारको खण्डन गरेको छ । संस्थाले आफू कुनै पनि राजनीतिक वा आर्थिक चलखेलमा संलग्न नरहेको स्पष्ट बारबराले विज्ञप्तिमार्फत स्पस्ट पारेको छ।
विज्ञप्तिमा फाउन्डेसनले ‘हामी नेपाल’ नामक संस्थासँग कोभिड महामारीको समयमा मात्र सहकार्य गरेको दाबी गर्दै त्यस संस्थासँग कुनै आर्थिक सम्बन्ध नभएको जनाएको छ।
फाउन्डेसन बारबरा एडम्सले स्थापना गरेकी हुन् । जीवनको अधिकांश समय नेपालमा बिताएकी अमेरिकी नागरिक एडम्सले आफ्नै सम्पत्ति दान गरेर संस्थाको आधार तयार गरेकी थिइन् । संस्थाको उद्देश्य खोज पत्रकारिता पुरस्कार प्रदान गर्नु, वातावरण–प्रकृति, संस्कृति र सम्पदा संरक्षणका विषयमा फेलोसिप सञ्चालन गर्नु र टक सेरिज आयोजना गर्नु रहेको छ ।
अहिलेसम्म फाउन्डेसनले दर्जनौँ टक सेरिज आयोजना गरेको छ । कोभिड महामारीका बेला ८७ जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको र खोज पत्रकारितामा उत्कृष्ट काम गर्ने पत्रकारलाई पुरस्कृत गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
वित्तीय पक्षमा, फाउन्डेसनले हालसम्म बारबरा एडम्सबाट करिब २ करोड ८८ लाख रुपैयाँ पाएको र त्यसको कानुनी प्रक्रिया पूरा भइसकेको जनाएको छ। संस्थाको मुख्य कोष भने नेपाली दाताहरूकै सहयोगबाट चलिरहेको दाबी गरिएको छ ।
पछिल्लो आठ वर्षमा ब्याज आम्दानीसहित करिब ७ करोड ८२ लाख रुपैयाँ प्राप्त भएको र त्यसमध्ये ३ करोड ६४ लाख रुपैयाँ कार्यक्रम तथा प्रशासनिक खर्चमा व्यय भएको विवरण सार्वजनिक गरिएको छ। हाल संस्थाको बैंक मौज्दात करिब ३ करोड ९५ लाख रुपैयाँ रहेको जानकारी पनि दिइएको छ। विस्तृत आय–व्यय विवरण संस्थाको वेबसाइटमा उपलब्ध रहेको उल्लेख छ ।
विज्ञप्तिमा फाउन्डेसनले जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा पुगेको क्षतिप्रति पनि दुःख प्रकट गरिएको छ ।
प्रेस विज्ञप्ति
सर्वप्रथम त जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली एवं प्रियजन गुमाएका शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छौँ । नेपालका जेनजी को उत्साह, साहस र ऊर्जालाई हामी सलाम गर्दछौँ । सुशासन, न्याय, जवाफदेहिता र सकारात्मक परिवर्तनप्रतिको उनीहरूको प्रतिबद्धताले देशको सुन्दर भविष्यको आशा जगाइरहेको छ । उनीहरूको सक्रिय सहभागिताले लोकतान्त्रिक मूल्यहरूको शक्ति र युवा आवाजको दृढ संकल्पलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।
साथै आन्दोलनका क्रममा ऐतिहासिक महत्त्वका राष्ट्रिय सम्पत्तिमा भएको विनाशप्रति पनि हामी दु:खित छौँ । यो हाम्रो राष्ट्रका लागि कठिन समय हो, र यस कठिन घडीमा प्रभावित सबैसँग हामी ऐक्यबद्ध छौँ ।
तर देशको पछिल्लो संवदेनशील र तरल अवस्थाको फाइदा उठाउँदै भ्रामक समाचार बनाई हाम्रो नामसमेत जोडी गरिएको अनर्गल प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
बारबरा फाउन्डेसन गैरनाफामूलक सामाजिक संस्था हो । यसको स्थापना एक जना अमेरिकी नागरिक जसको नाम बारबरा एडम्स थियो, उहाँले नेपाललाई आफ्नो कर्मक्षेत्र बनाएर आफ्नो जीवनको ऊर्जावान समय नेपाललाई दिनुभयो र आफूले आर्जेको सम्पूर्ण श्री सम्पत्ति यस संस्थालाई नै दिनुभयो । नेपाली माटोमै सम्पूर्ण जीवन बाँच्नु भएकी बारबराले नेपाली नागरिककै रूपमा यहीँ देहत्याग गर्नु भएको थियो । स्वर्गीय बारबराको व्यक्तिगत सम्पत्तिको स्रोतबाट यो संस्थाको जन्म भएको हो । नेपाली नागरिकको सेवामा समर्पित होस् भन्ने उहाँकै चाहनाअनुरूप यो फाउन्डेसन स्थापित भएको हो ।
संस्थाको मुख्य उद्देश्य नेपालमा खोजपत्रकारिता पुरस्कार र वातावरण, प्रकृति, संस्कृति, सम्पदा संरक्षणका विषयमा फेलोसिप प्रदान गर्नु र टक सेरिज सञ्चालन गर्नु रहेको छ । फाउन्डेसनले झन्डै दर्जन टक सेरिज सञ्चालन, कोरोना महामारीमा अग्रपंक्तिमा खटिने नेपालभरका ८७ स्वास्थ्यकर्मी र उत्कृष्ट खोजमूलक पत्रकारिता गर्ने पत्रकारलाई पुरस्कृत गरिसकेको छ । हाम्रो उद्देश्य र कामबारे हाम्रै वेबसाइट barbarafoundation.org बाट पनि छर्लङ्ग हुन सकिन्छ ।
संस्थाको कोष समाज कल्याण परिषद्को नियमानुसार व्यवस्थापन हुन्छ । बारबरा एडम्सको नेपालप्रति रहेको प्रेमको कारण निजले मृत्युपश्चात आफ्नो सम्पत्ति बारबरा फाउन्डेसनले पाउने व्यवस्था गरेअनुरूप तहाँबाट हालसम्म करिब रू. २ करोड ८८ लाख प्राप्त गरेको र सोको कानुनबमोजिम सम्बन्धित निकायबाट स्वीकृतिसमेत प्राप्त गरेको छ ।
फाउन्डेसनको अधिकतम कोष नेपालीहरूकै दानबाट चलिरहेको छ । फाउन्डेसनले विगत ८ वर्षमा ब्याज आम्दानीलगायत कुल करिब रू. ७ करोड ८२ लाख प्राप्त गरेको छ । यसको वार्षिक बजेट करिब ५० लाख रुपैयाँ मात्र छ । यस अवधिमा आफ्नो कार्यक्रम एवं प्रशासनिक खर्चबापत करिब रू. ३ करोड ६४ लाख खर्च गरेको छ । हाल फाउन्डेसनसँग करिब रू. ३ करोड ९५ लाख बैंकमा मौज्दात रहेकोसमेत जानकारी गराउन चाहन्छौँ । फाउन्डेसनको आय-व्ययको सारांश फाउन्डेसनकै वेबसाइटमा समेत उपलब्ध छ ।
यस संस्था र यसका पदाधिकारीहरुको नाम जोडी हामी नेपाल नामक संस्थासंगको सम्वन्ध वारे अनर्गल प्रचार समेत भइ रहेको छ । हामी नेपाल नेपाल भरि छरिएका युवाहरु संगठन भएकोले कोभिड महामारीको वेलामा सहकार्य गरिएको हो । सो संस्था वा संस्थाका पदाधिकारीसंग हाम्रो कुनै पनि आर्थिक सम्वन्ध छैन ।
अन्त्यमा, हामी हाम्रो जीवनजस्तै पारदर्शी नेपाली समाज हेर्न चाहन्छौँ । मानिसहरूलाई मूल मुद्दाबाट भड्काउने मनशायले हाम्रो चरित्र हत्या नगर्न सम्बन्धित सबैलाई हामी पुनः आग्रह गर्दछौँ । धन्यवाद ।










प्रतिक्रिया