अमेरिकी ट्यारिफको फाइदा लिन भारतीय उद्योगीले नेपालमा बढाए चासो (भिडियो)

203
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण भारत, बंगलादेश र भियतनामबाट निर्यात हुने तयारी पोशाक, गलैंचा, जुत्ता, जडिबुटी र फर्निचरजस्ता उत्पादन महँगो भएपछि ती देशका उद्योगी र लगानीकर्ताले नेपालमा चासो बढाएका छन् ।

नेपालबाट निर्यात गर्दा तुलनात्मक रुपमा सस्तो पर्ने भएकाले उनीहरु प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) वा नेपालकै उद्योगलाई क्षमता विस्तार गर्न सहयोग गर्ने मोडालिटीमा छलफल गरिरहेका छन् ।

यस अवसरलाई नेपाली उद्योगीले समेत सकारात्मक रुपमा लिएका छन् र उत्पादन क्षमता विस्तार गर्न सुरु गरिसकेका छन्।

भारतीयसहित विदेशी लगानीकर्ताले नेपालमा गार्मेन्ट, गलैंचा, जुत्ता, खेलकुदका सामग्री र गहना उत्पादन गर्ने सम्भावनाबारे गहन छलफल गरिरहेका छन्। विश्वविख्यात ब्रान्डका उत्पादक कम्पनीले पनि नेपालमा आंशिक उत्पादन गर्ने चासो देखाएका छन्। यसरी उत्पादन भएका सामानमा ‘मेड इन नेपाल’ ट्याग लगाएर अमेरिकामा निर्यात गर्ने योजना बनाइँदैछ। उद्योगीहरुले यस अवसरलाई नेपालले “क्यास” गरेर ठूलो बजार हिस्सेदारी लिन सक्ने मौका भएको बताएका छन्।

यता, नेपालका बैंकहरुले पनि उद्योगीको मागअनुसार फाइनान्सिङको सम्भावना हेरेका छन्। केही व्यवसायीले क्षमता विस्तारका लागि मेसिनरी आयात र कर्जा प्रवाहबारे सोधपुछ सुरु गरिसकेका छन्। तर, अमेरिकी ट्यारिफ नीति स्थायी हुन्छ वा अस्थायी भन्ने स्पष्ट नभएकाले धेरै उद्योगी अझै पर्ख र हेरको अवस्थामा छन्। लगानी बढाउन निश्चित समय लाग्ने भएकाले अनिश्चितता प्रमुख अवरोध बनेको देखिन्छ।

तर, यो अवसरसँगै जोखिम पनि छ। भारतमा निर्यात रोकिएका वस्तुहरु नेपालको नक्कली ट्याग लगाएर अमेरिका पठाउने प्रयास भएमा नेपालको वैधानिक निर्यात समेत प्रभावित हुने खतरा छ। यसबारे नेपाली संघ–संस्थाले सरकारलाई सचेत गराइसकेका छन् र अमेरिकी संयन्त्रले पनि औपचारिक रुपमा ध्यानाकर्षण गराएको छ। त्यसैले, नेपालले अवसरलाई सदुपयोग गर्दै जोखिम व्यवस्थापन गर्नुपर्ने देखिन्छ।

Skip This