बंगलादेशमा अस्थिरतापछि ४७ अर्ब डलरको गार्मेन्ट र जुत्ता उद्योग नयाँ गन्तब्य खोज्दै, नेपालले भित्र्याउन सक्छ ?



काठमाडौं । पछिल्लो ७ महिनादेखिको राजनीतिक अस्थिरताका कारण बंगलादेशका तयारी पोशाक र जुत्ता सम्बन्धी केही उद्योगहरु नेपालसहित अन्य मुलुकमा सिफ्ट हुन खोज्दैछन् ।

जनवरीदेखि बंगलादेशमा जारी राजनीतिक संकट, हिंसा र आन्दोलनका कारण समयमा उत्पादन र सामान डेलिभरी गर्न ठूलो समस्या आइपरेकाले उनीहरुले नेपालसहित विभिन्न मुलुकमा उद्योग सिफ्ट गर्न खोजेका हुन् । उद्योग सिफ्ट गर्ने बिषयमै उनीहरु औपचारिक रुपमा छलफलको लागि नेपाल तयारी पोशाक उद्योग संघको सम्पर्कमा समेत आइपुगेका छन् ।

‘पछिल्लो करिब १ महिनादेखि बंगलादेशको तयारी पोशाकमा ठूलो लगानी गरेका लगानीकर्ताहरु नेपालमा उद्योगको केही अंश सिफ्ट गर्न सकिन्छ भनेर जिज्ञासा राखेर सम्पर्कमा आइरहेका छन्,’ संघका अध्यक्ष पशुपतिदेव पाण्डेले क्लिकमाण्डुसँग भने, ‘बंगलादेशको तयारी पोशाक र जुत्ता उद्योगसम्बन्धी आधिकारिक संस्थाको पदाधिकारी बजारसहितको वैदेशिक लगानीसहित नेपालमा सिफ्ट हुन सकिन्छ कि भनेर चासो राखेर पछिल्लो समयमा नेपाल आएर संघका पदाधिकारीसँग छलफल गरिरहेका छन् ।’

पाण्डेका अनुसार बंगलादेशमा रहेका तयारी पोशाक र जुत्तासम्बन्धीलाई उद्योगलाई अहिले आन्तरिक अशान्तिका कारण उत्पादन गर्न र निर्यात गर्ने मुलुकमा डेलिभरी गर्न ठूलो समस्या परेको छ । मागअनुसार समयमा उत्पादन र डेलिभरी गर्न समस्या हुँदा बजार हिस्सा गुम्ने डरले बंगलादेशी उद्योगहरु नेपालसहित, भारत, भियतनाम र कम्बोडियामा सिफ्ट हुन खोजेका हुन् ।

बंगलादेशमा भएका उद्योगमा भएको प्लान्टमध्ये केही प्लान्टसहित नेपाल वा अन्य मुलुकमा सिफ्ट हुने बिषयमा उनीहरु चासो देखाएका हुन् । यसले गर्दा बंगलादेशमा आन्तरिक वातावरण राम्रो हुँदा उता पनि उत्पादन गर्ने र केहि असहज वातावरण सिर्जना भए अन्य मुलुकबाट उत्पादन गरि उत्पादित सामग्री निर्यात गर्ने उद्देश्य उनीहरुको रहेको पाण्डेले बताए ।

बंगलादेशमा हाल सञ्चालनमा रहेका तयारी पोशाक र जुत्ताको उद्योगमा करिब २५ प्रतिशत भारतीय लगानीकर्ता छन् भने केही चिनियाँ लगानीकर्ता छन् ।

बंगलादेशमा रहेका विदेशी लगानीकर्ताहरु विशेषगरी तयारी पोशाक र जुत्तासम्बन्धी उद्योगहरु आफ्ना प्लान्टका केही हिस्सासहित सिफ्ट गर्न खोजेका छन् । त्यसैक्रममा बंगलादेशमा उत्पादन गर्न समस्या भएकाले केही उद्योगीहरु नेपालको उद्योगलाई आफ्नो अर्डरअनुसार तयारी पोशाक तयार पारिदिन अर्डर समेत दिन पनि सम्पर्कमा आएका छन् ।

चीनमा कामदारवापत लाग्ने खर्च निक्कै महँगो भएकाले उनीहरुको प्राथमिकतामा चीन नपरेको बताउँदै अहिलेसम्म करिब ६ वटा बंगलादेशी उद्योगीहरु संघको सम्पर्कमा आएका छन् । यसमध्ये अधिकांश चिनियाँ लगानीकर्ता छन् । बंगलादेशमा चिनियाँ लगानीमा सञ्चालित उद्योगका लगानीकर्ता संघको सम्पर्कमा आएको पाण्डेले बताए ।

‘उनीहरुले बंगलादेशले कच्चा पदार्थ, उत्पादन र निर्यातसम्ममा उपलब्ध गराएको सुविधाजस्तै नेपालमा पनि केहि सुविधा पाइन्छ र नीति निर्यातमुखि छ कि छैन भनेर जिज्ञासा राखेका छन्,’ पाण्डेले भने, ‘हामीले उनीहरुलाई बंगलादेशको नीतिहरु के कस्ता छन्, कुन कुन तहमा राज्यले कसरी सुविधा उपलब्ध गराएको छ लगायतको बारेमा आवश्यक जानकारीसहितको पत्र पठाउन आग्रह गरेका छौं ।’

उनीहरुले पठाउने पत्रको आधारमा सरकारसँग आधिकारिकरुपमा छलफल अघि बढाइने पनि पाण्डेले जानकारी दिए । बंगलादेशको उद्योग आउँदा नेपालको तयारी पोशाक उद्योग र बजारलाई हानी नोक्सानी नहुने भन्दै पाण्डेले उनीहरुले उत्पादन गर्ने सम्पूर्ण हिस्सा निर्यात मात्रै गर्ने बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर बंगलादेशी उद्योगीहरु नेपालमा लगानी लगाउन चासो देखाएको बिषयमा आफूले जानकारी गराइसकेको जानकारी दिँदै उनले भने, ‘तर हाम्रो सरकार र कर्मचारी संयन्त्रले यो बिषयमा कुनै चासो नै देखाएका छैनन् ।’

भारत सरकारले बंगलादेशको उद्योग भारतमा सिफ्ट हुन लागेको चर्चा लगेसँगै उनीहरुलाई स्वागत गरेको छ । उद्योग सञ्चालन गर्न आवश्यक पर्ने सेवा सुविधाका साथै आवश्यक नीतिमा पनि सुधार गर्ने भनेर भारत सरकार गृहकार्यमा जुटिसकेको छ ।

बंगलादेशको एउटा तयारी पोशाक उद्योगमा कम्तिमा ५ हजारको संख्यामा कामदार प्रत्यक्ष रुपमा काम गर्दैआएका छन् । नेपालमा यस्ता उद्योग आउने हो भने नेपालकै जनशक्तिले रोजगारी पाउन सक्ने अवसर सिर्जना हुने भएकाले मुलुकको लागि ठूलो उपलब्धी हुने संघको भनाइ छ । यसबाहेक ठूलो परिमाणमा तयारी पोशाक निर्यात गरेर नेपालले वैदेशिक मुद्रासमेत आर्जन गर्न सक्छ ।

बंगलादेशका उद्योगमा करिब २५ प्रतिशत भारतीय लगानीकर्ता छन् भने केही चिनियाँ लगानीकर्ता छन् । ‘उनीहरु सम्पर्कमा आएपनि हाम्रोमा त्यस्ता उद्योग ल्याउन धेरै समस्या छ । हाम्रो र बंगलादेशको निर्यात नीति ठिक उल्टो छ । हाम्रोमा निर्यात नीति नमिलेका कारण त्यस्ता उद्योगलाई सिफ्ट हुन कठिनाइ छ । बंगलादेशले निर्यातमा स्वचालित अनुदान उपलब्ध गराएको छ,’ पाण्डेले भने ।

माओवादी द्वन्द्वअघि नेपालमा पनि तयारी पोशाक र गार्मेन्ट उद्योग फस्टाएको थियो । तर, माओवादी द्वन्द्वका कारण गार्मेन्ट उद्योग धरासायी भए । नेपालपछि बंगलादेशमा सुरु भएको गार्मेन्ट उद्योग अहिले विश्वभर ख्यातिप्राप्त गरेको छ । बंगलादेशबाट सिफ्ट हुन लागेका व्यवसायीलाई आकर्षित गर्न सके नेपाललाई ठूलो लाभ मिल्ने देखिन्छ ।

दुई दशकअघि नेपालमा १२०० वटा कपडा गार्मेन्ट उद्योग सञ्चालनमा थिए । ६ अर्ब लगानीका ती उद्योगले ४ लाख नेपालीलाई प्रत्यक्ष रोजगारी दिएका थिए । तर, पछिल्लो समय करीब ३ दर्जन मात्र सञ्चालनमा रहेका छन् । यी पनि धरासायी अवस्थामा चलिरहेका छन् ।

‘सन् २००१/२००२ मा नेपालबाट ३८ करोड डलर मूल्य बराबरको तयारी पोशाक निर्यात हुने गर्थ्यो । पछिल्लो समय मुस्किलले ५/६ करोड डलरको मात्र निर्यात हुने गरेको छ ।’

सरकारले लिएको नीतिका कारण नेपाली गार्मेट उद्योगको विकास हुन नसकेको उद्योगीहरु बताउँछन् । विगतमा विदेशी व्यवसायीहरुले नेपालमा गार्मेट उद्योगका क्षेत्रमा लगानी गर्न इच्छा देखाएपनि पछि नेपाल सरकारको नीतिले उपयुक्त स्थान नदिएकाले उनीहरु फर्किनु परेको थियो ।

बंगलादेशमा उत्पादन हुने तयारी पोशाकको मुख्य खरिदकर्ता अमेरिका, बेलायत र युरोपीय मुलुक हुन् । उनीहरुको एउटा उद्योगबाट एक बर्षमै ४ अर्ब रुपैयाँबराबरको गार्मेन्ट उत्पादन हुन्छ । सन् २०२३ मा बंगलादेशले ६२ खर्ब ९१ अर्ब नेपाली रुपैयाँबराबरको तयारी पोशाक विभिन्न मुलुकमा निर्यात गरेको थियो । बंगलादेशले आर्जन गर्ने कूल वैदेशिक मुद्रामध्ये ८५ प्रतिशत तयारी पोशाकबाट आर्जन गर्दै आएको छ ।


राजेश बर्मा