ट्रम्प-पुटिन शिखरवार्ता: युक्रेन युद्ध अन्त्य होला ?

441
Shares

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै शुक्रवार अलास्कामा शिखरवार्ता हुन लागेको छ । युक्रेनमा शान्तिबहालीलाई उक्त वार्ताको प्रमुख एजेन्डा बनाइएको छ ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेर सुरु भएको युद्ध तीन वर्ष बितिसक्दा पनि टुंगिने लक्षण नदेखिएकोमा ट्रम्प र पुटिनबीचको वार्ताले त्यसलाई एउटा निष्कर्षमा पुर्‍याउने अपेक्षा गरिएको छ । यस तीन वर्षको अवधिमा दुवैतर्फ गरी लाखौं मानिसको ज्यान गएको छ र दशौं लाख मानिस विस्थापित भएका छन् । युद्ध अन्त्य गर्नका लागि यसअघि पनि केही पहलहरू भएका थिए तर ती निष्कर्षमा नपुग्दै टुंगिएर युद्ध जारी रहेको थियो ।

तर, ट्रम्प र पुटिनबीचको शिखरवार्ताले शान्तिको आधार तयार पार्ने विषयमा पनि प्रशस्त सन्देहहरू छन् । विशेषगरी ट्रम्पले शान्तिबहालीका लागि युक्रेनले रुसको नियन्त्रणमा रहेको भूभागमाथिको दाबी परित्याग गर्नुपर्ने संकेत दिएपछि युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले त्यसलाई ठाडै अस्वीकार गरेका छन् । युक्रेनलाई सहभागी नगराइकन युक्रेनको भविष्यका बारेमा फैसला गर्ने अधिकार कसैलाई पनि नरहेको अडान पनि उनले लिएका छन् ।

यथार्थवादी विश्लेषकहरू चाहिँ आवरणमा यो युद्ध रुस र युक्रेनले लडिरहेको भए पनि खासमा यो रुस र नेटोको युद्ध हो भन्छन् । अमेरिकी नेतृत्वको पश्चिमी सैन्य गठबन्धन नेटोले आक्रामक रूपमा पूर्वी युरोपमा गरिरहेको विस्तारका कारण आफ्नो सुरक्षा जोखिममा परेको भन्दै रुसले आपत्ति उठाइरहेको थियो । ऐतिहासिक रूपमा रुसको कमजोर कडीका रूपमा युक्रेनी भूमि रहेको छ र त्यहाँ पश्चिमा शक्तिको प्रभावलाई रुसले कहिले पनि रुचाएको छैन ।

युक्रेनलाई पनि नेटोको सदस्य बनाउने भनी अमेरिकाले सन् २००८ मै घोषणा गरेपछि रुसले त्यसलाई रोक्नका लागि भरमग्दुर प्रयास गर्दै आएको छ । सन् २०१४ मा क्राइमियामाथि नियन्त्रण कायम गरेर पूर्वी युक्रेनमा रुसीभाषीहरूको सहायताका लागि पृथक्तावादी युद्धलाई सहयोग गरिरहेको रुसले सन् २०२२ सम्म आइपुग्दा नेटोको खतरनाक योजनालाई असफल बनाउन युक्रेनमाथि आक्रमण गरेको थियो । वास्तवमा रुसले युक्रेनी भूमिमा युक्रेनसँग मात्र नभई सम्पूर्ण नेटोसँग लडाइँ गरेकाले नै यो युद्ध यति लामो अवधिसम्म चलिरहेको हो ।

रुसका सुरक्षा चिन्ताहरूलाई सम्बोधन नगरुन्जेल युद्ध अन्त्य हुने छैन । पश्चिमले आफ्नो सारा शक्ति लगाएर रुसलाई झुकाउनका लागि प्रयास गरिरहेको भए पनि रुसले मानवीय क्षतिका बावजूद युद्ध जारी राखेको छ ।

पश्चिमले लगाएको कठोर आर्थिक प्रतिबन्धले पनि रुसको सामर्थ्यलाई कमजोर बनाउन सकेन । पश्चिमको हतियार भण्डार रित्तिन थालेकोमा रुसले लगातार हतियार बनाइरहेको छ र इरान तथा उत्तर कोरिया जस्ता उसका साझेदारहरूले उसलाई सहायता पनि गरिरहेका छन्।

दोस्रोपटक राष्ट्रपति बनेदेखि नै ट्रम्पले पुटिनसँग कुराकानी गरेर युद्ध अन्त्य गराउने इच्छा व्यक्त गरिरहेका थिए । तर, पुटिनले रुसको सुरक्षा प्रत्याभूति नहुन्जेल वार्ता सार्थक नहुने भन्दै युक्रेनमाथि आक्रमण जारी राखेका थिए ।

यस्तो अवस्थामा युद्ध नटुंगिने देखिएको छ । विशाल मानवीय र आर्थिक क्षति गराइरहेको युद्ध अन्त्य गरेर शान्ति बहाल गराउनुपर्ने निष्कर्षमा अमेरिकाका राष्ट्रपति ट्रम्प पुगिसकेका छन् । अमेरिका स्वयंको हतियार भण्डार खाली हुँदै गएकाले अब युक्रेनलाई सहयोग गर्न नसक्ने स्थिति आइसकेको छ । अन्त्यहीन युद्धको साटो आधाअधुरो जस्तो भए पनि शान्ति नै उपयुक्त हुने ट्रम्प प्रशासनको निष्कर्ष छ । त्यसैले पुटिनसँग कुरा गर्न ट्रम्प लालायित भएका हुन् ।

दोस्रोपटक राष्ट्रपति बनेदेखि नै ट्रम्पले पुटिनसँग कुराकानी गरेर युद्ध अन्त्य गराउने इच्छा व्यक्त गरिरहेका थिए । तर, पुटिनले रुसको सुरक्षा प्रत्याभूति नहुन्जेल वार्ता सार्थक नहुने भन्दै युक्रेनमाथि आक्रमण जारी राखेका थिए । यसबीचमा पुटिनसँग ट्रम्प बेस्सरी रिसाएका थिए र शान्तिका लागि ९० दिनको म्याद दिँदै त्यसलाई पालन नगरेमा थप कठोर प्रतिबन्धको धम्की पनि दिएका थिए ।

बाहिरबाहिर ट्रम्पले पुटिनलाई धम्क्याइरहेका भए पनि भित्रभित्रै अमेरिकी र रुसी अधिकारीहरूबीच वार्ताका लागि तयारी चलिरहेको थियो । रुसको साझेदार मुलुक बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले पुटिनसँग ट्रम्पको वार्ता सम्भव बनाउनका लागि भूमिका खेलेका रहेछन् । टाइम पत्रिकामा साइमन शुस्टरको एक्सक्लुसिभ समाचार ‘द सिक्रेट ह्वाइट हाउस ब्याकच्यानल द्याट पेभ्ड द वे फर ट्रम्प्स समिट विथ पुटिन’ मा उल्लेख भएअनुसार, लुकाशेन्कोले मस्को र वाशिङटनबीचको अनौपचारिक माध्यमका रूपमा वार्ताको वातावरण मिलाएका थिए । शुस्टर स्वयंले बेलारुसको राजधानी मिन्स्कमा लुकाशेन्कोसँग कुराकानी गरेर तयार पारेको समाचारमा लुकाशेन्कोले ट्रम्पका निकटवर्ती जोन कोल र किथ केलोगलाई भेटेर वाशिङटनको सन्देश मस्कोलाई सुनाएको उल्लेख छ । ट्रम्पका विशेषदूत स्टिभ विटकोफले गत साता पुटिनलाई मस्कोमा भेटेपछि ट्रम्प र पुटिनको शिखरवार्ताको मिति तय भएको हो ।

अमेरिका निवर्तमान राष्ट्रपति जो बाइडनले पुटिनसँग सिधै वार्ता गर्न मानेका थिएनन् भने ट्रम्प चाहिँ पुटिनसँग कुरा गर्न आतुर छन् । पुटिनसँग कुरा गरेर यो युद्ध अन्त्य गर्न पाए नोबेल शान्ति पुरस्कार पाइने आशा ट्रम्पले गरिरहेका छन् । अरू कसैले गराउन नसकेको शान्ति सम्झौता गराएर आफूलाई सर्वोच्च ‘डीलमेकर’ का रूपमा इतिहासले सम्झोस् भनी ट्रम्पले सपना देखिरहेका छन् । लुकाशेन्कोले ट्रम्पको त्यही आकांक्षालाई दोहन गरेको शुस्टरले लेखेका छन् ।

त्यति मात्र नभई व्यापारिक सोच भएका ट्रम्पले युद्धोत्तर युक्रेनको पुनर्निर्माणमा ठेक्का पाउने आशा पनि गरिरहेका छन् । रुसले नियन्त्रणमा लिएको युक्रेनी भूभागमा रहेको खनिज पदार्थ दोहन गरी करोडौं डलर कमाउन सकिने सम्भावनाले पनि ट्रम्पलाई पुटिनसँग वार्ताका लागि प्रेरित गरेको स्पष्ट छ । शान्तिबहाल भएमा रुसले पनि अमेरिकी कम्पनीहरूका लागि आफ्नो देशमा व्यापार खुला गर्ने संकेत दिएको छ ।

पुटिनले पनि ट्रम्पसँग कुरा गर्दा लाभ हुने देखिरहेका छन् । युद्ध सुरु भएदेखि उनलाई पश्चिमी विश्वले एक्ल्याइरहेको अवस्थामा पश्चिमको सबभन्दा शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति नै वार्ताका लागि तयार हुँदा पुटिनलाई एक किसिमको वैधता प्राप्त हुन्छ । उनलाई पश्चिमसँग रोकिएको व्यापार सुचारु गर्न पनि अवसर मिल्नेछ ।

फेरि पुटिन यस सम्मेलनमा बलियो हैसियतका साथ जाँदैछन् । अहिले रुसले युक्रेनको लगभग २० प्रतिशत भूमिमा नियन्त्रण कायम गरेको छ । नियन्त्रित भूमिमा उसले खडा गरेको प्रतिरक्षात्मक सैन्यबल यति बलियो छ कि युक्रेनले त्यसलाई छेड्नै सक्दैन । रुसले नियन्त्रण कायम गरेको भूभाग युक्रेनले फिर्ता लिन सक्ने कुनै सम्भावना छैन ।

यस्तो अवस्थामा युक्रेनले गुमेको भूभागमाथिको दाबी छोड्नुपर्ने नै हुन्छ । सन् २०२२ को सेप्टेबरमा रुसले आफ्नो संविधानमा युक्रेनका दोनेत्स्क, लुगान्स्क, खर्सन र जापोरिजा क्षेत्र रुसी भूभाग भएको उल्लेख गरिसकेको छ । त्यसमध्ये कुनै पनि क्षेत्रमा रुसले पूर्ण कब्जा भने गरिसकेको छैन तर सबै गरेर युक्रेनको २० प्रतिशत भूभाग अहिले रुसको नियन्त्रणमा छ ।

युक्रेनले भूमि त्याग्नुपरेछ भने पनि अहिले रुसको नियन्त्रणमा रहेको भूमि मात्र छोड्ने हो कि चारवटै क्षेत्रका सम्पूर्ण भूमि रुसलाई सुम्पनुपर्ने हो, स्पष्ट छैन । अहिलेको ‘कन्ट्याक्ट लाइन’ लाई ‘फ्रीज’ गर्नका लागि ट्रम्पले पुटिनलाई वार्ताका क्रममा दबाब दिन सक्छन् । अब पुटिन त्यतिमै सन्तुष्ट हुन्छन् कि युद्धलाई कायम राखिरहेर युक्रेनको थप भूमिमा नियन्त्रण कायम गर्नका लागि अघि बढ्छन् भन्ने प्रश्न महत्त्वपूर्ण छ । क्राइमियामा रुसले सन् २०१४ मै कायम गरेको नियन्त्रणलाई चाहिँ अमेरिकाको ट्रम्प प्रशासनले मान्यता दिन खोजेको बताइएको छ ।

तर, युक्रेन आफ्नो भूमिको एक इन्च पनि त्याग्ने पक्षमा छैन । जेलेन्स्कीका लागि भूमि त्यागको स्थिति राजनीतिक आत्महत्या जस्तै हो । उनको कार्यकालमा युक्रेनले २० प्रतिशत भूमि गुमाउनुपरेको भनी इतिहासमा सधैंभरिका लागि कलंकको टीका लाग्नेछ । सबै रुसी सैनिकहरू रुसनियन्त्रित भूभागका साथै क्राइमियाबाट हट्नुपर्ने माग जेलेन्स्कीले राख्दै आएका छन् ।

उनको यस्तो माग रहेको भए पनि युद्धभूमिको यथार्थ उनको पक्षमा छैन । सन् २०२३ मा युक्रेनले चलाएको प्रत्याक्रमण कारवाहीले खर्सनमा रुसी सैनिकहरूलाई पछि हट्न बाध्य बनायो तर त्यसबाट युक्रेनले सीमित लाभ मात्र लिन सक्यो । त्यस्तै सन् २०२४ मा युक्रेनले रुसको कुर्स्क क्षेत्रको विशाल भूभागमा नियन्त्रण कायम गरेको भए पनि महिनौंसम्म चलेको सैन्य कारवाहीपछि रुसले त्यो भूभाग फिर्ता लिइसकेको छ । रुसलाई यसमा उत्तर कोरियाली सैनिकहरूले पनि सहायता गरेका थिए।

त्यससँगै अब युक्रेनीहरूमा युद्ध अन्त्य गरेर शान्तिबहाली हुनुपर्ने जनमत बढ्दै गएको छ । ग्यालप नामक संस्थाले युक्रेनीहरूमाझ गरेको सर्वेक्षणको नतिजा गत साता प्रकाशित भएको थियो । त्यसमा ६९ प्रतिशत युक्रेनीले सकेसम्म छिटो युद्ध अन्त्य हुनुपर्ने धारणा राखेका छन् भने जम्मा २४ प्रतिशतले युक्रेनको विजय नहुन्जेल युद्ध जारी रहनुपर्ने भनेका छन् ।

युक्रेनी सैनिक र जनताका साथै पश्चिमी साझेदारहरू पनि यस अन्त्यहीन युद्धदेखि वाक्कदिक्क भइसकेका छन् । बाहिर युक्रेनलाई अन्तिमसम्म समर्थन गर्ने भनी पश्चिमी नेता र अधिकारीहरूले बयान दिने गरेको भए पनि भित्री भेटघाटमा उनीहरू युक्रेनी जनताको ज्यान बचाउन र देशलाई स्थिर बनाउनका लागि युक्रेनले आफ्नो गुमेको भूमिमाथिको दाबी छोड्नुपर्ने बताइरहेका छन् भनी पश्चिमकै सञ्चारमाध्यमहरूले समाचार प्रकाशन गरेका छन् ।

त्यसमाथि ट्रम्पले पुटिनसँग भेटघाटको योजना बनाएर जेलेन्स्कीको अडान आफ्नो लागि महत्त्वपूर्ण नरहेको सन्देश दिएका छन् । वास्तवमा ट्रम्पले जेलेन्स्कीलाई पटक्कै मन पराउँदैनन् किनकि अघिल्लो कार्यकालमा जेलेन्स्कीलाई ट्रम्पले बाइडनका छोरा हन्टरमाथि अनुसन्धान गर्न भन्दा जेलेन्स्कीले टेरेका थिएनन् र जेलेन्स्कीसँगको त्यही संवादका कारण ट्रम्पमाथि महाभियोग लागेको थियो । दोस्रो कार्यकालको सुरुमै ट्रम्पले ओभल अफिसमा जेलेन्स्कीलाई बेस्सरी झपारेका थिए । जेलेन्स्कीले आपत्ति उठाइरहेमा उनलाई विस्थापित गरी भ्यालरी जालुज्नीलाई राष्ट्रपति बनाउनका लागि पनि ट्रम्प तयार देखिन्छन् ।


यस पृष्ठभूमिमा ट्रम्प र पुटिनको शिखरवार्ताले शान्तिको पक्षमा माहोल बनाउने अपेक्षा गर्न सकिन्छ । यसै वार्ताबाट युद्ध टुंगिहाल्छ भनेर अपेक्षा गरिहाल्न मिल्दैन । युद्ध भइरहेका विभिन्न स्थानमा युद्धविराम गर्ने, युद्धबन्दीहरू साटासाट गर्ने, मानवीय करिडोर बनाएर मानिसहरूलाई सुरक्षित स्थानमा लैजाने लगायतका काम गरेमा अन्तिम युद्धविरामका लागि उपयुक्त वातावरण निर्माण हुने विश्लेषकहरू बताउँछन् ।

यस्तो किसिमको कूटनीतिक पहल इतिहासमा पनि भएको उदाहरण छ । अमेरिका र सोभियत संघबीच चलेको शीतयुद्ध चरममा पुगेको बेलामा समेत इन्टरमिडिएट–रेन्ज न्युक्लियर फोर्सेस ट्रीटी लगायत हातहतियारमाथिको नियन्त्रण तथा संकट रोकथामका लागि सहमतिहरू भएका थिए । ट्रम्प र पुटिनबीचको शिखरवार्ताले पनि युक्रेनको अखण्डताको जटिल विषयमा प्रवेश गर्नुअघि अन्य साना विषयलाई सम्बोधन गर्न सकेमा शान्तिको वातावरण बन्ने विश्लेषकहरूको धारणा छ ।

ट्रम्प र पुटिनबीच वार्ता हुनु सकारात्मक भए पनि कतिपय राजनीतिक प्रश्नहरूले संसारलाई उद्वेलित गर्नेछ । रुसलाई माथि पार्ने गरी शान्ति सम्झौता भएमा त्यसले शक्तिको आडमा जुनसुकै राष्ट्रले पनि आफ्नो भूभाग बढाउन सक्ने सन्देश जानेछ । साना मुलुकहरूको सार्वभौमसत्ता सधैं जोखिममा पर्नेछ । यसले चीनलाई ताइवानमाथि नियन्त्रण कायम गरेर ‘एक देश, दुई प्रणाली’लाई अन्त्य गर्न उत्प्रेरित गर्न सक्छ ।

ट्रम्प र पुटिनको वार्ताले युक्रेन युद्धलाई जादूयी रूपमा अन्त्य गर्छ भनी अपेक्षा गर्न सकिँदैन । तर, यसले द्वन्द्व व्यवस्थापनका लागि सकारात्मक भूमिका खेल्ने सम्भावनालाई अंगीकार गर्नुपर्ने हुन्छ

तर, पश्चिमले जति सहयोग गरे पनि युक्रेनले जित्ने सुनिश्चितता नभएकाले यस अन्त्यहीन युद्धमा थप हजारौं मानिसको ज्यान जाने सम्भावना भन्दा सीमित शान्ति नै स्वीकार्य विकल्प हो ।

अमेरिका र रुसका राष्ट्रप्रमुखबीचको वार्ताले कतिपय सहमतिको ढोका खोल्नका लागि सहयोग गर्ने अपेक्षा विश्लेषकहरूले गरेका छन् । जस्तो, युक्रेनलाई सबै पक्षले सुरक्षा प्रत्याभूति दिनुपर्ने हुन्छ । तत्कालका लागि युक्रेनले आफ्ना केही भूभाग गुमाउनुपरे पनि रुसले भविष्यमा आक्रमण नगरोस् भन्ने सुनिश्चितताका लागि पश्चिमले सुरक्षा प्रत्याभूति दिनुपर्छ । तर, युक्रेनलाई नेटोको सदस्य बनाउन खोजेर त्यस्तो प्रत्याभूति गर्न सकिँदैन ।

त्यस्तै रुसमाथि लगाइएका प्रतिबन्धहरूलाई फुकुवा गर्नुपर्छ । शान्ति सम्झौतालाई पक्का बनाउनका लागि रुसमाथिको प्रतिबन्ध क्रमशः हटाउनु उचित हुन्छ । रुसलाई एक्ल्याउने भन्दा पनि विश्व मञ्चमा उचित स्थान दिएर शक्तिराष्ट्रको मान्यता दिने काम गर्दा भविष्यमा रुसले आक्रामकता नदेखाउने सम्भावना रहन्छ । रुसको सुरक्षालाई जोखिममा पार्ने कार्य पश्चिमले गर्नु हुँदैन ।

ट्रम्प र पुटिनको वार्ताले युक्रेन युद्धलाई जादूयी रूपमा अन्त्य गर्छ भनी अपेक्षा गर्न सकिँदैन । तर, यसले द्वन्द्व व्यवस्थापनका लागि सकारात्मक भूमिका खेल्ने सम्भावनालाई अंगीकार गर्नुपर्ने हुन्छ । युद्धहरू सम्झौतामै टुंगिने गरेको इतिहासलाई विचार गर्दै तीन वर्षभन्दा बढी लामो समयदेखि चलिरहेको युद्धलाई अन्त्य गर्ने सबै किसिमका पहललाई स्वागत गर्नुपर्छ ।