
काठमाडौं । आफूले स्थापना गरेको कम्पनी एफवान सफ्टबाट संस्थापक विश्वास ढकाल कार्यकारी अध्यक्षको जिम्मेवारीबाट बाहिरिँदै गर्दा धेरैलाई लागेको थियो- आफ्नै संघर्षले स्थापना गरी डिजटल पेमेन्टमा साम्राज्य बिस्तार गरेको कम्पनीको कार्यकारी जिम्मेवारीबाट किन बाहिरिए ? अब उनले के गर्लान् ?
बैंकर पृष्ठभूमिका सिद्धान्त ठकुरीलाई एफवान सफ्टको कार्यकारी भूमिका सुम्पिएर ढकाल ग्रुप अध्यक्ष मात्रै बने । एफवान सफ्टलाई ५ वर्षभित्र विश्वकै १० शीर्ष फिनटेक कम्पनीका रुपमा स्थापित गर्ने उद्देश्यले प्रोफेसनलहरुलाई कम्पनी चलाउने जिम्मा दिइएको बताइएको थियो ।
विश्वास देशको भौगोलिक सीमाभन्दा बाहिर निस्केर फिनटेकको दुनियामा विश्व उडान गर्न चाहन्थे । त्यसैले उनले एफवान सफ्टलाई एफवान सफ्ट इन्टरनेशनल बनाए । अनि विदेशमा बसेर फिनटेकको साम्राज्य विस्तार गर्न लागे ।
हुन त पछिल्ला वर्षहरुमा विश्वास ढकाल नेपाल कमै बस्थे । प्राय: उनी दुबई बस्न थाले । राम्रो व्यावसायिक वातावरण भएको दुबईले सूचना प्रविधिसँग सम्बन्धित कम्पनीहरुलाई आकर्षित गरिरहेको थियो र छ । दुबईको कम्पनी द फिल्प्समा विश्वास सीईओ भए ।
नेपाली फिनटेक उद्योगका टाइकुन उनै विश्वासले नेतृत्व गरेको दुबईको द फिल्प्स कम्पनीले अहिले बंगलादेशमा डिजिटल लेन्डिङ (कर्जा) सुविधा उपलब्ध गराउने भएको छ । युएईको ग्लोबल फिनटेक कम्पनी फिल्प्सले एबी बैंकसँग रणनीतिक सहकार्य गर्दै बैंकको डिजिटल बैंकिङ क्षमता विस्तार गर्न सहयोग गर्ने भएको हो ।
बंगलादेशी बैंक एबीले फिल्प्ससँगको सहकार्य एक उल्लखनीय कदम भएको बताएको छ । यो रणनीतिक सहकार्यमा हालैमात्र एबीका प्रबन्ध निर्देशक तथा सीईओ सएद मिजानुर रहमान र फिल्प्सका सीईओ ढकालले हस्ताक्षर गरे । हस्ताक्षर समारोहमा कम्पनीका प्रमुख सहकार्य अधिकृत ऋषिकेश नेपाल, प्रमुख कर्मचारी अधिकृत अभिषेक क्षेत्री र बंगलादेशका लागि कम्पनीका कन्ट्री म्यानेजर तुसार हसन पनि सहभागी थिए । फिल्प्ससँगको सहकार्यसँगै बैंकले आफ्ना ग्राहकलाई डिजिटल कर्जा उपलब्ध गराउने बाटो खुलेको छ ।
नेपालमा बैंकहरुले फोनपेसँगको सहकार्यमा डिजिटल माध्यमबाट कर्जा उपलब्ध गराउँछन् । जसलाई फोनलोन भनिन्छ । बंगलादेशमा पनि फोनलोन जस्तै सुविधा उपलब्ध गराउन फिल्प्सले एबी बैंकलाई सघाउनेछ ।
हामी बंगलादेशी बैंक, नियामक तथा उद्योगका सरोकारवालासँगको सहकार्यमा डिजिटल रुपान्तरणलाई गति दिन तथा उपभोक्ता लक्षित नवीनता दिने प्रतिबद्धसहित यहाँ आएका छौं ।
सन् २०२२ मा यूएईमा स्थापना भएको फिल्प्स बैंकहरुलाई सफ्टवेयर सोल्युसन उपलब्ध गराउने अनलाइन प्लेटफर्मका रुपमा सञ्चालित छ । ढकालले एबीसँगको सहकार्यपछि एआईबाट सञ्चालित माइक्रो लेन्डिङ सोलुसन दिने बताएका छन् । यो सहकार्यले कराडौं बंगलादेशीलाई द्रुत, स्मार्ट र समावेशी लेन्डिङ सोल्युसन दिने ढकालको भनाइ छ ।
त्यस्तै, फिल्प्सले एक साता अघिमात्र बंगलादेशको ढाकामा बैंकर्स मिट आयोजना गरेको थियो । बंगलादेशको डिजिटल बैंकिङ डोमेनमा भविष्य खोज्दै कम्पनीले सन्ध्याकालीन छलफल गरेको थियो । बैंकर्स मिटमा बैंकका सीईओ, वरिष्ठ अधिकारीहरुको सहभागिता थियो ।
सो क्रममो फिल्प्सले डिजिटल कर्जाको प्रविधि, ग्राहकलाई डिजिटल प्रणालीमा सहभागी गराउने सोलुसन शोकेसमा राखेको थियो । बंगलादेशको ग्राहक लक्षित रुपान्तरणमा सम्भावना कम्पनीले देखाएको थियो ।
सोक्रममा फिल्प्सले एबीसँगै सिटी बैंकसँग पनि सहकार्यको घोषणा गरेको थियो । सिटीसँगको सहकार्य बैंकको सीटी टच नामक डिजिटल बैंकिङ प्लेटफर्मको पूर्ण परिमार्जनबाट सहज, सरल र प्रयोगकर्तामैत्री अनुभव प्रदान गर्नका लागि हुने कम्पनीले जनाएको छ ।
बैंकर्स मिटका क्रममा ढकालले फिल्प्स उदीयमान अर्थतन्त्रमा प्रमाणित प्रविधि र गहिरो सञ्चालन विज्ञताको समायोजन बंगलादेशमा ल्याउने घोषणा गरेका थिए । ‘हामी बंगलादेशी बैंक, नियामक तथा उद्योगका सरोकारवालासँगको सहकार्यमा डिजिटल रुपान्तरणलाई गति दिन तथा उपभोक्ता लक्षित नवीनता दिने प्रतिबद्धसहित यहाँ आएका छौं,’ उनले भने ।
एफवान सफ्ट: २०० प्रतिशत लाभांश दिने कम्पनी
सन् २००४ मा स्थापना भएको एफवान सफ्ट नेपालमा फिनटेक उद्योगको एक स्थापित कम्पनी हो । अहिले ४५ बढी बैंक तथा वित्तीय संस्थाले कम्पनीले निर्माण गरेको मोबाइल तथा इन्टरनेट बैंकिङ सफ्टवेयर प्रयोग गर्दै आएका छन् । एफवान सफ्ट डिजिटल टपअप तथा बल्क एसएसमएसलगायत अन्य सेवा दिँदै आएको छ । सन् २०२४ मा एफवान सफ्टले १२ अर्ब ८४ करोड रुपैयाँ आम्दानी गरेको थियो । जबकि, सन् २०२२ मा यसले १५ अर्ब ६४ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
एफवान सफ्टको आम्दानीमा यसरी गिरावट आउनुको कारण हो, ईसेवाबाट आफ्नो लगानी झिक्नु। ईसेवामा एफवान सफ्टको सतप्रतिशत स्वामित्व थियो । जसमध्ये कम्पनीले ८० प्रतिशत लगानी झिकेको छ ।
ईसेवा एफवान सफ्टको सबैभन्दा बढी नाफा गर्ने सहायक कम्पनी हो । एफवान सफ्टले ईसेवामा रहेको ८० प्रतिशत सेयर आफ्नै सेयरधनीलाई बेचेको हो । ईसेवामा रहेको सेयर बेचेर सबै सेयर धनीको हिस्सा एफवान सफ्टमा जति छ ईसेवामा पनि त्यति नै बनाइएको हो ।

यसो त एफवान सफ्टले पछिल्लो समय नेपाल मोबिलिटी सोलुसन्स (जुमजुम नामको राइड सेयरिङ एप) सञ्चालनमा ल्याएको छ। यसरी एकातिर सबैभन्दा बढी लाभ दिइरहेको ईसेवाबाट लगानी झिक्नु र अर्कातर्फ जुमजुममा लगानी थप्नुले कम्पनीको आम्दानी कम भइरहेको छ
तर एफवान सफ्टले पछिल्लो २ वर्षमा अपेक्षा गरेभन्दा बढी लाभांश वितरण गरेको छ । सन् २०२२ मा चुक्तापुँजीको २०० प्रतिशत र २०२३ मा १०० प्रतिशत लाभांश वितरण गरेको छ ।
ई-सेवामा झैं एफवान सफ्टमा पनि ३५ प्रतिशत स्वामित्व विश्वास ढकालको, २५ प्रतिशत अस्गर अलीको, २० प्रतिशत कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाको, १० प्रतिशत सुवास शर्माको, ५ प्रतिशत सुभास सापकोटाको रहेको छ ।
एफवान सफ्ट ग्रुप अन्तर्गत ईसेवा, ईसेवा मनि ट्रान्सफर, फोन पे, फोन लोन, फोन नेक्ट्स, कोजेन्ट हेल्थ, फोन पोइन्ट्स, दियालो टेक्नोलोजी, फोन इन्सोरेन्स, एक्टेन्सो डेटा, लोजिका बेन्स, स्वास्तिक कलेज, जुम जुम र ई सेवा ट्राभल एन्ड टूर रहेका छन् । एफवानले २ करोड व्यक्तिलाई फोनपे को पहुँचमा पुगाएको छ ।
एफवानसफ्टमार्फत नेपालको फिनटेक उद्योगमा साम्राज्य स्थापित गर्न सफल विश्वास ढकालले दुबईको कम्पनीमार्फत आफ्नो आइडियालाई बंगलादेशसम्म विस्तार गरेर विश्व उडानको यात्रामा निस्किएका छन् । सरकारले सहज वातावरण बनाइदिने हो भने नेपाली व्यवसायीहरु आफ्नो सीप र क्षमता प्रदर्शन गर्न संसारभर फैलन सक्छन् भन्ने प्रष्ट संकेत गर्छ ।
ढकालले यसरी खोलेका थिए एफवान सफ्ट
२१/२२ वर्षअघि अघि नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)मा सफ्टवेयर इन्जिनियरिङ पढ्दै थिए विश्वास ढकाल । विभिन्न उतारचढावबीच पढाइलाई निरन्तरता दिँदै एनसीआईटी आएका ढकाललाई आफ्नो पढाई खर्च जुटाउन प्लान इन्टरनेसनलमा डेटा इन्ट्रीको काम गर्थे । तलब थियो महिनाको १४ हजार रुपैयाँ ।
त्यहीबेला उनका साथीहरुले आफ्नै डोमेन दर्ता गरिरहेका थिए । कतिले डोमेन दर्ता गराउने व्यवसाय गरिरहेका थिए ।
डोमेन दर्ता गर्ने लहर नै चल्यो ।
आईटी पढिरहेका ढकाललाई डोमेन दर्ता गर्ने र वेव होस्टिङको व्यवसाय गर्न सकिन्छ भन्ने सोचिरहेका थिए । त्यसबाट धेरै आम्दानी नभए पनि कम्तिमा कलेजको शुल्क तिर्न सकिन्छ भन्ने लागिरहेको थियो ।

उनले निर्णय गरे कम्पनी दर्ता गरेर नै डोमेन दर्ताको काम गर्ने । सन् २००४ मा एफवान सफ्ट कम्पनी दर्ता गरे । प्लान इन्टरनेटसनलमा ३ महिना जागिर गरेका थिए । त्यसबाट बचेको केही रकम कम्पनीमा लगानी गरे ।
झन्डै डेढ वर्ष डोमेन दर्ताको काम गरे । त्यो अवधिमा उनले ४ हजार डोमेन दर्ता गरिसकेका थिए । त्यसबाट भएको आम्दानीले आफ्नो कार्यालय विस्तार गर्न सके । त्यो आम्दानीले ४ वटा कम्प्युटर किने र ४ जनालाई स्टाफ नियुक्त गरे ।
ढकालको डोमेन दर्ता गर्न शुरु भएको एफवान सफ्ट कम्पनी आज नेपालको सबैभन्दा ठूलो फिनटेक कम्पनी बन्न सफल भएको छ ।
अहियले एफवान सफ्ट अब ‘ग्रुप अफ कम्पनी’ बनेको छ । यसअन्तर्गत दर्जन बढी कम्पनी सञ्चालनमा छन् ।
ती कम्पनीमार्फत विभिन्न काम गर्दै आएको छ । जस्तो कि, बैंकिङ, सफ्टवयर डेभलपमेन्ट, स्वास्थ्य, बीमा, बस टिकट, मनि ट्रान्सफर, खानेपानी, ट्राभल, आईटी कलजेजस्तो धेरै क्षेत्रमा विभिन्न कम्पनीमार्फत् काम गरिरहेको छ ।
जसमा हजारभन्दा बढीले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

सन् २००४ मा स्थापना भएको एफवान सफ्टले सन् २००६ देखि बैंकिङ र फाइनान्समा फोकस गरेर काम शुरु गर्यो ।
नेपालको डिजिटल भुक्तानीमा एफवान सफ्टले जग हाल्यो । एकातिर बैंकिङ प्रणाली अझ सहज र डिजिटल बनाउने प्रयास गर्यो भने अर्कोतिर इसेवामार्फत् डिजिटल भुक्तानी सेवाको शुरुवात गर्यो ।
सन् २००९ मा इसेवा शुरु गर्दा मान्छेहरुले उनीहरुलाई पत्याइरहेका थिएनन् । मोबाइलको रिचार्ज कार्डलाई ‘डिजिटल रिचार्ज’ गर्ने प्रयास गरिरहेका विश्वासको टिमले ठूलो सपना देखेको थियो ।
उनीहरुलाई थाहा थियो, यसको बजार ठूलो छ । भारतमा पेपलजस्ता सेवाहरु आक्रमकरुपमा आइरहेका थिए ।
इसेवामा विशेष ध्यान दिएर काम गर्दै थिए । उनले यस कम्पनीमा काम गर्ने विशेष टिम बनाउन चाहन्थे ढकाल । एक्लै काम गर्न सकिन्दैन भन्ने उनलाई लागेको थियो ।
उनीसँग जोडिन आइपुगे सुवास शर्मा र अस्गर अली । दुबै कलेजका मन मिल्ने साथी थिए ।
त्यसपछि यो टिमले बैंकिङ क्षेत्रमा पनि काम गर्दै गयो । सन् २००८ देखि एसएमएस बैंकिङको शुरुवात भइसकेको थियो । जसबाट ग्राहकले बैंकको जानकारी मोबाइलबाट पनि लिन सकिन्छ भन्ने थाहा पाए । यसलाई अझ परिस्कृत गर्दै इन्टरनेट बैंकिङको शुरुवात भयो । त्यसपछि मोबाइल बैंकिङमा पनि एफवान सफ्टले काम गरे । बैंकहरुलाई सफ्टवेरहरु पनि उपलब्ध गराउन थाले ।
सन् २०१२ मा इसेवालाई छुट्टै कम्पनीको रुपमा दर्ता गरेर काम गर्न थाले ।
एफवान सफ्टको यात्रामा फोन पेले ठूलो भरथेग गरेको छ । यसले कम्पनीको प्रोडक्टहरुको इकोसिस्टम बनाएर एकबैंकदेखि अर्को बैंक, मोबाइल वालेट र बैंकलाई एकअर्कामा जोड्ने काम गरिरहेको छ ।
र, एफवानसफ्टमार्फत नेपालको फिनटेक उद्योगमा साम्राज्य स्थापित गर्न सफल विश्वास ढकालले दुबईको कम्पनीमार्फत आफ्नो आइडियालाई बंगलादेशसम्म विस्तार गरेर विश्व उडानको यात्रामा निस्किएका छन् । सरकारले सहज वातावरण बनाइदिने हो भने नेपाली व्यवसायीहरु आफ्नो सीप र क्षमता प्रदर्शन गर्न संसारभर फैलन सक्छन् भन्ने प्रष्ट संकेत गर्छ ।







प्रतिक्रिया