
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण बजार हिस्सा गुमाउने त्रासमा पुगेका भारतसहित तीन मुलुकका तयारी पोशाक र गलैंचा उद्योगीहरु नेपालमा लगानी गर्न इच्छा देखाएका छन् ।
अमेरिकाले पछिल्लो समयमा भारतमाथि ५० प्रतिशत, बंगलादेश र भियतनाममाथि २०-२० र नेपाल र भुटानमाथि १०-१० प्रतिशत भन्सार शुल्क लगाएको छ । यो शुल्कका कारण भारत, बंगलादेश र भियतनामबाट अमेरिकामा निर्यात हुने तयारी पोशाक, गलैंचा (कार्पेट), जडिवुटी, पश्मिनालगायतका वस्तु निक्कै महँगो हुने भएको छ ।
त्यही वस्तुहरु नेपालबाट निर्यात गर्दा भारत, बंगलादेश र भियतनामको तुलनामा निक्कै सस्तो पर्ने भएकाले ती मुलुकहरुले नेपालको तयारी पोशाक, गलैंचा, जुत्ता र जडिवुटी उद्योगमा लगानी गर्न चासो देखाएका हुन् ।
नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेका अनुसार पछिल्लो समयमा भारतका ठूला औद्योगिक घरानाहरु नेपालमा लगानी भित्र्याउन प्रत्यक्ष रुपमै नेपाल दौडिरहेका छन् । भारतीय औद्योगिक घरानाहरु पछिल्लो समयमा नेपालका तयारी पोशाक र गलैंचा उद्योगीहरुसँग प्रत्यक्ष रुपमै भेटेर गहन रुपमा छलफल थालेका छन् ।
पाण्डेका अनुसार ट्रम्पको ट्यारिफ नीतिका कारण प्रभावित भएका भारतका उद्योगीहरु नेपाल धाइरहेको जानकारी दिए । अमेरिकन नीतिका कारण तयारी पोशाक र गलैंचाजस्ता उत्पादनको लागि नेपाल गन्तव्य मुलुक बन्न सक्ने मौका आएको पाण्डेको भनाई छ ।
‘अमेरिकी ट्यारिफका कारण भारतबाट निर्यात हुने तयारी पोशाक, गलैंचालगायतका सामानको लागत मूल्य अत्यधिक बढ्ने भएर उनीहरु नेपाल आइरहेका छन्, दुई दिन अघिसम्म करिब २ सयको हाराहारीमा भारतीय उद्योगी र लगानीकर्ता नेपाल आइसकेका छन्,’ क्लिकमान्डुसँग पाण्डेले भने,‘भारतमाथि चर्को कर लगाएपछि भारतीयहरु नेपालतर्फ आकर्षित भएका हुन् ।’
पाण्डेका अनुसार नेपाल आइपुगेका भारतीय उद्योगी र लगानीकर्ता दुई प्रकारको मोडालिटीमा छलफल गरिरहेका छन् । प्रत्यक्ष वैदेशिक लगानी(एफआईडी) भित्र्याउने र नेपालकै उद्योगको उत्पादन क्षमता र मेसिनरी प्लान्टको क्षमता विस्तार बढाउने तथा श्रमिकलाई अत्याधुनिक तालिम प्रदान गर्ने विषयमा भारतीय उद्योगीहरुले छलफल गरिरहेका हुन् ।
‘अहिले भारतीय उद्योगीहरु धमाधम नेपाल आइरहेका छन्, नेपाली उद्योगीहरुसँग प्रत्यक्ष रुपमा भेटघाट गरी दुई प्रकारको मोडालिटीको विषयमा छलफल भइरहेको छ,’ पाण्डेले भने, ‘एफडीआई नै भित्र्याएर नेपालमै उद्योग सञ्चालनमा ल्याउने वा नेपालमा भएकै उद्योगको क्षमता अभिवृद्धि गरी गुणस्तरीय उत्पादन क्षमता वृद्धि गर्ने विषयमा छलफल भइरहेको छ । छलफलकै क्रममा रहेकाले टुङगो भने लागिसकेको छैन ।’
नेपाली स्थानीय तयारी पोशाक उत्पादक संघका अध्यक्ष किशोर नेपालले पनि भारतीय उद्योगी र लगानीकर्ताले नेपालको स्थितिबारे चासो बढाएको बताए ।
उनका अनुसार गत साता भारतका केही उद्योगीहरु तयारी पोशाकका साथै गलैचा, जुत्ता, खेलकुदका सामग्री, गहना र फर्निचर उत्पादनका विषयमा छलफल गरेर भारत फर्केका छन् । पछिल्लो पटकको अमेरिकी नीतिका कारण भारत र बंगलादेशबाट अमेरिकामा निर्यात भइरहेको तयारी पोशाक, गलैंचा, जुत्ता, खेलकुदका सामग्री, गहना र फर्निचरजस्ता सामग्री निक्कै महँगो पर्ने भएकाले भारतीयहरुले लागत मूल्य सस्तो पर्ने भएर विकल्पको रुपमा नेपाललाई हेरेका छन् ।
उनका अनुसार भारतीय उद्योगीले नेपालमै प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने र नेपालमा भएकै उद्योगलाई मागअनुसार अर्डर दिएर तयारी पोशाक र गलैंचा उत्पादन गर्न लगाउने विषयमा छलफल भइरहेको छ । भारतमा उत्पादन भइरहेको पुमा, नाइक, जारा, ग्यापजस्ता ब्रान्डका उत्पादक कम्पनीले आंशिक उत्पादन नेपालमा गर्ने भनेर चासो व्यक्त गरेको उनले जानकारी दिए ।
‘उनीहरुले नेपालमा एफडीआई ल्याउने र नेपालकै उद्योगीलाई मागअनुसार सामान उत्पादन गर्न अर्डर दिने विषयमा छलफल गरेका छन्, यसका लागि आवश्यक पर्ने कच्चा पदार्थ र उपकरण स्तरोउन्नतीमा भारतीयले सघाउने विषय उनीहरुले छलफलको क्रममा बताएका छन्,’ अध्यक्ष नेपालले भने, ‘यसरी उत्पादन भएको वस्तुमा नेपालको ट्याग लगाएर अमेरिकामा निर्यात गर्ने उनीहरुको योजना छ ।’
उनका अनुसार अमेरिकाले भारतमाथि ५० प्रतिशत कर लगाउँदा पनि नेपाललाई निकै फाइदा छ, त्यसलाई घटाएर २९ प्रतिशत कायम गर्दा पनि नेपाललाई लाभ नै हुनेछ ।
‘नेपालको दुवै हातमा लड्डु छ, ५० प्रतिशत कायम रहँदा पनि नेपाललाई फाइदा छ, त्यसलाई घटाएर २९ प्रतिशत कायम गर्दा पनि नेपाललाई फाइदा नै हुनेछ,’ नेपालले भने, ‘सरकारले चाह्यो भने नेपालले अमेरिकाको कर नीतिबाट ‘क्यास’ गर्न (आफूलाई आवश्यकताअनुसारको लाभ लिन) सक्छ । यसबाट निर्यात बजारमा नेपालले महत्त्वपूर्ण सफलता हासिल गर्न सकिन्छ ।’
पाण्डेले भारतका साथै बंगलादेश र भियतनामका उद्योगी र लगानीकर्ता पनि पछिल्लो समयमा नेपाल धाइरहेको जानकारी दिए । अमेरिकी चर्को भन्सार शुल्कका कारण भारत, बंगलादेशको निर्यात बजार प्रभावित हुने भएपछि नेपाली तयारी पोशाक र गलैंचा उद्योगीहरुले उद्योगको स्तरोन्नती गर्न थालेका छन् ।
‘भारतसहितका अन्य मुलुकका उद्योगीहरु नेपालमा लगानी भित्र्याउने छलफल गर्न आइरहँदा अमेरिकी खरिदकर्ताबाट थप मागसमेत आइरहेको छ, त्यो मागअनुसार उत्पादन क्षमता वृद्धि गर्न स्वदेशी उद्योगीहरुले आफ्नो उद्योगको आफैं स्तरोन्नती गर्न सुरु गरिसकेका छौं,’ पाण्डेले भने,‘यो क्रममा हामी केही उद्योगीले आ-आफ्नो उद्योगको क्षमता विस्तार गर्न प्लान्टको क्षमता विस्तार गरेका छौं भने श्रमिकहरुलाई पनि अत्याधुनिक तालिम उपलब्ध गराउन सुरु गरिसकेका छौं ।’ उनका अनुसार स्वदेशी उद्योगीहरुले पछिल्लो समयमा कामदारसमेत थप गरेका छन् ।
नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङले पछिल्लो समयमा गलैंचा उत्पादनतर्फ भारतीय उद्योगी र खरिदकर्ता सोधखोज गर्न नेपाल आइरहेको बतार् । उनीहरु नेपाली गलैंचा उद्योगलाई सोझै अर्डर दिएर नेपाली ट्यागमा गुणस्तरीय गलैंचा उत्पादन गर्न र नेपालको उद्योगमा लगानी साझेदारको रुपमा छलफल गरिरहेको गुरुङले जानकारी दिए ।
‘तर यस्ता विषयमा टुङगो भने लागिसकेको छैन, अमेरिकन अदालतले ट्रम्पले लगाएको ट्यारिफ खारेज गरेको भन्ने विषय पनि आइरहेको छ, साथै यो ट्यारिफ लामो समयसम्म रहने हो वा हट्ने हो भन्ने द्विविधाका कारण भारतीय उद्योगी र खरिदकर्ता पनि संशयमा छन्,’ गुरुङले भने, ‘केही सातापछि यो विषय टुङगोमा पुग्छ ।’
उनका अनुसार गलैंचाको निर्यातमा पहिलेदेखि नै अमेरिकाले ८ प्रतिशत कर लगाएको थियो । पछिल्लो समयमा भारतका लागि थप ५० प्रतिशत गरी ५८ प्रतिशत पुर्याएको छ ।
यता, दक्षिण एशियामै नेपालमा श्रम खर्च महँगो छ । श्रम खर्च र ढुवानी खर्च गरी नेपालमा लागत खर्च ३० प्रतिशत छ ।
‘यो खर्च जोड्दा पनि भारतको तुलनामा नेपालमा उत्पादन हुने गलैंचा निक्कै सस्तो मूल्यमा अमेरिका निर्यात गर्न सकिन्छ, भारतबाट बर्सेनी ३ खर्ब रुपैयाँबराबरको गलैंचा मात्रै अमेरिकामा निर्यात हुन्छ, भारतीयले नेपालमा लगानी गरेको अवस्थामा नेपालले पनि अमेरिकी गलैंचा बजारमा ठूलो हिस्सा ओगट्न सक्छ ।’
नेपालमा उत्पादन हुने गलैंचामध्ये अधिकांश अमेरिका निर्यात हुँदै आएको छ । गत आर्थिक वर्षमा नेपालबाट अमेरिकामा ५ अर्ब ६९ करोड रुपैयाँबराबरको ३ लाख १४ हजार ७ सय ६४ वर्गमिटर गलैंचा निर्यात भएको थियो । नेपालमा २ सयको हाराहारीमा गलैंचा उद्योग सञ्चालनमा छन् ।
यस्तै ९ अर्ब रुपैयाँबराबरको तयारी पोशाक अमेरिका निर्यात भएको थियो । तयारी पोशाकसम्बन्धी उद्योग नेपालमा ५ सयको हाराहारीमा छन् । यसमध्ये अधिकांश काठमाडौंमा छन् भने केही विराटनगर, बीरगञ्ज, बुटबल, भैरहवा, इटहरी, बिर्तामोडलगायतका स्थानमा छन् ।
नेपालबाट अमेरिकामा मुख्य गरी गलैंचा, कुकुरले खाने छुर्पी, फेल्ट, महिला, पुरुषले लगाउने विभिन्न प्रकारका तयारी पोशाक, उनीका पोशाक, टेक्सटायलहरु निर्यात हुँदै आएको छ ।
अमेरिका आयात हुने कूल तयारी पोशाकमध्ये ५.८ प्रतिशत र गलैंचामध्ये ८३ प्रतिशत भारतबाट हुने गरेको छ ।
यता देशकै ठूलो निर्यात उद्योगमध्येको एक रिलायन्स स्पिनिङ्ग मिलका निर्देशक तथा उद्योगी शशिकान्त अग्रवालले पनि भारत र बंगलादेशको लगानी नेपालको गार्मेन्ट तथा गलैंचा उद्योग भित्र्याउन सरकारले पहल गर्नुपर्ने बताए ।
‘ट्रम्प नीतिका कारण नेपाललाई ठूलो अवसर आएको छ, यो अवसरलाई समयमै नेपालले हासिल गर्न सकेन भने फेरी फेरी यस्तो अवसर नेपालले प्राप्त गर्न सक्दैन्,’ अग्रवालले भने, ‘भारत र बंगलादेशको लगानी नेपालको गार्मेन्ट र गलैंचा उद्योगमा भित्रिँदा नेपालको धागो उद्योगलाई पनि प्रत्यक्ष रुपमा फाइदा हुन्छ ।’
गार्मेन्ट उद्योग आउँदा त्यस्ता उद्योगलाई कच्चा पदार्थको रुपमा आवश्यक पर्ने विभिन्न प्रकारको धागो स्वदेशी उद्योगबाट आपूर्ति गर्न सकिने भन्दै उनले गार्मेन्ट उद्योगका कारण धागो उद्योगको क्षमता बढ्नुका साथै रोजगारीको थप अवसरसमेत सिर्जना हुने दाबी गरे ।
‘नेपालमा गार्मेन्ट उद्योग खुल्नु भनेको बहुक्षेत्रलाई उपलब्धि हासिल गर्नु पनि हो, गार्मेन्ट उद्योग भनेको धेरै ठूलो जनसंख्यालाई रोजगारी दिन सक्ने क्षमता भएको उद्योग हो, त्यो उद्योग आउँदा नेपालमा धागो उद्योग र सिलाई उद्योगले पनि ठूलो अवसर प्राप्त गर्न सक्छ,’ उनले भने ।
उनका अनुसार नेपालमा करिब २५ अर्ब रुपैयाँको लगानीमा ज्योति स्पीनिङ्ग, जगदम्बा स्पीनिङ्ग, त्रिवेणी स्पीनिङ्ग र रिलायन्य स्पीनिङ्ग मिल गरी ४ वटा धागो उद्योग सञ्चालनमा छन् ।
४ वटा उद्योगबाट उत्पादन हुने कूल धागोमध्ये ३० प्रतिशत स्वदेशकै बजारमा बिक्री हुन्छ भने बाँकी ७० प्रतिशत भारत र टर्कीमा निर्यात हुँदै आएको छ । गार्मेन्ट उद्योग नेपालमा भित्र्याउन पाए नेपालमै यस्तो धागो ७० प्रतिशतसम्म खपत हुन सक्ने अग्रवालको भनाइ छ ।
यस्ता गार्मेन्ट उद्योगबाट स्थानीयको मागका साथै अन्तर्राष्ट्रिय बजारअनुसार पनि तयारी पोशाक उत्पादन हुन सक्छ । यसले गर्दा स्वदेशी बजारको माग पुरा गर्दै ठूलो परिमाणमा निर्यात गरेर नेपालमा भएको व्यापार घाटाको ठूलो खाडललाई पुर्न सहयोग गर्ने अग्रवालले बताए ।
‘भारत र बंगलादेशको लगानीकर्तालाई रेड कार्पेट ओछ्याएर हामीले वेलकम गर्न सक्यौं भने कम्तिमा १० लाख जनशक्तिलाई स्वदेशमै रोजगारी दिन सक्छौं,’ अग्रवालले भने ।
यसबाहेक ठूलो परिमाणमा तयारी पोशाक र गलैंचा निर्यात गरेर नेपालले वैदेशिक मुद्रासमेत आर्जन गर्न सक्ने उनको भनाई छ ।
माओवादी द्वन्द्वअघि नेपालमा पनि तयारी पोशाक, गार्मेन्ट उद्योग र गलैचा उद्योग निक्कै फस्टाएको थियो । तर, माओवादी द्वन्द्वका कारण यस्ता उद्योग धरासायी हुन पुग्यो । नेपालपछि बंगलादेश र भारतमा सुरु भएको गार्मेन्ट तथा गलैंचा उद्योग अहिले विश्वभर ख्यातिप्राप्त छ ।
दुई दशकअघि नेपालमा १ हजार २ सयको संख्यामा कपडा गार्मेन्ट उद्योग सञ्चालनमा थिए । ६ अर्ब लगानीका ती उद्योगले ४ लाख नेपालीलाई प्रत्यक्ष रोजगारी दिएका थिए । तर, पछिल्लो समय करीब ३ दर्जन मात्र सञ्चालनमा छन् । यी पनि धरासायी अवस्थामा चलिरहेका छन् ।
‘सन् २००१/२००२ मा नेपालबाट ३८ करोड डलर मूल्य बराबरको तयारी पोशाक निर्यात हुने गर्थ्यो,’ तयारी पोशाक उत्पादक संघका अध्यक्ष पाण्डेले भने,‘पछिल्लो समय मुस्किलले ५–६ करोड डलरको मात्र निर्यात हुने गरेको छ ।’
नेपालले गार्मेन्ट उद्योगमा बाल श्रमिकको प्रयोग गरेको भन्दै अन्तर्राष्ट्रिय रुपमा आलोचना भएपछि नेपाली गार्मेन्ट धाराशायी भएका थिए । नेपालमा गार्मेन्ट उद्योगहरु बन्द भएपछि गार्मेन्टको अन्तर्राष्ट्रिय बजारमा बंगलादेश र भारतले बलियो उपस्थिति जनाएको थियो ।
बैंकरहरु भन्छन्ः लगानीका लागि व्यवसायीको इन्क्वायरी सुरु भइसक्यो
बैंकरहरु पनि नेपालका केही व्यवसायीले क्षमता विस्तारको लागि आवश्यक फाइनान्सिङ गर्नको लागि भन्दै ‘इन्क्वायरी’ (सोधपुछ) गरिरहेको बताउँछन् । विशेष गरी अमेरीकाले भारतबाट आयात हुने वस्तुमा भन्सार शुल्क बढाएसँगै त्यसको लाभ हुने विश्वासमा नेपाली व्यवसायी देखिन्छन् ।
सोही कारण ट्रम्पले लगाएको कर नीति स्थिर भएमा क्षमता बढाएर निर्यात बढाउनसक्ने भन्दै त्यसको लागि आवश्यक परेमा मेसिनरी आयात र क्षमता विस्तारको लागि आवश्यक कर्जा फास्ट ट्रयाकमा गरिदिनुपर्ने भन्दै केही व्यवसायीले सोधपुछ गरिरहेको एभरेष्ट बैंकका डेपुटी जनरल म्यानेजर केशव राज पौडेल बताउँछन् ।
एनएमबि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय पनि अनौपचारिक रुपमा भारतले कर बढाएपछि नेपाली गार्मेन्ट व्यवसायीले क्षमता बढाउँदा हुनेसक्ने लाभ र हानीको विषयमा छलफलल गरिरहेको बताउँछन् ।
‘क्षमता बढाउने मेसिनरी आयातका लागि एलसी नै खोलिहाल्ने भन्ने अवस्था देखिएको छैन । अमेरिकाले चीनसँगको भन्सार शुल्क पनि पटक पटक लगाउने र हटाउन भएकोले भारसँगको भन्सार शुल्क कतिको दिगो हुने भन्ने अवस्था रहेकोले व्यवसायिहरु दोधारमा नै छन्,’ बैंकर उपाध्यायले भने, ‘एक जुत्ता उद्योगले भने बैंकमा सोधपुछ बढाएको छ । तर, धेरै उद्योगहरु कर नीति स्थायी हुने हो कि अस्थायी मात्र हो भन्नेमा पर्ख र हेरको अवस्थामा छन् ।’
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे पनि कर नीति अस्थायी वा स्थायी हो भन्नेमा नै एकिन नभई लगानी बढाइहाल्ने अवस्था नभएको बताउँछन् । पहिलेदेखि नै युरोपमा निर्यात गरिरहेका व्यवसायीले केही क्षमता बढाउने अवस्था भए पनि कर नीति स्थायी नै हो भन्ने अवस्था नभएसम्म नयाँ लगानी आउने सम्भावना नरहेको बताउँछन् ।
‘नयाँ लगानीको लागि अहिले मेसिनरी आयात गर्दा पनि उत्पादन सुरु गर्न १ वर्षसमम लाग्नसक्छ । त्यतिबेलासम्म अमेरिकाको कर नीति यही रहन्छ कि रहँदैन भन्ने दुविधाले लगानी बढिहाल्छ भन्ने देखिँदैन,’ उनले भने ।
एरभेष्ट बैंकको डेपुटी जनरल म्यानेजर पौडेल भने नेपालमा गार्मेन्ट उद्योगको क्षमता बढाउने सन्दर्भमा केही छलफल चलेको बताउँछन् ।
नेपाल भरिया बन्न सक्ने जोखिम उतिकै
पछिल्लो ट्रम्प नीतिका कारण भारतमा तयारी पोशाक, गलैंचालगायत दर्जनौं उत्पादन अमेरिकामा निर्यात हुन नसकेर थन्किएका छन् ।
नेपाली स्थानीय तयारी पोशाक उत्पादक संघका अध्यक्ष नेपालका अनुसार यस्तो अवस्थामा भारतीय उद्योगी र निर्यातकर्ताले थन्किएका त्यस्ता सामानमा नेपालको नक्कली ट्याग हालेर अबैद्य रुपमा अमेरिका निर्यात हुन सक्ने जोखिमसमेत उत्पन्न भएको छ । यस्तो अवस्था आयो भने नेपालबाट कानूनी रुपमा अमेरिकामा निर्यात भइरहेका विभिन्न वस्तुको निर्यातमा समेत बाधा सिर्जना हुने नेपालको भनाई छ ।
यो विषयमा नेपालका तयारी पोशाक उद्योग संघ, उत्पादक संघ र गलैंचा उत्पादक संघले सरकारको ध्यानाकर्षण गराइसकेको छ भने अमेरिकी संयन्त्रले पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यो बिषयमा सहज रहन औपचारिक रुपमै जानकारी गराइसकेको स्रोतले जनाएको छ ।







प्रतिक्रिया