
काठमाडौं । टाइगर प्यालेस बाई सोल्टिले गत आर्थिक वर्षमा ४२ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा २३ करोड ८० लाख रुपैयाँको व्यापार गरेकामा करिब दोब्बर बढी आम्दानी गरेको हो ।
सन् २०१४ मा स्थापना भएको टाइगर वान प्रालिद्वारा सञ्चालित कम्पनीले सन् १२ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ७ करोड ६० लाख रुपैयाँ र सन् २०२१ मा १ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
रुपन्देहीको भैरहवामा रहेको पाँच तारे होटल टाइगर प्यालेस रिसोर्ट सन् २०१७ मा स्थापना १० महिनाअघि टाइगर प्यालेस बाइ सोल्टीमा रिब्रान्डिङ भएको थियो । सोल्टीले व्यवस्थापन सम्हालेसँगै टाइगर प्यालेसको व्यापारमा बहार आएको हो ।
क्यासिनो रिसोर्टसहितको पाँच तारे होटल ७ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने होटलमा १ सय २ वटा कोठाको सुविधा छ ।
सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिको शतप्रतिशत हिस्सा रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ४९ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब २१ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २८ करोड रुपैयाँको रेटिङ गराएको हो ।
कोभिडले गर्दा व्यापारमा होटलको निकै धक्का पुगेको थियो । जसले गर्दा बैंकमा तिर्नुपर्ने ऋणको दायित्वमा उच्च चाप परेको थियो । कोभिडको कारण थलिएको व्यापार विस्तारै रिबाउन्ड हुँदै आएएको छ । कोभिडपछि पनि होटलमा उच्च असर परेको र क्यासिनो पूर्ण रुपमा बन्द हुँदा व्यापारमा धेरै धक्का पुगेको थियो । कोभिडको बेला बन्द भएको क्यासिनो सन् २०२४ को मध्यबाट क्यासिनो सञ्चालनमा ल्याएको थियो ।
कोभिडपछि कम मात्रामा व्यापार हुँदा समयमै ऋण तिर्न सकेको छैन । कम्पनीको व्यापार विस्तारै लयमा फर्किंदै गएको छ । तर, कोभिड अघिको तुलनामा भने व्यापार निकै कमजोर रहेको इक्राले जनाएको छ ।
होटलले इक्रालाई कर्जा तिर्न ३० दिनभन्दा बढी ढिलाइ हुने गरेको रिपोर्ट गरेको छ ।
सन् २०२१ देखि सञ्चालन घाटामा रहेको होटल गत वर्षदेखि सञ्चालन नाफामा आएको थियो । गत वर्ष होटलको यस्तो नाफा मार्जिन ५२.८ प्रतिशत कायम भएको छ ।
करिब २ अर्ब ४० करोड रुपैयाँ कर्जा लिएको होटलको डेब्ट सर्भिस कभरेज रेसियो (डीएससीआर) ०.९ मात्र छ । यसको अर्थ होटलको सञ्चालन नाफा कर्जाको मासिक किस्ताभन्दा कम छ । सामान्यतयाः डीएससीआर २ भन्दा बढी राम्रो मानिन्छ ।








प्रतिक्रिया