
काठमाडौं । सौर्य एयरलाइन्स नाइनएन-एमइ, सिआरजे २०० वायुयान दुर्घटनामा तीन सन्तति गुमाएका प्रकाश खतिवडाले वायुयान दुर्घटना जाँचबुझको प्रतिवेदनमाथि असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बिहीवार प्रतिवेदनमाथि छलफल भएको हो ।
छलफलमा नेपालको १०९ वटा विमान दुर्घटनाको इतिहासमा सौर्य जहाजको दुर्घटना छुट्टै खालको भएको उनले बताए ।
ह्युमन फ्याक्टर कारण दुर्घटना भएको निष्कर्ष देखाइएकोमा सहमति जनाए ।
उनले सौर्य एयरलाइन्स, एरोड्रोन र नेविगेसनको कुरा प्रतिवेदनमा गरिएको तर क्यानलाई सेवा प्रदायक भनेर उल्लेख नगरिएकोप्रति आपत्ति जनाए ।
सेवा प्रदायक संस्थाको अनुमति दिने व्यक्ति जाँचबुझ समितिका संयोजक रतिशचन्द्रलाल सुमनको आफन्त भएकाले त्यो नखुलाइएको उहाँको आरोप छ । उक्त उडान र यात्रुहरु र एयरलाइन्स कम्पनीको हर्कत पनि अवैधानिक रहेको बताए । ४ वर्षको नातीलाई किन सौर्य एयरलाइन्सको कर्मचारी बनाइयो ? भन्दै उनले प्रश्न गरे ।
उर्जा मन्त्रालयमा कार्यरत आफ्नी छोरीलाई समेत सौर्य एयरलाइन्सको कर्मचारी बनाएर उडाइएको बताए ।
सरकारले छानविनका लागि बनाएको जाँचबुझ आयोग समेत अवैधानिक रहेको बताए ।
प्रतिवेदन बनाउँदा अरुसँग अन्तर्वार्ता लिएको उल्लेख गरेपनि तीन सन्तति गुमाएको परिवारसँग कुनै सोधपुछ नगरिएको उनको भनाइ छ । प्रतिवेदनसमेत नियोजित रहेको उनको ठहर छ । पीडितका कुरा सुनियो भने पनि न्याय पाएको अनुभुति हुने उनको भनाइ छ ।
‘यो फ्लाइट इलिगल हो, प्यासेन्जर इलिगल हुन्, एयरलाइन्स कम्पनीको हर्कत इलिगल छ । मेरो ४ वर्षको नातीलाई किन सौर्य एयरलाइन्सको स्टाफ बनाइयो ? यहाँ हेर्न सक्नुहुन्छ । म देखाउनसक्छु । अधिराज शर्मा, सौर्य एयरलाइन्स स्टाफ । मेरी छोरी ऊर्जा मन्त्रालयमा कार्यरत थिइन् । तर सौर्य एयरलाइन्सको स्टाफ लेखिएको छ । घटनाको दिनसम्म उर्जा मन्त्रालयमा कार्यरत थिइन् । आर्थिक र व्यापारिक स्वार्थसँग जोडेर मेरो डिग्निटीसँग खेल्ने प्रयास भयो । मेरो छोरीलाई भ्रष्टीकरण गर्ने प्रयास भएको छ । उर्जा मन्त्रालयमा कार्यरत थिइन् मेरी छोरी । कसरी सौर्य एयरलाइन्सको स्टाफ भइन् ? आयोग पनि इलिगल छ । यो प्रतिवेदन नियोजित छ,’ उनले भने, ‘सारासँग अन्तर्वार्ता लिएको छ । तर म तीन सन्तान गुमाएको अभिभावकसँग उहाँले सम्पर्क पनि गर्न चाहनुभएन । मेरो पीडा त्यहाँबाट शुरु भएको छ । पीडितलाई पीडितका कुरा सुनियो भनेपनि न्याय पाएको अनुभुति हुन्छ, सर । तपाईंहरुले आज राम्रोसँग कुरा सुनिदिनुभयो भने मलाई न्याय चाहिँदैन । मेरो पीडा कम हुन्छ । तर उहाँहरुले मसँग सम्पर्क गर्न चाहनुभएन । मलाई मान्छे ठान्नुभएन । सबैभज्दा बढी क्षति व्यहोरेको मान्छे हुँ ।’
उनले न्यायिक जाँच आयोग बनाएर अनुसन्धान गर्न माग गरे । न्याय र क्षतिपूर्तिको सुनिश्चित गर्न पनि जाँच आयोगको आवश्यक रहेको उनको भनाइ छ । तथ्य र प्रमाणले सार्य जहाँज दुर्घटना मात्रै नभएको स्पष्ट हुने जिकिर गरे । २०८१ को साउन ९ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । जहाँ १८ जनाको ज्यान गएको थियो । दुर्घटनामा खतिवडाका ज्वाईं, छोरी र नातीको निधन भएको थियो ।








प्रतिक्रिया