कोटेश्वरमा कस्तो बन्ने छ फ्लाइओभरसहितको सुरूङ ? (भिडियो स्टोरी)

735
Shares

काठमाडौं । कोटेश्वरको जामले हैरान भएकाहरूलाई खुसीको खबर, फ्लाइओभर र सुरूङसहितको बृहत संरचना बनाउन सरकारले जापानसँग लियो ३० अर्ब ऋण । यस्तो बन्नेछ तीनकुने-कोटेश्वर-जडिबुटी फ्लाईओभर र सुरूङ ।

काठमाडौंमा अत्याधिक ट्राफिक जाम हुने ठाँउ हो, कोटेश्वर । कोटेश्वरमा हुने अत्यधिक ट्राफिक जामले सर्वसाधारणलाई हैरानी दिइरहेको छ । भक्तपुर वा पेप्सीकोलातिरबाट राजधानीको केन्द्रतिर तथा बालकुमारीबाट तीनकुनेतिर आउन जाममा बस्नुपरे सास्ती भोगिरहेकालाई भने खुसीको खबर आएको छ ।

सरकारको योजनाअनुसार कोटेश्वरमा सुरूङ तथा जडिबुटी र तीनकुनेमा फ्लाइओभर सहितको वृहत सडक पूर्वाधार निर्माण हुनेछ ।

तीनकुनेको बागमती पुल नजिकबाट कोटेश्वरको मुनिभैरब मन्दिरसम्म ६६५ मिटर लामो फ्लाइओभर बन्नेछ । कोटेश्वर महादेवस्थान प्रवेशद्वार अर्थात् मुनिभैरब मन्दिरदेखि कोटेश्वर चोक मुनि हुँदै जडिवुटीतर्फ ६१० मिटर सुरुङ बन्नेछ भने टनेल सकिएपछि काठमाडौं भक्तपुर सीमाको मनोहरा खोला पुलसम्म अर्को २३८ मिटर लामो फ्लाइओभर निर्माण हुनेछ । जडिबुटी तर्फबाट काठमाडौं र ललितपुर जाने छुट्छाछुट्टै बाटो बनाएर एउटा लेनबाट जाँदा अर्कोलाई अवरोध नहुने गरी ट्राफिक व्यवस्था मिलाइनेछ ।

तीनकुने र जडिबुटीमा फ्लाइओर तथा कोटेश्वरमा टनेल अर्थात् सुरूङ बनाउने योजनालाई निरन्तरता दिन सरकारले भर्खरै जापानसँग ३० अर्ब रुपैयाँ ऋण लिने निर्णय गरेको छ । कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३४ अर्ब ४९ करोड (करिब ३० अर्ब ८ करोड रुपैयाँ) सुहलियतपूर्ण ऋण सहायत स्वीकार गर्ने निर्णय गरेको हो ।

यो प्लाईओभर तथा सुरूङ बनेपछि तीनकुनेबाट जडिबुटीतर्फ जाँदा वा आउँदा जाममा बस्नुपर्ने छैन । जडिबुटीबाट ललितपुर जानका लागि पनि छुट्टै बाटो हुनेछ भने तीनकुनेबाट कोटेश्वर हुँदै बालकुमारी जान कोटेश्वर चोक हुँदै जानुपर्नेछ । सडकमा जाम पटक्कै हुने छैन भने विमानस्थल अगाडिको सडकमा धेरै गाडी देखिने छैनन् ।

कोटेश्वरमा बृहत पूर्वाधार बनाउन जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)ले २ वर्ष लगाएर अध्ययन गरेको थियो । जापानसँग सम्झौता गरेर ३० अर्ब रुपैयाँ लिने सरकारको निर्णयसँगै यो पूर्वधार निर्माणको काम अगाडि बढ्ने भएको छ ।

२०७६ सालमै जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) ले सुरुङमार्गसहितको यो फ्लाइओभर निर्माण गर्न पूर्वसम्भाव्यता अध्ययन गरेको थियो ।

जाइकाले नै तीनवटा प्राविधिक विकल्पसहितको सुझाव उक्त पूर्वसम्भाव्यता अध्ययनमार्फत सरकारलाई उपलब्ध गराएको थियो । जाइकाले गरेको अध्ययन प्रतिवेदनले तीन प्रकारको प्राविधिक विकल्पसहितको सुझाव सरकारलाई दिएको थियो । जसअनुसार पहिलो विकल्पमा तीनकुनेदेखि बालकुमारी (चक्रपथ) सम्म ९ अर्ब लगानीमा १.३ किलोमिटर फ्लाइओभर योजना अघि सारिएको थियो । दोस्रो विकल्पमा कोटेश्वर चोकदेखि १.२ किलोमिटर दुईतर्फ टनेल बनाउने थियो । तर, सरकारले तेस्रो विकल्प छानेको हो ।

२०८० माघको पहिलो साता नै कोटेश्वरको इन्टरस्प्सन इम्प्रुभमेन्ट प्रोजेक्ट कार्यान्वयनमा गर्न सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी सम्झौतालाई अन्तिम रुप दिएर जापान सरकारसँग वार्ता गर्न सरकारले एउटा वार्ता टोली गठन गर्ने निर्णयसमेत गरेको थियो । तर यो विषयमा त्यसयता खासै प्रगति भएको थिएन । कछुवाको गतिमा अघि बढेको सो काममा अहिले भने सरकार निष्कर्षमा पुगेको छ । सरकारको यो निर्णयसँगै कोटेश्वरमा फ्लाइओभर र अन्डरपाससहितको पूर्वधार निर्माणको काम छिट्टै अगाडि बढ्ने अपेक्षा गरिएको छ ।