
काठमाडौं । कोटेश्वरमा हुने अत्यधिक ट्राफिक जामको समस्यालाई समाधान गर्न निर्माण गर्ने भनिएको सुरुङमार्गसहितको फ्लाइओभर निर्माणको प्रक्रिया सुरू हुने भएको छ ।
सरकारले कोटेश्वरमा फ्लाइओभरसहितको सुरुङमार्ग बनाउन जापानसँग तीस अर्ब रुपैयाँ ऋण लिने निर्णय गरेपछि यस्तो संरचना बन्ने भएको हो ।
भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन चौतिस अर्ब उनन्चास करोड (करिब तीस अर्ब आठ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको हो ।
कोटेश्वर जडिबुटी सडक खण्डमा अन्डरपास र फ्लाइओभर दुबै बनाउने सरकारको तयारी छ। तीनकुनेतर्फ र भक्तपुरतर्फ भने फ्लाइओर र विमानस्थलको धावनमार्गतर्फ भने अन्डरपास बनाउने योजना अनुसार सरकारले जापानसँग सहुलियत ऋण लिएको हो ।
यस्तो पूर्वाधार बनाउन जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)ले गरेको अध्ययन अनुसार नै सरकारले यो पूर्वाधार निर्माण गर्न लागेको हो ।
अन्डरपास बनेपछि चक्रपथ हुँदै कोटेश्वर चोक भएर ललितपुर जाने सवारी र भक्तपुरबाट तीनकुनेतर्फ आउने सवारीलाई अवरोध हुने छैन । जसको कारण जाम हुँदैन भने विमानस्थल अगाडिको सडकमा सवारी चापसमेत देखिँदैन ।
यसका लागि २ वर्ष लगाएर जाइकाले अध्ययन गरेको थियो । सरकारसँग ऋण सम्झौता गरेर भएर ३० अर्ब रुपैयाँ लिने सरकारको निर्णयसँगै यो पूर्वधार निर्माणको काममसते अगाडि बढ्ने भएको छ ।
सडक तथा पूर्वाधार विज्ञ आशिष गजुरेलले कोटेश्वर इन्टरसेक्सन निर्माणपछि जाम कम हुने भए पनि यो भरपर्दौ उपाय भने नभएको तर्क गरे । सडक चौडा बनाउनु, फ्लाइओभर वा सुरुङमार्ग बनाएर सहरी यातायातको व्यवस्थापन गर्नु दीर्घकालीन समस्याको समाधान नभएको यातायात विज्ञहरूले बताउने गरेको गजुरेलको भनाइ छ ।
गजुरेल ३० अर्बले नेपालभरि सार्वजनिक यातायात सुधार गर्नमा खर्चगर्दा लाभ मिल्ने बताउँछन् । सडक व्यवस्थापन गर्ने भनेको सवारी संख्या कम गर्ने भएको उनको भनाइ छ ।
सडक चौडा, फ्लाइओभर वा सुरुङमार्ग बनाउने भनेको सवारी संख्या बढाउने रणनीति भएको गजुरेलको तर्क छ ।
कोटेश्वरमा फ्लाई ओभर र सुरुङमार्ग सामाधान हो ? : यातायातविज्ञ गजुरेलका २१ तर्क
१) कोटेश्वर इन्टरसेक्सन काठमाडौँमा सबैभन्दा बढी जाम हुने चोक हो ।
२) कोटेश्वरमा फ्लाइओभर र सुरुङमार्ग बनाउन जापानले ३० अर्ब ऋण दिनेछ ।
३) कोटेश्वर इन्टरसेक्सन सुधारका लागि ३९ अर्ब लाग्ने अनुमान गरिएको छ ।
४) जापान सरकारको ३० अर्ब ऋण र बाँकी नेपालको लगानी हुनेछ ।
निर्माणपछि के हुन्छ ?
५) अवश्य पनि जाम कम हुन्छ ।
६) सडकको क्षमता बढेपछि जाम त कम हुने नै भयो ।
७) आज कोटेश्वरमा जाममा समय बर्बाद गरेर बस्ने सवारी प्रयोगकर्तालाई ठुलो राहत मिल्नेछ ।
८) के निर्माण दीर्घकालीन समाधान हो भन्ने प्रश्न जटिल र सबैभन्दा सान्दर्भिक प्रश्न हो ।
९) यातायात विज्ञ भन्ने गर्छन्— सडक चौडा बनाउनु, फ्लाइओभर वा सुरुङमार्ग बनाएर सहरी यातायातको व्यवस्थापन गर्नु दीर्घकालीन समस्याको समाधान होइन ।
१०) सडकमा जाम कम हुन थालेपछि मानिसहरू थप सवारी किन्न आकर्षित हुनेछन् र त्यो रुटमा बढी सवारी चलाउनेको संख्या बढ्नेछ ।
११) फेरि केही वर्षपछि सवारीको संख्या वृद्धि भई निर्माण भएका फ्लाइओभर, सुरुङमार्गको क्षमता पनि कम हुन्छ अनि फेरि जाम सुरु हुने विश्वव्यापी अनुभव छ ।
म भए के गर्थें ?
१२) ३० अर्बले नेपालभरि सार्वजनिक यातायात सुधार गर्नमा लगाउँथेँ ।
१३) सडक व्यवस्थापन गर्ने भनेको सवारी संख्या कम गर्ने हो ।
१४) सडक चौडा, फ्लाइओभर वा सुरुङमार्ग बनाउने भनेको सवारी संख्या बढाउने रणनीति हो ।
१५) सार्वजनिक यातायात सुधार गरे मानिसहरू निजी सवारी कम किन्नेछन् वा किने पनि कम प्रयोग गर्नेछन् । सवारी कम भए, सडक व्यवस्थापन चुस्त हुन्छ ।
१६) सवारी कम हुने रणनीति लागु गरौँ, सवारी ज्यादा हुने होइन ।
१७) म विकासको विरोध गर्दिनँ, विकास गरौँ भन्छु । मेरो सिकाइ र अनुभवको आधारमा सल्लाह दिन्छु ।
१८) कोटेश्वरमा फ्लाइओभर र सुरुङमार्ग बनाउने योजना यहाँसम्म ल्याउने सबैलाई धन्यवाद ।
१९) जापान सरकारका विज्ञले अध्ययन गरी यो परियोजना ठिक छ भनेपछि हामीले धेरै यो विषयमा बोल्नुपर्दैन जस्तो लाग्छ ।
२०) पूर्वाधारको विकास गर्ने तर राज्यले सार्वजनिक यातायातमा लगानी गरी सुधार नगर्ने हो भने सुधारिएको पूर्वाधारको ठुलो अर्थ रहन्न ।
२१) यो परियोजनासँगै सार्वजनिक यातायात सुधारको योजना पनि अगाडि बढाऔँ ।







प्रतिक्रिया