आर्थिक वृद्धिदर ४.०५ प्रतिशत हुने अनुमान, दोस्रो त्रैमासमा अर्थतन्त्रका १६ क्षेत्रमा सकारात्मक वृद्धि

182
Shares

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत रहने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा अर्थतन्त्रको आकारमा यो सुधार देखिएको हो। कार्यालयका अनुसार मौसमी प्रभाव समायोजन नगरिएको तथ्याङ्कका आधारमा यो वृद्धिदर तय गरिएको हो भने अघिल्लो त्रैमासको तुलनामा मौसमी प्रभाव समायोजित वृद्धिदर २.०४ प्रतिशत रहने देखिएको छ।

यस अवधिमा अर्थतन्त्रका १८ वटा औद्योगिक क्षेत्रहरूमध्ये १६ वटामा सकारात्मक वृद्धि देखिएको छ भने खानी तथा उत्खनन र निर्माण क्षेत्रमा भने गिरावट (ऋणात्मक वृद्धि) देखिएको छ।

तथ्याङ्क अनुसार सबैभन्दा उच्च वृद्धि विद्युत्, ग्यास तथा वाष्प आपूर्ति क्षेत्रमा २२.७४ प्रतिशत रहेको छ। यस्तै, वित्तीय तथा बीमा क्षेत्रमा १२.५१ प्रतिशत, आवास तथा भोजन क्षेत्रमा ९.६५ प्रतिशत, र यातायात तथा भण्डारण क्षेत्रमा ५.१८ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ।

अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर भने २.२१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। धानको उत्पादनमा केही कमी आए पनि पशुपन्छी, तरकारी र फलफूल उत्पादनमा भएको सामान्य वृद्धिले यस क्षेत्रलाई सकारात्मक बनाएको कार्यालयले जनाएको छ।

विद्युत् उत्पादनमा भएको बढोत्तरी, बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन र कर्जा प्रवाहमा भएको वृद्धि, बीमा प्रिमियम संकलनमा सुधार तथा पर्यटकीय आगमनमा देखिएको उत्साहका कारण समग्र आर्थिक गतिविधिमा सुधार आएको विज्ञप्तिमा उल्लेख छ।

यद्यपि, निर्माण सामग्रीको आयातमा आएको कमी र धान बालीको उत्पादनमा देखिएको गिरावटले गर्दा केही क्षेत्रको वृद्धिदर सामान्य अवस्थामा खुम्चिएको छ। कार्यालयका अनुसार खानी तथा उत्खनन क्षेत्रमा ०.८५ प्रतिशत र निर्माण क्षेत्रमा ०.५९ प्रतिशतको ऋणात्मक वृद्धि देखिएको छ।

व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन र आयातमा भएको वृद्धिका कारण थोक तथा खुद्रा व्यापार क्षेत्रमा ४.११ प्रतिशतको वृद्धि हुने अनुमान छ। अन्य क्षेत्रहरूमा पानी आपूर्ति र फोहोर व्यवस्थापनमा ०.५५ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षामा १.११ प्रतिशत र शिक्षा क्षेत्रमा १.१६ प्रतिशतको न्यून वृद्धि हुने देखिएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सन् २०१०/११ (आर्थिक वर्ष २०६७/६८) लाई आधार वर्ष मानेर यी त्रैमासिक अनुमानहरू तयार पारेको हो। यस तथ्याङ्कले मुलुकको अर्थतन्त्र सही दिशामा अगाडि बढिरहेको संकेत गरे तापनि निर्माण जस्ता महत्त्वपूर्ण क्षेत्रमा देखिएको सुस्ततालाई नीतिगत तहबाट सम्बोधन गर्नुपर्ने देखिएको छ।