हाेटलका सञ्चालक भट्टको भनाइ

‘डेढ अर्बको आर्ट्स होटलको सम्पत्ति बैंकले ४८ करोडमा बेच्न खोज्यो, लिलामी हुन दिन्न’

54.4k
Shares

‍काठमाडौं । ठमेलको होटल आर्ट्स काठमाडौंको डेढ अर्बको सम्पत्तिलाई राष्ट्रिय वाणिज्य बैंकले सरकारी मूल्यांकनसहित अन्डरभ्यालुएसन गरेर ४८ करोडमै लिलाम गर्न खोजेको हाेटलका सञ्चालक चिरन्जीवी भट्टले बताएका छन् ।

उनले होटल लिलामीमा जान नदिने र त्यसका लागि आफूले प्रयास गरिरहेको बताएका छन् । उनको होटल आर्ट्सलाई राष्ट्रिय वाणिज्य बैंकको ४८ करोड रुपैयाँ न्यूनतम मूल्यांकन गरेर ऋण उठाउनको लागि लिलामीमा गर्ने सूचना जारी गरेको छ ।

गोरखाका पर्यटन व्यवसायी चिरन्जीवी भट्टले २०७२ को फागुनदेखि सुरुवात गरेको ६० कोठाको उक्त होटलले बैंकको ऋण तिर्न नसकेपछि लिलामीमा गएको हो । तर बैंकसँग नियमित सम्पर्कमा रहेको र हिजो मात्रै बैंकसँग कुरा गरेर ऋणको व्याज तिर्ने र लिलामीमा नलैजाने विषयमा कुराकानी भएको भट्टले बताएका छन् ।

२४ वर्षदेखि पर्यटन व्यवसायमा लागेका उनको हाेटल काेभिडको समयमा चल्न नसक्दा लिएको ऋण, आफूसँग भएको केही पैसा बजारमा फसेका कारण बैंकको ऋण तिर्न ढिलो हुन पुगेकाे उनले स्वीकार गरे ।

‘५०/५५ जना कर्मचारी रहेको हाेटल सञ्चालन गर्ने नसकेर डुब्न खोजेको होइन्, होटल राम्रोसँग सञ्चालनमै रहेकोले पनि यसलाई जोगाउन प्रयास गरिरहेको छु लिलामीमा जाँदैन,’ उनले भने ।

बैंकले न्यूनतम ४८ करोड १७ लाख रुपैयाँ ऋण असुलीका लागि उक्त होटल लिलामी गर्न सार्वजनिक सूचना निकालेको छ ।होटल १० वर्ष अगाडि नै सञ्चालनमा आएको थियो । होटलमा त्यतिबेलै ५० करोड रुपैयाँ लगानी भएको जानकारी दिएको थियो।

८ तलाको उक्त होटलबाट काठमाडौंको दृश्यावलोकन गर्न सकिन्छ भने आकर्षक सुविधासहित खुलेको थियो।

भट्टले आफैंले २०६० सालमै किनेको जग्गामा होटल बनाएको भने पनि उनले बैंकको ऋण तिर्न नसकेका कारण होटल लिलामीमा गएको हो । ३४ वर्षदेखि पर्यटन व्यवसाय गरिरहेका भट्टको योजनाले फेल खाएका कारण होटल लिलामीमा गएको हो ।

बैंकले भट्टको नाममा डिल्लीबजार मालपोत कार्यालयमा दर्ता भएको १५ रोपनी जग्गा र सोमा बनेको भवन बैंकले लिलाम गर्न लागेको हो।

भट्टकी श्रीमती लक्ष्मीको नामको एक रोपनी जग्गा र सोमा बनेको भवनसहितको उपकरण पनि लिलामी हुने बैंकले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

बैंकले जग्गाको न्यूनतम् मूल्य ४८ करोड १७ लाख १३ हजार ९ सय रुपैयाँ तोकेको छ । बैंकलाई भट्टले तिर्नुपर्ने ओभरड्राफ्ट, १० प्रतिशत ब्याजदरमा पाएको कोभिड कर्जा र आवधिक कर्जाको रकम नतिरेपछि होटल लिलामी गरेर बैंकले ऋण असुल गर्न खोजेको हो ।

बैंकले भट्टलाई पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा कर्जा चुक्ता नभएको, धितो सम्पत्ति लिलाम गर्न ३५ दिनको सूचना प्रकाशित गर्दासमेत कर्जा असुल हुन नसकेकोले उल्लेख गरेको छ ।

बैंकले होटलका सञ्चालक भट्टलाई १५ दिनभित्र सम्पर्क गरी सम्पूर्ण साँवा तथा कर्जा चुक्ता गर्ने अघिल्लो दिनसम्मको ब्याज र अन्य दस्तुर चुक्ता गरी धितो सम्पत्ति फुकुवा गराई लिन भनेको छ।

बैंकले भने अनुसारको कर्जा चुक्ता नगरे सम्पत्ति लिलाम गरेर असुल गर्ने भएको छ । लिलाममार्फत बिक्री हुन नसकेका धितो सम्पत्ति बैंकको अनुकुल समयमा बैंक आफैंले सकार गरिलिन सक्ने वा असुली न्यायाधिकरणमा मुद्दा दायर गर्ने बैंकले जनाएको छ ।