ओली र लेखक छुट्ने, रिट खारेज गर्दै म्याद नथप्न परमादेश जारी

1.2k
Shares

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाको आदेश दिएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो ।

सोमबार न्यायाधीशद्वयको संयुक्त इजलासले ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै अब उनीहरुको म्याद नथप्न परमादेश जारी गरेको हो ।

ओली र लेखक दुवैको हिजो मात्र तेस्रो पटक ५ दिनका लागि म्याद थप भएको थियो ।

‘उनीहरूको हकमा चैत २१ गतेदेखि लागुहुने गरी तेस्रो पटक ५ दिनको म्याद थप अनुमति गर्ने गरी काठमाडौं जिल्ला अदालतबाट भएको आदेश अनुसारको समयअवधिमा अनुसन्धान कार्य सम्पन्न भई मुद्दा चल्ने वा नचल्ने निर्णय भएमा सोही अनुसार र सो हुन नसकेमा तत्पश्चात अर्थात, तेस्रो पटक थपिएको म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई ।।। प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनु भनी परमादेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ।

सर्वोच्चको परमादेश अनुसार अब म्याद थप्न पाइने छैन । ५ दिनभित्र मुद्दा बुझाउनुपर्ने हुन्छ । अन्यथा उनीहरुलाई साधारण तारेख वा धरौटीमा छोड्नुपर्ने छ ।

हिजोमात्रै काठमाडौं जिल्ला अदालतले ओली-लेखकलाई पाँच दिन हिरासतमै राख्न प्रहरीलाई अनुमति दिएको थियो । उनीहरूलाई रिहाका लागि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरिएको थियो । उक्त रिटमा सोमबार बहस सकिएसँगै सर्वोच्चले रिहाको आदेश दिएको थियो ।