भैरहवाको टाइगर प्यालेस रिसोर्ट बालकृष्ण भुसालले खरिद गर्ने



काठमाडौं । भैरहवास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट बिक्रीको प्रक्रिया फेरि अघि बढाइएको छ । २ वर्षअघि मलेसियामा रहेका नेपाली नागरिक इन्द्रबहादुर थापाले ३ अर्ब २९ करोडमा खरिद गर्ने हल्ला चले पनि उनले खरिद गर्न सकेका थिएनन् ।

अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुपले आफ्नो लगानी रहेको होटल लामो समयदेखि बिक्री गर्ने तयारी गरिरहेको छ । तर विभिन्न समस्याका कारण होटल बिक्री हुन सकेको छैन ।

तर यसपटक भने बुटवलकै व्यवसायी बालकृष्ण भुसाल र उनको टीमले खरिद गर्ने योजना बनाएको हो ।

‘पोखराको फुलबारी रिसोर्ट जस्तो नहोस् भन्ने उद्देश्यले अहिले होटल खरिद गर्ने योजना बनाएका छौं, यसबारेमा प्रारम्भिक कुराकानी पनि भइसकेको छ तर सम्झौता भइसकेको छैन,’ भुसालले क्लिकमाण्डूसँग कुरा गर्दै भने । पोखराको फुलबारी रिसोर्ट लामो समयदेखि विभिन्न समस्याका कारण बन्द अवस्थामा छ ।

उनका अनुसार कम्पनीले हाल डीडीए रिपोर्ट तयार पारिरहेको छ । डीडीए रिपोर्ट आएपछि यसबारेमा थप कुराकानी अघि बढ्ने उनले बताए । उनका अनुसार कति मूल्यमा खरिद गर्ने भन्ने विषयमा डीडीए रिपोर्ट आएपछि मात्रै कुराकानी अघि बढाइने गरी मौखिल सहमति भएको छ ।

गत वर्ष १ अर्ब लगानीमा विशाल सिमेन्ट खरिद गरेका भुसालले होटल व्यवसाय बिस्तार गर्ने क्रममा टाइगर प्यालेस रिसोर्ट खरिद गर्ने योजना बनाएका हुन् ।

‘भैरहवामा रहेको यति राम्रो होटल त्यत्तिकै बन्द नहोस् र यसको नियती पनि पोखराको फूलवारीको जस्तो नहोस् भन्ने उद्देश्यले म र केही साथीहरु मिलेर होटल खरिद गर्ने योजना बनाएका हौं,’ भुसालले भने ।

टाइगर प्यालेस रिसोर्टमा जग्गा सम्बन्धि विवाद पनि कायमै छ । तत्कालीन भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब १० कठ्ठा १८ धुर सार्वजनिक जग्गा मिचेर निर्माण गरिउको भन्दै रिसोर्टविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा समेत परेको थियो ।

भैरहवा लुम्बिनी भूमिगत जल सिँचाई परियोजना अन्तर्गत नलकुप उपभोक्ता संघका तर्फबाट अध्यक्ष थानेश्वर घिमिरेले कम्पनी विरुद्ध सामूदायिक प्रयोगको सरकारी सम्पत्तिमा निर्मित संरचना भत्काई सरकारी सम्पत्तिको संरक्षण गरिपाउँ भनि अदालतमा रिट दायर गरेका थिए ।

रुपन्देहीको साविक टिकुलीगढ ९ ‘घ’ ९हाल तिलोत्तमा नगरपालिका(१३०स्थित नरहको ९नलकुप०को कित्ता नम्बर १२०, १४८, १५२, १९० र कित्ता नम्बर ७३ को सरकारी जग्गामा कम्पाउन्ड लगाई होटलको संरचना निर्माण गरी भोगचलन गर्दै आएको दाबी रिटमा गरिएको थियो ।
सो सरकारी जग्गामा रिसोर्टले निर्माण गरेको स्वीमिङ पुल र क्यासिनोको केही भाग परेको रिटमा दावी गरिएको थियो ।

भुसाल बुटवल र भैरहवा क्षेत्रमा परिचित व्यवसायी हुन् । भुसाललाई व्यवसायीका रुपमा स्थापित गराउने काम ट्रयाक्टरले गरेको हो ।

अर्घाखाँचीमा जन्मिएर गुल्मीमा बसाइँ सरेका भुसाल व्ण्यापारको सिलसिलामा भैरहवा र बुटवलमा व्यवसायको प्रभुत्व कायम गरेका छन् ।

भुसालको लगानीमा हाल पाँचतारे ‘होटल मेगा’ र बुटवलमा चार तारे होटल ‘होटल मेगा’ निर्माण गरिरहेका छन् । जसमध्ये भैहरवाको होटल मेगा डेढ वर्षपछि सञ्चालन गर्ने योजना बनाइएको छ । उक्त होटलमा मेरियट होटलले व्यवस्थापना सम्हाल्नेबारे पनि छलफल अघि बढाइएको भुसालले जानकारी दिए ।

उनको पाँचतारे होटल मेगा १ लाख ३५ हजार वर्गफिट क्षेफलमा फैलिएको हुनेछ भने क्यासिनो मात्रै ११ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको हुनेछ । यसको निर्माण अवधि २ वर्षका लागि तोकिएकोमा हाल कोरोनाका कारण निर्माण अवधि लम्बिएको उनले बताए । उक्त होटलमा ११७ वटा कोठा रहनेछन् ।

त्यसैगरी बुटवलमा शुरु गरिएको चार तारे होटल मेगा तेस्रो इडिसन हो । जुन होटल ५५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको हुनेछ । होटलमा ६१ वटा कोठा हुनेछन् भने निर्माण सम्पन्न भइसक्ने अवधि ३ वर्षका लागि तोकिएको छ ।


क्लिकमान्डु