काठमाडौंमा १ लाख रोपनीभन्दा धेरै जग्गा अतिक्रमण, ठूलाबडा नै संलग्न

1.3k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका सार्वजानिक, नदी किनारका जग्गा अतिक्रमणमा नाम चलेका व्यक्तिहरु नै संलग्न रहेको पाइएको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

बुधवार आयोजित पत्रकार सम्मलेनका प्राधिकरणको काडमाडौं जिल्ला आयुक्त शुभाष बस्नेतले उच्चपदस्थ व्यक्ति तथा नाम चलेका विद्यालयहरुले सार्वजानिक जग्गा अतिक्रमण गरेको पाइएको बताए ।

काठमाडौंमा कम्तिमा पनि एक लाख रोपनी भन्दा धेरै जग्गा अतिक्रमण भएको उनले जानकारी दिए ।

२०२१, २०४४ र २०५६ को नापीलाई अध्ययन गर्दा धोबीखोलामा मात्रै २ सय रोपनी जग्गा अतिक्रमण भएको उनले जानकारी दिए ।

तीन चरणको नापीलाई अध्ययन गर्दा ३ हजार रोपनी नदी किनारका जग्गा अतिक्रमण भएको पाइएको उनले जानकारी दिए ।

ती जग्गाहरु अहिले व्यक्तिले आफ्नो नाममा दर्ता गरिसकेको स्थिति रहेको उनको भनाइ छ ।

‘काठमाडौं यति धेरै जग्गा अतिक्रमण भएको छ । मलाई त लाग्छ कम्तिमा एक लाख रोपनी जग्गा अतिक्रमण छ । हामी २०२१ सालको, २०४४ सालको नापीमा र २०५६ सालको नापीलाई हेरेर डाटा निकाल्ने हो भने धोवी खोलाको २०० रोपनी जग्गा अतिक्रमण गरेको मसँग डाटा छ,’ उनले भने, ‘तीन चरणको नापीलाई हेर्ने हो भने कम्तिमा ३ हजार रोपनी नदीका सार्वजानिक जग्गा अतिक्रमण भएको छ र मानिसहरुले अहिले दर्ता गरेर खाएको स्थिति छ ।’

तिलगंगादेखि चोभारसम्म १० वटा टुँडिखेल बन्ने जत्रो ठाउँ अतिक्रमण भएको उनको भनाइ छ । ती सबै जग्गाहरु झुपडीवालाले नभई ठूलाठूला व्यक्ति, नाम चलेको स्कुल र विश्वास गर्न नै नसक्ने मान्छेले कब्जा गरेर बसेको उनले बताए ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजानिक जग्गा अतिक्रमण गर्नेको सम्पत्ति रोक्का गर्ने काम सुरु गरेको उनले जानकारी दिए ।

प्राधिकरणलाई जग्गा रोक्नसक्ने अधिकार रहेको उनले बताए ।

माधव खोलामा सार्वजानिक जग्गा मिचेर आफ्नो कम्पाउण्डभित्र लगेकाहरुको प्राधिकरणले सम्पत्ति रोक्का गरिसकेको उनले जानकारी दिए ।

‘तिलगंगादेखि चोभारसम्म गयौँ भने १० वटा टुँडिखेल बन्ने जत्रो ठाउँ अतिक्रमण भएको छ । त्यो सानो झुपडीवालाले होइन, ठूलठूलाले, नाम चलेको स्कुलले । कसैलाई यो मान्छेले यस्तो गर्छ भन्ने विश्वास नै नलाग्ने स्थिति पनि छ,’ उनले भने, ‘सार्वजानिक जग्गा अतिक्रमण गर्नेको सम्पती रोक्का गर्नसक्ने अधिकार काठमाडौं उपत्यका विकास प्राधिकरणलाई छ । यो मैले शुरुवात गरिसकेको छु । माधव खोलामा जसले सार्वजानिक जग्गा मिचेर जसले आफ्नो कम्पाउण्ड भित्र लगेका छन् । उहाँहरुको मैले सम्पत्ति रोक्का गरिसकेको छु ।’

उनले चैत ३ गतेदेखि अवैध प्लटिङलाई कित्ताकाट रोक्का गरेको जानकारी दिए । हाल १ हजार १५० कित्ता अवैध प्लटिङ रोक्का भएको उनको भनाइ छ ।