शेखरले पूरा गरे दशकौं अघि गोल्छा परिवारले देखेको सपना



काठमाडौं । २०५० सालमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको निर्वाचन लड्ने तयारी हुलासचन्द गोल्छाले थालेका थिए ।

बुवालाई अध्यक्ष बनाउने रणनीतिमा छोरा युवा शेखर गोल्छासँगै हिँडेका थिए । चुनावी तयारी तीव्ररुपमा चल्दै थियो । उनीहरु निर्वाचनको क्रममा देशव्यापी प्रचारप्रसारमा हिँडेका थिए ।

यसैक्रममा हेटौडामा पुग्दा हुलासचन्द गोल्छा अस्वस्थ भए । मध्यरातमा अचानक बिरामी भएपछि उनलाई भोलिपल्ट बिहान हेलिकप्टरबाट काठमाडौं ल्याइयो र थप उपचारका लागि अमेरिका लगियो ।

हुलासचन्द गोल्छाले आफू बिरामी भएपछि अध्यक्षको प्रतिस्पर्धाबाट बाहिरिए । फलस्वरुप २०५० सालमा बिनोद चौधरी महासंघको अध्यक्षमा निर्विरोध चुनिए ।

त्यसको १४ वर्षपछि गोल्छा परिवारबाट दिवाकर गोल्छा महासंघको अध्यक्ष बन्ने लाइनमा थिए ।

तर, त्यो बेला अध्यक्ष रहेका चण्डिराज ढकालले पुनः अध्यक्षको प्रतिस्पर्धामा उत्रिने निर्णय गरेपछि त्यो बेला प्रथम उपाध्यक्ष रहेका दिवाकार गोल्छाले अध्यक्षको प्रतिस्पर्धा नलड्ने निर्णय लिए ।

गोल्छा परिवारको समर्थनमा कुशकुमार जोशी अध्यक्षमा प्रतिस्पर्धा गरे । र, जोशीले निर्वाचन जिते ।

महासंघको पहिलो तदर्थ समितिमा शेखरका बुबा हुलासचन्द बसेर काम गरेका थिए । महासंघको विधान बनाउन हुलासचन्दको भूमिका खेलेको शेखर बताउँछन् ।

हुलासचन्द्रपछि महासंघको नेतृत्वमा आउने चाहना दिवाकर गोल्छा र महेन्द्र गोल्छाले खोजेका थिए । तर त्यो सपना पनि पूरा भएन ।

नेपालको पुरानो व्यवसायिक घराना गोल्छा परिवारले महासंघको अध्यक्ष पाउनका लागि लामो समय कुर्नुपर्यो ।

दिवाकर गोल्छा महासंघबाट बाहिरिएको वर्ष शेखर गोल्छा महासंघमा कार्यकारिणी सदस्यमा चुनिएका थिए । एसोसियट उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै शेखर गोल्छा ५४ वर्ष पुरानो र निजी क्षेत्रको सबैभन्दा ठूलो संस्थाको अध्यक्ष बनेका छन् ।

२६ वर्ष अगाडि बुवा र १३ वर्ष अगाडि दाई दिवाकर अध्यक्ष बन्न नसकेको गोल्छा परिवारको सपना शेखरले पूरा गरेका छन् ।

व्यवसायिकरुपमा सफल र पुरानो घरानाका गोल्छा अर्गनाइजेशनका शेखरले यो सपना पूरा गर्न निकै नै कठिन नै भयो ।

कोभिड-१९ को संकट नभएको भए गतवर्षको चैतदेखि नै शेखर अध्यक्ष बनिसकेका हुन्थे ।

२०७३ सालको चैतमा शेखरले विधानअनुसार भावी अध्यक्षको रुपमा वरिष्ठ उपाध्यक्षको निर्वाचन जितेका थिए ।

गोल्छा २०७३ चैतमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुँदा, साथमा तत्कालीन अध्यक्ष भवानी राणा र पूर्वअध्यक्ष चण्डीराज ढकालः फाइल तस्बीर

महासंघको विधान संसोधन गरेर २०७३ सालदेखि बरिष्ठ उपाध्यक्ष भवानी राणा अध्यक्ष बनेकी थिइन् भने ३ वर्षपछि अध्यक्ष बन्ने गरेर शेखरले वरिष्ठ उपाध्यक्षको निर्वाचन जितेका थिए ।

वरिष्ठ उपाध्यक्षको चुनाव जितेर अध्यक्षलाई सहयोग गर्दै भावी नेतृत्वका लागि तयार हुनुपर्ने शेखरलाई समयले अर्को चुनौती थपेको थियो ।

महासंघको निर्वाचन जितेको ६ महिना नहुँदै विधान संशोधनको खेल भयो । जुन खेल शेखरलाई वरिष्ठ उपाध्यक्षको निर्वाचन जिताउन लागेका महासंघको राजनीतिका खेलाडी चण्डीराज ढकालले गरेका थिए ।

२०६४ सालमा चण्डीराज ढकालले पुनः अध्यक्षमा दोहरिन खोजेपछि महासंघमा गुट बढ्यो भने पुरानो व्यवसायिक घरानाका दिवाकार गोल्छा अध्यक्ष बन्नबाट रोकिए ।

‘आफ्नो परिवारले मन्दिरजस्तो मानेको महासंघको नेतृत्वमा गोल्छा परिवारलाई आउन नदिने षड्यन्त्र नै खेलेको जस्तो अनुभूति भएको थियो,’ गोल्छाले साढे २ वर्षको पीडा सम्झदै क्लिकमाण्डूँग भने, ‘निर्वाचन जितेपछि मलाई रोक्ने मात्र खेल खेलियो, मेरो टाउकोमा विधान संधोनको तरबार झुन्ड्याएर चरम मानसिक पीडा दिइयो ।’

गोल्छा साढे २ वर्षसम्म फोन र म्यासेज आउँदा पनि आफू झसंङ्ग हुने गरेको बताउँछन् । आफूलाई भएको प्रहार र गोल्छा परिवारलाई निषेध गर्न खोजिएको अनुभूति पटकपटक भएको उनको भनाइ छ ।

गोल्छा-चौधरी इगोको लडाइँ र महासंघ फुटाउने त्यो चुनाव…

तर महासंघको अध्यक्षमा गोल्छालाई आउन नदिने चण्डीराज ढकालको नीति सफल भएन । अर्थात् चण्डीराज ढकालले चाहे अनुसारको विधान संशोधन भएन । विधानअनुसार गोल्छा महासंघको अध्यक्षको कुर्सीमा विराजमान भए ।

देशकै ठूला र पूरानामध्येको एक प्रमुख व्यापारिक घराना गोल्छा अर्गनाइजेशनबाट एक जनालाई महासंघको अध्यक्ष बनाउने आफूहरुको तीन दशकअघिको सपना बल्ल साकार भएको महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ बताउँछन् ।

‘हामीले हुलासबाबुकै पालादेखि गोल्छा अर्गनाइजेशनका प्रतिनिधिलाई महासंघको अध्यक्ष बनाउनुपर्छ भनेर लागेका थियौं तर अहिलेसम्म संभव भएको थिएन,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘गोल्छा अर्गनाइजेशनको मात्रै होइन, समग्र व्यावसायिक जगतको तीन दशकदेखिको सपना आज आएर पूरा भएको छ ।’

शनिबार दिउसो निर्वाचनमा उपस्थित भएकी सीमा गोल्छा निकै खुसी र उत्साहित देखिन्थिन् । किनभने निर्वाचन र सम्पन्न भएपछि शेखर महासंघको स्वत अध्यक्ष बन्दै थिए ।

गोल्छा परिवारकै सपना आफ्ना पतिले पूरा गर्न लाग्दा सीमा खुसीले गदगद नहुने कुरै थिएन ।

महासंघको विधान अनुसार बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसहित नयाँ कार्यसमिति आएको छ । जसको नेतृत्व शेखर गोल्छाले २०७९ चैतसम्म गर्ने छन् ।

३ वर्षको कार्यकालका लागि अध्यक्ष हुनुपर्ने व्यवस्था भएपनि कोभिड १९ को कारण गोल्छाको कार्यकाल ७ महिना कम हुनेछ ।

शेखरले करिब साढे २ वर्ष महासंघलाई अगाडि बढाएर लैजानुपर्ने छ । कोभिड १९ को संकटको कारण नेपालमा व्यवसाय पूर्णरुपमा प्रभावित छ ।

साना तथा मझौला व्यवसाय उठ्न नसक्ने गरेर धरासायी भएको छ । त्यो व्यवसाय उठाउनका लागि सरकारसँग गर्नुपर्ने लबिङमा महासंघ पछिल्लो समय निकै नै कमजोर बनेको छ । महासंघको भूमिका आर्थिक विषयको लविङ गर्नुपर्ने छ ।

गोल्छा २०७३ चैतमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनासाथ पत्नी सारिकासँग खुसी साट्दैः फाइल तस्बीर

निजी क्षेत्रको ठूलो संगठन भएपनि महासंघको निर्वाचनको कारण तल्लो तहसम्म गुट निकै बढेको छ । त्यसलाई न्यूनिकरण गर्दै गोल्छाले महासंघलाई अगाडि बढाउनुपर्ने चुनौती छ ।

महासंघमा भएका आर्थिक क्रियाकलापहरु पारदर्शी नभएको भन्दै तत्कालिन कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले उठाएको विषय संवेदनशील भएपनि निर्वाचनको कारण त्यो ओझेलमा परेको छ । जसले गर्दा महासंघको छवी नै धमिलो भएको छ । यसलाई पारदर्शी बनाउने काम गोल्छाले गर्नुपर्ने छ ।

गोल्छाले आफ्नो कार्यकालमा गर्ने भिजन पेपर तयार पारेका छन् । त्यो भिजन पेपरलाई कार्यान्वयन गरेर निजी क्षेत्रको पक्षमा नीतिगत छलफल र लविङ गर्ने संस्थाको रुपमा विकास गर्नुपर्ने चुनौती गोल्छासँग छ ।

नेपाल उद्योग वाणिज्य महासंघको इतिहासमा मारवाडी समूदायबाट अध्यक्ष हुने गोल्छा तेस्रो व्यक्ति बनेका छन् । यसअघि बिनोद चौधरी, पशुपति मुरारका महासंघमा मारवाडी समूदायबाट अध्यक्ष बनेका थिए ।

गोल्छाले चुनावी अभियानका क्रममा बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई खुलेरै समर्थन गरेका थिए । तर, चण्डीराजको समर्थन पाएका चन्द्र ढकाल बरिष्ठ उपाध्यक्षमा निर्वाचित भए ।

त्यस्तै, गोल्छाले सबैभन्दा बढी चाहेका व्यक्ति हुन् सौरभ ज्योति । गोल्छा र पशुपति मुरारकाको पकडमा रहेको भनिएको एसोसियट पनि यो समूहले गुमाएको छ । चन्द्र ढकाल प्यानलका रामचन्द्र संघई एसोसियट उपाध्यक्षमा फराकिलो मतान्तरले निर्वाचित भएका छन् भने चन्द्र पनि एसोसियटकै मतले बरिष्ठ बनेका छन् ।

महासंघको कार्यकारीणी सदस्यमा गोल्छा-मुरारका समूहको बहुमत आएको छ । तर, पदाधिकारीका दुई महत्वपूर्ण पदमा चण्डीराज-चन्द्र ढकाल समूहले चुनाव जितेको छ ।

आफैंले चुनाव हराउन लागेका चन्द्र र रामचन्द्रलाई मिलाएर अघि बढ्नु गोल्छासामू अर्को चुनौति छ ।

गोल्छा-मुरारका समूहले चण्डीराजलाई स्वार्थ समूहको रुपमा परिभासित गर्दै शुद्धीकरण अभियान चलाएर यसपटकदेखि महासंघबाट चण्डीराजलाई सदाका लागि विदा गर्ने रणनीति बनाएको थियो । यो अभियान धेरै हदसम्म सफल भए पनि एसोसियट उपाध्यक्षमा कन्फर्म जित्ने भनिएका सौरभ ज्योतिले हार्दा ठूलो धक्का लागेको छ ।


पुष्प दुलाल