
विराटनगर । बेलायतको युनिभर्सिटी अफ लेस्टरबाट इन्टरनेशनल रिलेसन एण्ड हिस्ट्री विषयमा स्नातक गरेकी २५ वर्षीया अश्विनी गोल्छा पाँच वर्षदेखि आफूभन्दा ५७ वर्ष जेठो उद्योग रघुपति जुट मिल्स सञ्चालन गर्दै आएकी छिन् ।
उद्योगले यसबेला २५ सयलाई प्रत्यक्ष रोजगारी दिँदै वार्षिक सरदर अढाई अर्ब मूल्यबराबरका जुटका तयारी वस्तु उत्पादन गरेर भारत निर्यात गर्दै आएको छ ।
अश्विनी औद्योगिक घराना गोल्छा परिवारकी चौथो पुस्ता हुन् । उनले सञ्चालन गर्दै आएको यो उद्योग उनका कुप्रा हजुरबा रामलाल गोल्छाको सक्रियतामा २००३ सालमा स्थापना भएको इतिहास छ । विस १९९३ मा मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल स्थापनापछि खुलेको रघुपति मुलुकको दोस्रो उद्योग मानिन्छ।
मुलुकको पहिलो औद्योगिक क्षेत्र सुनसरी–मोरङ करिडोरको झन्डै ९ दशक लामो इतिहासमा कैयौं उद्योग खुले अनि बन्द पनि भए । अहिले पनि यहाँ उद्योग खुल्ने र बन्द हुने चक्र जारी छ । करिडोरमा यसबेला साना–ठूला गरेर ६ सयभन्दा बढी उद्योग सञ्चालनमा छन् ।
तीमध्ये रघुपति जुट मिल्स करिडोरमा स्थापना भएदेखि अहिलेसम्म सञ्चालनमा रहेको एक्लो उद्योग हो । जसले चार वर्षअघि हीरक जयन्ती मनाएर यस औद्योगिक करिडोरमा इतिहास रचेको छ । यो उद्योगमा सरकारको ३३ प्रतिशत स्वामित्व छ । गोल्छा अर्गनाइजेशनको अरिहन्त मल्टिफाइबरको ६५ प्रतिशत र बाँकी उद्योगका मजदुर–कामदारको स्वामित्व छ ।
त्यतिमात्र होइन, ७९ वर्ष पुरानो रघुपति जुट मिल्सले यस औद्योगिक करिडोरमा अर्को पनि इतिहास बनाएको छ । त्यो हो- यसका सञ्चालक र कामदार दुवै यसबेला चौथो पुस्ताका छन् । यो करिडोरमा स्थापना भएका अन्य कुनै पनि उद्योगमा सञ्चालक र कामदार चौथो पुस्ताका छैनन् ।
विस १९९३ सालमा तत्कालीन जुट व्यवसायी तथा अश्विनीका कुप्राहजुरबा रामलाल गोल्छाको पहलमा विराटनगर जुट मिल स्थापना भएपछि मुलुकमा औद्योगिकीकरणको सुरुवात भएको इतिहास छ । रामलालकै पहलमा २००३ सालमा स्थापना भएको रघुपति जुट मिल्स अहिले उनकी पनातिनी अश्विनी गोल्छाले सञ्चालन गर्दै गोल्छा परिवारको विरासत धान्दै आएकी छिन् ।
पाँच वर्षदेखि २५ वर्षीया अश्विनीले आफूभन्दा ५७ वर्ष जेठो उद्योग सञ्चालन गर्दै आएकी छिन् । स्थापना कालमा यो उद्योग रामलाल गोल्छाले सञ्चालन गरेका थिए । उनी पछि छोरा हंशराजले चलाए । त्यसपछि हंशराजका छोरा राजकुमारले अनि अहिले अश्विनीले। उनी राजकुमारकी छोरी हुन्।
‘गोल्छा परिवारको रगतमै उद्योग र व्यवसायको जिन छ,’ अश्विनीले क्लिकमान्डुसँग भनिन्, ‘मेरो पढाइ र वास्तविक जीवनमा फरक छ । मलाई सानैदेखि उद्योग सञ्चालन गर्ने र इन्टरनेशनल रिलेसन एण्ड हिस्ट्री पढ्ने इच्छा थियो। अहिले दुवै इच्छा पूरा भएको छ।’

परिवार नै व्यवसायमा होमिएकाले आफू टाँढा हुन नसकेको उनको भनाइ छ ।
‘परिवार नै उद्योग र व्यवसायमा होमिँदै आएको छ । म पनि उद्योग–व्यवसायभन्दा टाढा रहन सकिनँ । त्यसैले कुप्रा हजुरबा रामलाल, हजुरबा हंशराज र बुबा राजकुमारले सञ्चालन गरिसकेको मुलुककै जेठामध्येको उद्योग सञ्चालन गर्दै आएकी छु’ उनले भनिन् ।
गोल्छा परिवारको परम्परालाई निरन्तरता दिन पाउँदा आफू उत्साहित भएको उनको भनाइ छ।
त्यसो त अश्विनी गोल्छा परिवारको चौथो पुस्ताका रूपमा उद्योग सञ्चालन गर्ने र परिवारको परम्परा धान्ने एक्लो महिला भने होइनन् । राजकुमारका तीन छोरीमध्ये अश्विनी कान्छी हुन् । उनकी जेठी दिदी एकता आईटी क्षेत्रमा छिन् । उनले डेल्टा टेक स्थापना गरेकी छन् । माहिली कोमल अरिहन्त मल्टिफाइबरको नेतृत्व गरिरहेकी छिन् । त्यस्तै, राजकुमारका दाजु महेन्द्र गोल्छाकी छोरी युक्तीले करिब ८ अर्बको लगानीमा सञ्चालित हुलास वायर उद्योग हाँकिरहेकी छन् ।
सुरुवाती केही वर्ष उद्योगका बारेमा बुझ्न समय लागे पनि अब समस्या नभएको उनी बताउँछिन् ।
‘अब परफेक्ट भइसकेँ,’ अश्विनीले आफ्नो औद्योगिक अनुभव सुनाउँदै भनिन्, ‘उद्योग सञ्चालन गर्न जोखिम र चुनौती दुवै छ, तर सन्तुष्टि पनि छ । राज्यले सहयोग गर्ने हो भने नेपालमा उत्पादन भएका जुटका तयारी सामान भारत मात्र नभई तेस्रो मुलुक पनि निर्यात गर्न सकिन्छ।’ अहिले नेपाली जुटका तयारी सामग्रीको मुख्य बजार भारत हो ।
तेस्रो मुलुक निर्यातको सुरुवात स्वरूप रघुपति जुट मिल्स र अरिहन्त मल्टिफाइबरले अफ्रिका र स्लोभाकियामा नेपाली तयारी जुटका सामग्री कोको ब्याग, सपिङ ब्याग, स्याकिङ, होसियन, जिओ टेक्सटाइललगायतका प्रिमियम उत्पादन एक चरण निर्यात गरिसकेको छ । ‘सेप्टेम्बरमा बेलायतमा र नोभेम्बरमा दुबईमा हुने एक्स्पोमा नेपाली जुटका तयारी वस्तुको प्रदर्शनी गरेर निर्यात गर्ने लक्ष्य राखेकी छु,’ उनले भनिन् ।
उद्योगका लागि चाहिने मजदुरको अभाव छ । भारतले दशकदेखि लगाउँदै आएको एन्टि–डम्पिङ शुल्कले भारतीय बजारमा प्रतिस्पर्धा गर्न नेपाली उद्योगलाई चुनौती छ। स्वदेशमा कच्चा जुट उपलब्ध नभएकाले भारत र बंगलादेशबाट कच्चा जुट आयात गरेर तयारी वस्तु भारत निर्यात गर्नुपर्ने बाध्यता छ । अश्विनीका अनुसार भारत र बंगलादेशको तुलनामा नेपालमा मजदुर महँगो हुँदा उत्पादन लागत बढी पर्छ, जसले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न चुनौती छ।
सरकारले दिने भनेको निर्यात अनुदान पनि दुई वर्षदेखि उद्योगले पाएको छैन ।
भारतमा सरकारले जुट उद्योगलाई टिकाउनकै लागि ५० प्रतिशतसम्म अनुदान दिँदै आएको छ । भारतमा मेसिनरी सामानमा सरकारले ५० प्रतिशत अनुदान दिन्छ। उत्पादित सामान सरकारले नै उचित मूल्यमा खरिद गरिदिन्छ ।

‘नेपालमा केही पनि सहुलियत छैन । उद्योगलाई आधुनिक रूपमा सञ्चालन गरेर उत्पादित सामग्री भारतसहित तेस्रो मुलुकमा निर्यात गर्ने लक्ष्य छ । तर सरकारको असहयोग, भारतको एन्टि–डम्पिङ शुल्क र जनशक्ति अभावका कारण महँगो उत्पादन लागत मेरो उद्देश्यको तगारो बन्दै आएको छ,’ उनले भनिन् ।
यो उद्योग गोल्छा परिवारका चार पुस्ताले सञ्चालन गर्दा उद्योगमा मजदुर पनि तीन/चार पुस्ताका छन् । उद्योगमा महमद अजाद मियाँ, जयप्रकाश हलुवाई र वाइस मियाँलगायतका दर्जन बढी परिवारका तेस्रो र चौथो पुस्ता काम गर्दै आएको मिलको अभिलेख छ ।
मिलले चार दशकदेखि लगातार काम गर्दै आएका लक्ष्मण चौधरी, मदन राम र हरिकुमार मानन्धरलाई हीरक जयन्तीका अवसरमा ताम्रपत्र र नगदसहित सम्मान गरेको थियो ।
यो उद्योग मिल्स एरिया र आसपासका अधिकांश परिवारका लागि वैदेशिक रोजगारीका लागि खाडी मुलुक सरह हो । उद्योगका प्रशासन विभाग प्रमुख श्यामकुमार आचार्यका अनुसार आसपासका तीन दर्जनभन्दा बढी परिवारका प्रायः सबै सदस्य यो उद्योगमा कार्यरत छन् ।
रघुपति जुट मिल्स मुलुकको दोस्रो जेठो मिल हो । विस १९९३ मा मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल स्थापना भएको थियो । सरकारी स्वामित्वको त्यो मिल डेढ दशकदेखि पूर्ण रूपमा बन्द छ । रघुपति २००३ सालमा तत्कालीन जुट व्यवसायी रामलाल गोल्छालगायतको पहलमा रघुपति जुट मिल्स लिमिटेडका नाममा स्थापना भएको उद्योग हो ।
२०३५ सालसम्म सेयर सदस्यले सञ्चालन गरेको यो मिल २०३६ सालमा सरकारले सेयर खरिद गरेर सञ्चालन गरेको थियो । सरकारले चलाउँदा राजनीतिक हस्तक्षेपका कारण पटक–पटक बन्द भएपछि २०५३ सालमा सरकारले यो मिललाई निजीकरण गरेपछि गोल्छा अर्गनाइजेशनको अरिहन्त मल्टिफाइबरले सञ्चालन गर्दै आएको छ । अरिहन्त अश्विनीकी दिदी कोमलले हेर्दै आएकी छिन् ।

विराटनगर–१७ सीमा क्षेत्रमा रहेको यो मिलको ६५ प्रतिशत सेयर अरिहन्तको नाममा छ । ३३.६३ प्रतिशत सरकारको नाममा र १.३७ प्रतिशत सेयर मिलका कर्मचारी तथा सर्वसाधारणको नाममा रहेको छ ।
मिलले यसबेला २५ सय मजदुरलाई रोजगारी दिएर वार्षिक सरदर २ अर्ब ५३ करोड मूल्यका जुटका तयारी वस्तु भारत निर्यात गर्दै आएको सञ्चालक अश्विनीले बताइन् । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सन् २०२२ मा २ अर्ब ५८ करोड, सन् २०२३ मा २ अर्ब ५२ करोड, सन् २०२४ मा २ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो । गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब १३ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले १ अर्ब ९ करोड ऋण ऋणको रेटिङ गराएको छ। ऋणमा चालु पुँजी कर्जाको हिस्सा ५३ प्रतिशत छ ।
विस १९९३ मा विराटनगर जुट मिल स्थापना भएपछि सुनसरी र मोरङमा ११ वटा जुट उद्योग स्थापना भएका थिए । हाल तीमध्ये ६ वटा उद्योग मात्र सञ्चालनमा छन्।
विराटनगर जुट मिल खुलेपछि यस क्षेत्रमा रघुपति जुट मिल्स, हुलास मेटल, अशोक टेक्सटाइल, गणपति कटन मिल, मोरङ सुगर मिल, जुद्ध म्याच, साह उद्योगलगायतका दर्जन बढी उद्योग खुलेपछि यो स्थानको नाम नै ‘मिल्स एरिया’ मा परिणत भएको थियो । ती उद्योगमध्ये यसबेला रघुपति जुट मिल्स मात्र अस्तित्वमा छ। यही उद्योग यहाँ स्थापना भएपछि विस १९९४ मा यहाँ नेपाल बैंक स्थापना भएको कथा छ।
यहाँका जुट उद्योगले भारत र बंगलादेशबाट ७० प्रतिशत कच्चा जुट आयात गरेर तयारी वस्तु भारत निर्यात गर्दै आएका छन् । सञ्चालनमा रहेका रघुपति, अरिहन्त, बावा, स्वस्तिक, नेपाल जुट र चन्द्रशिव जुट उद्योगले गतवर्ष करिब ३ अर्बको कच्चा जुट आयात गरी ८ अर्ब ५० करोड मूल्यका तयारी वस्तु भारत निर्यात गरेको तथ्यांक छ। यहाँका जुट मिलमा १५ हजारले रोजगारी पाएका छन् ।







प्रतिक्रिया