क्रिकेटलाई सेयर ब्रोकरको साथ: ७ करोडको स्पोन्सर पाउँदा क्यान मख्ख, खेलाडी उत्साहित

1.2k
Shares

काठमाडौं । नेपाली क्रिकेट टोलीलाई ७ करोडको जर्सी प्रायोजन आएको छ । नेपाली टोलीको इतिहासमा ७ करोडको स्पोन्सर आएको यो पहिलो पटक हो। यसअघि नेपाल क्रिकेट संघ (क्यान) लाई नेपाल प्रिमियर लिग (एनपीएल) आयोजनाका लागि सिद्धार्थ बैंकले मुख्य प्रायोजकका रूपमा पाँच करोडको प्रायोजन गरेको थियो ।

तर, उक्त प्रायोजन भने पाँच वर्षका लागि थियो। अहिले क्यानले जर्सीको मुख्य प्रायोजनका लागि एक महिना पहिला टेन्डर आह्वान गरेको थियो, जसमा नासा सेक्युरिटिजले आफ्नो पक्षमा पार्न सफल भएको हो । अब देशकै धेरै कारोबार गर्ने सेयर ब्रोकर नासाले क्यानलाई वार्षिक रूपमा २ करोड ३६ लाख रुपैयाँ दिनेछ ।

तीन वर्षमा यो रकम ७ करोड ८ लाख हुन जान्छ। यति ठूलो रकम नेपाली क्रिकेटमा मात्र होइन, नेपाली खेलकुद इतिहासमा नै पहिलो पटक हो। यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा कतार एयरवेज प्रायोजक भएको थियो, जसमा एन्फाले एक करोड रुपैयाँको प्रायोजन पाएको थियो। हालसम्म उक्त प्रायोजन नै नेपाली खेलकुदको इतिहासमा सर्वाधिक राशीको प्रायोजनको रूपमा रहेको थियो ।

७ करोड पाउँदा क्यान मख्ख

जर्सी प्रायोजनका लागि मात्र ७ करोड पाउँदा अहिले क्यानलगायत सम्पूर्ण कार्यसमिति मख्ख छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यो क्यान मात्र नभई सम्पूर्ण क्रिकेटप्रेमीका लागि पनि खुसीको कुरा भएको बताए।

उनी नेपाली क्रिकेट इतिहासका लागि पनि यो गर्व गर्ने क्षण भएको बताउँदै, क्रिकेटका लागि यो एउटा नयाँ अध्याय सुरु भएको उल्लेख गरे । ‘नेपाली क्रिकेटका लागि यो गर्व गर्ने कुरा हो। यो स्तरको प्रायोजन आउँदा नेपाली क्रिकेटको नयाँ अध्याय सुरु हुनु हो,’ प्रायोजन सम्झौता पछि अध्यक्ष चन्दले भने ।

यता, क्यानका सचिव पारस खड्काले कुनै पनि खेल संघले सम्झौता गर्दा सम्झौता रकम खुलाउन नमिल्ने इतिहास रहेको बताउँदै अब क्यानले त्यो तोड्ने समय आएको उल्लेख गरे ।

‘यसअघि नेपाली खेलकुदमा कुनै पनि संस्थासँग सम्झौता हुँदा प्रायोजकले दिने रकम खुलाउन नमिल्ने इतिहास थियो। अब हामी खुलाउँछौं। म गर्वका साथ भन्न चाहन्छु, हामीले तीन वर्षका लागि ७ करोडको सम्झौता गरेका छौं,’ खड्काले भने।

खेलाडी उत्साहित

यस्ता खालको प्रायोजनले नेपाली क्रिकेट खेलाडीलाई थप हौसला मिल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलको भनाइ छ। उनले ठूलो प्रायोजन आउँदा खेलाडीलाई खेल बाहेक अन्य विषयमा सोच्न नपर्ने बताए ।

‘यस्तो किसिमको प्रायोजन आउँदा हामीलाई हौसला मिल्छ। ठूलो रकमको प्रायोजनले खेलाडीलाई आर्थिक विषयमा सहयोग मिल्छ,’ पौडेलले भने ।

क्रिकेटसँग जोडिन पाउनु भाग्यको कुरा होः नासा

नासा सेक्युरिटिजले नेपाली क्रिकेटसँग जोडिन पाउनु आफ्नो लागि भाग्यको कुरा भएको उल्लेख गरेको छ। नासाका प्रवन्ध निर्देशक मदन पौडेलले यो सम्झौताले नेपाली क्रिकेट मात्र होइन, सम्पूर्ण खेलप्रेमीसँग जोडिने माहौल बनेको बताए ।
उनले आफूहरूले क्रिकेट मात्र रोज्नुको कारण सम्पूर्ण खेलप्रेमीसँग जोडिन पाउनु पनि रहेको बताए ।

‘नेपाली क्रिकेटसँग केही हिसाबमा जोडिने पहिले देखिको योजना थियो। त्यो अहिले पूरा भएको छ। हामी अब क्रिकेट मात्र होइन, पूरै खेल जगतसँग पनि जोडिएका छौं,’ पौडेलले भने ।