
काठमाडौं । लक्ष्मी सन्राइज बैंकका संस्थापक सेयरधनी राजेन्द्र खेतानले बैंकको सेयर स्वामित्व बढाएका छन् । बैंकका संस्थापक सेयरधनीहरु श्रवण कुमार गोयल र कैलास चन्द्र गोयल समुहको परिवारका सदस्हरुले बिक्री गरेको संस्थापक सेयर खेतानले किनेका हुन् ।
त्यस्तै अर्का संस्थापक सेयरधनीको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का पुर्वअध्यक्ष शैलेन्द्र गुरागाईं र उनका दाई भोगेन्द्र कुमार गुरागाईंसहित उनीहरुको परिवारका सदस्यहरुको नाममा रहेको सेयर पनि खेतानले किनेका हुन् । उक्त सेयर कारोबारका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ ।
तत्कालीन सन्राइज बैंकको ठुला संस्थापक सेयरधनीमध्येका गोयल परिवार र गुरागाईं परिवारले बैंकमा रहेको सबै सेयर बिक्री गरेर बाहिरिएका हुन् ।
बैंकमा श्रवण कुमार गोयको १.४२ प्रतिशत, कैलाश चन्द्र गोयलको १ प्रतिशत र गोयल परिवारबाटै ०.९५ प्रतिशत सेयर हिस्सा रहेको बैंकको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा देखिन्छ । वार्षिक प्रतिवेदनमा ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर हुने सेयरधनीको मात्रै वितरण उल्लेख हुन्छ । गोयल परिवाबाट ०.५ प्रतिशतभन्दा कम सेयर स्वामितव भएका अन्य सदस्यहरुको पनि सेयर बिक्री भएको छ ।
यस्तै गुरागाईं परिवारबाट भोगेन्द्र कुमार गुरागाईंको ०.५२ प्रतिशत सेयर रहेकोमा सबै सेयर बिक्री गरेर बाहिरिएका हुन् । परिवारका अन्य सदस्यहरुको नाममा रहेको सेयर पनि बिक्री गरेर गुरागाईं परिवार बैंकबाट बाहिरिएको हो । गुरागाईं परिवारबाट भुषण गुरागाईंको पनि लक्ष्मी सन्राइज बैंकमा करिब ९ लाख कित्ता सेयर थियो । भोगेन्द्रका भाई शैलेन्द्र गुरागाईंले भने साविकको सन्राइज बैंकमा रहेको संस्थापक सेयर बिक्री गर्दै बाहिरिसकेका थिए ।
सन्राइज बैंकमा मोतिलाल दुगड र मालचन्द्र दुगडबिचको विवादमा गुरागाईं परिवारले मध्यस्तता गरी बैंक सञ्चालक समितिको विवाद मिलाउने भूमिका खेल्दै आएको थियो । सन्राईज बैंकमा संस्थाहरुतर्फ महत्वपुर्ण भूमिका भएपनि लक्ष्मी बैंकमा मर्जर भएपछि गुरागाईं परिवाको बैंकमा कुनै उल्लेख्य अस्तित्व थिएन । ऊर्जा क्षेत्रमा ठुलो लगानी रहेको गुरागाईं परिवारले बैंकको सेयर बेचेर नयाँ हाइड्रोपावर परियोजना अगाडि बढाएको छ ।
गोयल परिवार र गुरागाईं परिवारले बिक्री गरेको अधिकांश सेयर बैंकको सबैभन्दा ठुला संस्थापक सेयरधनी राजेन्द्र खेतानले किनेका हुन् । खेतानले गत असार महिनामा बैंकमा करिब ६ प्रतिशत सेयर होल्डिङ बढाएको बताए । उनले प्रतिकित्ता १०० रुपैयाँमै किनेको बताए ।
‘बैंकका धेरै र ठूला संस्थापक सेयरधनीहरु धमाधम बाहिररहेका बेला मैले भने लक्ष्मी सनराईज बैंकमा मैले एकै महिनामा करिब ६ प्रतिशतले संस्थापक सेयरको होल्डिङ बढाएको छु,’ खेतानले क्लिकमान्डुसँग भने- ‘अहिले बैंकिङको प्रतिफल केही कम देखिए पनि ३/४ वर्षपछि भने मालामाल हुने विश्लेषणका साथ सेयर किनेको हुँ ।’
सेयर बजारमा ठूलो लगानी गरेका खेतान बजार घट्दा पनि नाफा कमाउने चतुर लगानीकर्ता हुन् ।
‘अर्थतन्त्रमा देखिएको सुस्तताले पछिल्ला वर्षहरुमा बैंकहरुको निष्क्रृय कर्जा बढिरहेको छ, जसले बैंकहरुले मोटो रकम सम्भावित जोखिम व्यवस्थाका लागि प्रोभिजनिङ गर्दा लाभांश क्षमता निकै कमजोर बनेको छ,’ खेतानले भने- ‘तर अर्थतन्त्रमा सुधार भएर प्रोभिजन राखिएको रकम फिर्ता भएपछि बैंकका लगानी गर्नेहरुलाई राम्रो हुन्, त्यसका लागि ३/४ वर्य धैर्य भएर कुर्नचाहिँ सक्नुपर्छ ।’
त्यस्तै बैंङ्कहरुले प्रत्येक वर्ष नाफाको २० प्रतिशत रिजर्भमा राखिरहेने हुनाले लगानीकर्ताको सम्पत्ति निरन्तर बढिरहने हुँदा बैंकमा गरेको लगानी सुरक्षित हुने उनको बुझाइ छ । त्यस्तै बैंकहरुले चल अचल सम्पत्तिमा गरेको लगानी पनि लगानीकर्ताकै हो।
‘बैंकिङ भनेको आज लगानी गरेर भोलि नै नाफा कमाइहाल्ने व्यवसाय होइन भन्नेकुरा हामी लगानीकर्ता बुझ्नुपर्छ,’ खेतानले भने- ‘नेपाल राष्ट्र बैंकले नियमन गर्ने र प्रोफेसनलहरुले व्यवस्थापन गर्ने हुँदा लगानीकर्ताले ठूलो तनाल झेल्नु पनि पर्दैन ।’
मर्जरपछि खेतान परिवारको बैंकमा घटेको स्वामित्व बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) विधेयकको व्यवस्था अनुसार राख्न पाउने अधिकतम सेयर कायम गर्नेगरी खेतानले सेयर किनिरहेका छन् ।
वाफियामा एकाघर परिवारको सदसयको कुनै एक बैंकमा अधिकतम १५ प्रतिशत र अर्को बैंकमा १ प्रतिशतभन्दमकम सेयर हिस्सा हुनुपर्ने व्यवस्था छ । खेतानले विवाह गरेको परिवारको छोरीको परिवार र आफ्नो परिवारसमेत गरेर २ परिवारको १५/१५ प्रतिशत हुनेगरी करिब बैंकको ३० प्रतिशत सेयर हिस्सा पुर्याउने योजनाअनुसार सेयर किनिरहेको देखिन्छ ।
हाल लक्ष्मी सन्राईज बैंकमा खेतान परिवार र उनको आफन्तको लगानीमा सबैभन्दा ठुलो सेयर छ ।
खेतान परिवारको लगानी रहेको लक्ष्मी कर्प नेपाल प्रालिको ७.७८ प्रतिशत, राजेन्द्र खेतानको श्रीमती सारिका खेतानको ४.१७ प्रतिशत, छोरी स्नेहा खेतानको ३.९१ प्रतिशत सेयर स्वामित्व छ । राजेन्द्र खेतानको आफ्नै नाममा २.३५ प्रतिशत सेयर छ । त्यस्तै खेतान परिवारकै सदस्य पुजा अग्रवाल खेतानको ०.८६ प्रतिशत सेयर छ ।
लक्ष्मी र सन्राईज बैंक १:१ को सेयर आदान प्रदान रेसियोमा आपसमा गाभिएर २०८० असार २९ गतेदेखि लक्ष्मी सन्राईज बैंकका नाममा एकीकृत कारोबार गरेका हुन् ।
नेपालको इतिहासमै पहिलोपटक बैंक मर्ज गराएका खेतानले बिमा मर्जरमा पनि पहिलो रेकर्ड राखेका छन् ।
यस्तो छ बैंकको वित्तीय अवस्था
लक्ष्मी सन्राइज बैंकले आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा ४०.९७ प्रतिशतले बढाएको हो । आव २०८०/८१ मा बैंकले २ अर्ब ९० करोड ४ लाख रुपैयाँ नाफा गरेको थियो।
बैंकको खुद ब्याज आम्दानी बढ्न नसके पनि फि तथा कमिसन आम्दानी र अन्य सञ्चालन आम्दानी उल्लेख्य बढेको छ । यस्तै सम्भावित कर्जा नोक्सानी व्यवस्थाको प्रोभिजन घटेको छ । जसले गर्दा बैंकको नाफा उल्लेख्य बढेको हो ।
खुद ब्याज आम्दानी ७.९८ प्रतिशतले घटेर ११ अर्ब ३७ करोड ६४ लाख पुगेको छ । त्यस्तै खुद फि तथा कमिसन आम्दानी ९.९९ प्रतिशतले बढेर २ अर्ब १८ करोड ८७ लाख पुगेको छ । त्यस्तै नेट ट्रेडिङ इन्कम पनि उल्लेख्य बढेर करिब १ अर्ब १२ करोड पुगेको छ ।
यता सम्भावित कर्जा नोक्सानी व्यवस्था अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । अघिल्लो आवमा ३ अर्ब ५८ करोड ८१ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेकोमा गत आवमा १ अर्ब १८ करोड २ लाख रुपैयाँमात्रै गरेको छ । जसले बैंकको खुद सञ्चालन आम्दानी १९.२२ प्रतिशतले बढेर १३ अर्ब ५० करोड ४४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कर्मचारी खर्च केही बढे पनि सञ्चालन नाफा ३८.५५ प्रतिशतले बढेर ६ अर्ब ९ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आवमा बैंकको सञ्चालन नाफा ४ अर्ब ४० करोड २० लाख रुपैयाँ थियो । बैंकले लोन राइटअफ (घाटा बुक) गर्न ४३ करोड ८ लाख गैरसञ्चालन खर्च पनि गरेको छ । जसले सञ्चालन नाफाको तुलनामा खुद नाफा बढ्न सकेन ।
नाफा बढ्दा विगतको बक्यौता ब्याज पनि केही असुली हुँदा बैंकको लाभांश क्षमता पनि बढेको छ। बक्यौता ब्याज उठाएर ७२ करोड नियामकीय जगेडाबाट सञ्चित नाफामा सारेको बैंकले गैरबैंकिङ सम्पत्ति बुक गर्दा ४ करोड रूपैयाँ नियामकीय जगेडामा थपेको छ । गत आर्थिक वर्षमा २ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको बैंकले विगतको सञ्चित नाफासहित कुल सञ्चित नाफा ३ अर्ब ५४ लाख रुपैयाँ पुगेको छ । जसबाट बैंकले १२.३४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।
२४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँ ५९ पैसाबाट बढेर १६ रुपैयाँ ९१ पैसा पुगेको छ । त्यस्तै जगेडा कोषमा १८ अर्ब ८ करोड ७१ लाख रुपैयाँ छ । असार मसान्तमा बैंकको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.१२ गुणा छ ।
गत आर्थिक वर्षमा बैंकले निक्षेप ३८ अर्बले बढाएर ३ खर्ब ६७ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै कर्जा साढे २७ अर्बले बढाएर २ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ पुर्याएको छ । कर्जा निक्षेप अनुपात ७७.१५ प्रतिशत मात्रै रहेको बैंकको अधिक तरलताको चापले गर्दा कर्जा विस्तार भएपनि खुद ब्याज आम्दानी बढ्न सकेन ।
गत असारमा बैंकको प्राथमिक पुँजीकोष अनुपात १०.१२ प्रतिशत सहित कुल पूँजीकोष अनुपात १२.७३ प्रतिशत छ । निष्कृय कर्जा ४.६३ प्रतिशतबाट ४.२५ प्रतिशतमा घटेको छ । खुद निष्कृय कर्जा १.०५ प्रतिशत छ । आधार दर ६.५० प्रतिशतमा झरेको छ ।










प्रतिक्रिया