
काठमाडौं । विगत केही दिनयता विकसित घटनाक्रमले युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीको राजनीतिक भविष्यका विषयमा प्रश्न उठाएको छ ।
जेलेन्स्कीले जुलाईको तेस्रो हप्तामा देशका भ्रष्टाचारनिरोधी निकायहरूलाई कमजोर बनाउने कानुन ल्याएपछि त्यसको निकै चर्को विरोध भएको थियो । रुसले युक्रेनमाथि आक्रमण गरेपछिको असाधारण अवस्थामा पहिलोपटक जेलेन्स्कीको विरोधमा पहिलोपटक यति विशाल प्रदर्शन भएको थियो । जनताको विरोध चर्किंदै गएपछि जेलेन्स्की नयाँ कानुन फिर्ता लिन बाध्य भएका छन् ।
नेशनल एन्टीकरप्शन ब्यूरो अफ युक्रेन र स्पेसलाइज्ड एन्टीकरप्शन प्रोसिक्युटर्स अफिसको स्वतन्त्रतामा आघात पुग्ने गरी जेलेन्स्कीले कानुन ल्याएका थिए । ती निकायमा रुसी प्रभाव परेको भन्दै उनले नयाँ कानुनको प्रतिरक्षा गर्न खोजेका थिए । तर, त्यस्तो किमिसको रुसी प्रभावको प्रमाण उनले पेश गर्न सकेका थिएनन् । ती निकायलाई कमजोर बनाएर भ्रष्टाचारको दाग लागेका आफ्ना साझेदार र सहयोगीहरू ओलेक्सी चेर्नीसोभ, टिमुर मिन्डिच र ओल्गा स्टेफानिस्ना लगायतलाई जोगाउनका लागि उनले कानुन ल्याएको भनी आलोचकहरूले तर्क गरेका थिए ।
युक्रेन पहिलेदेखि नै भ्रष्टाचारका लागि कुख्यात रहँदै आएको मुलुक हो । अहिले पनि ट्रान्सपरेन्सी इन्टरनेशनलको सूचीमा १८० देशमध्ये युक्रेन १०५औं स्थानमा छ । पश्चिमाहरूले युक्रेनमा व्याप्त भ्रष्टाचारका बारेमा पहिलेदेखि नै चिन्ता व्यक्त गर्दै आइरहेका थिए ।
देशमा भ्रष्टाचार घटाउने वाचाका साथ चुनाव जितेका जेलेन्स्की आफैंले भ्रष्टाचारलाई प्रोत्साहन पुग्ने गरी नयाँ कानुन ल्याएपछि त्यसको विरोधमा जनता सडकमा आए । विरोध चर्किंदै जाँदा पश्चिमी साझेदारहरूले पनि सहायता रोकिदिए । युरोपेली संघले १.७ अर्ब डलर बराबरको सहायतामा रोक लगायो । यो गैरलोकतान्त्रिक कदम भएको भन्दै युरोपेली संघले युक्रेनको सदस्यता प्रक्रियाका साथै अन्य सहयोगहरू जोखिममा परेको चेतावनी दियो ।
त्यसपछि जेलेन्स्की हच्किए र अर्को कानुन ल्याएर भ्रष्टाचारनिरोधी निकायको स्वतन्त्रतालाई पुनर्बहाली गरे । तर, त्यसबीचमा युक्रेनीहरू उनीसँग आक्रोशित भइसकेका छन् र अन्तर्राष्ट्रिय समुदायले पनि उनीप्रति शंका गर्न थालिसकेको छ ।
जेलेन्स्कीको पाँच वर्षे कार्यकाल सन् २०२४ को मे महिनामै अन्त्य भइसकेको थियो । तर, अहिले युक्रेनमा युद्ध चलिरहेकाले मार्सल ल लगाइएको छ र त्यसले युद्धकालमा निर्वाचन गर्न रोक लगाउँछ । युद्ध अन्त्य नहुन्जेल निर्वाचन हुने सम्भावना छैन । रुसले जेलेन्स्की अवैध राष्ट्रपति भएकाले उनीसँग वार्ता नगर्ने अड्डी लिइरहेको छ ।
धेरेजसो युक्रेनीहरूले पनि सुरक्षा जोखिम कायम रहेकाले तत्काल निर्वाचन सम्भव नरहेको बताउने गरेका छन् । तर, जेलेन्स्कीका आलोचकहरू निर्वाचनलाई अनिश्चित कालसम्म स्थगित गरिरहँदा एक व्यक्तिको हातमा शक्ति केन्द्रीकृत हुने र लोकतान्त्रिक जवाफदेहिता कमजोर बन्ने तर्क गर्छन् ।
जेलेन्स्कीको उत्तराधिकारीका रूपमा हेरिएका जालुज्नीसँग देश चलाउने राजनीतिक अनुभव छैन । युद्धोत्तर युक्रेनको शासनका लागि आवश्यक राजनीतिक गठबन्धन, नागरिक स्तरको सञ्जाल र कूटनीतिक निपुणता जालुज्नीमा छ कि छैन भन्ने स्पष्ट नभएको विश्लेषकहरू बताउँछन्
जेलेन्स्कीले गलत निर्णय लिएकाले समस्यामा पर्न थालेको भनी फाइनान्सियल टाइम्समा प्रकाशित लेख ‘द पोलराइजिङ पावर अफ आन्द्रे येरमाक, युक्रेन्स अदर वारटाइम लिडर’ मा पनि उल्लेख गरिएको छ । त्यसमा उल्लेख भएअनुसार, गत जुन महिनामा गरिएको सर्वेक्षणमा जेलेन्स्कीको समर्थन सूचकांक घटिरहेको देखिन्छ । उनीप्रति युक्रेनीहरूको विश्वास अघिल्लो महिनाको तुलनामा ९ प्रतिशतले घटेको थियो । त्यस्तै मे महिनामा भएको अर्को सर्वेक्षणमा जेलेन्स्कीलाई विश्वास नगर्ने युक्रेनीहरूले उनमा निरंकुशताका लक्षणहरू देखिन थालेको दाबी गरेका थिए ।
जेलेन्स्कीले युद्धकालीन कानुनको दुरुपयोग गर्दै कार्यकारी आदेशमार्फत विपक्षी दलका नेता, आफ्ना विरोधी पत्रकार र व्यापारीहरूलाई तारो बनाउने गरेको आरोप छ । रुससँग सम्बन्ध राखेको भनेर जेलेन्स्कीले सन् २०२२ मै ११ वटा विपक्षी दलहरूमाथि प्रतिबन्ध लगाएका थिए । त्यस्तै उनले देशका सबै टीभी च्यानललाई गाभेर सरकारी टीभी बनाएका थिए ।
त्यसका साथै तत्कालीन गृहमन्त्री डेनिस मोनास्तिर्स्कीको रहस्यमय मृत्युमा पनि जेलेन्स्कीको हात रहेको आशंका गरिएको थियो। जेलेन्स्कीलाई राष्ट्रपति बनाउनका लागि प्रमुख भूमिका खेलेका अर्बपति इहोर कोलोमोइस्कीलाई पनि सन् २०२३ मा ठगीको आरोपमा पक्राउ गरेर हिरासतमा राखिएको छ र गत फेब्रुअरी महिनामा उनी लगायतका व्यक्तिलाई देशद्रोहको मुद्दा समेत लगाइएको छ । त्यस्तै जेलेन्स्कीको चर्को विरोध गर्ने अमेरिकी पत्रकार गोन्जालो लिरालाई युक्रेनी सुरक्षाकर्मीहरूले पक्राउ गरी चरम यातना दिएर हत्या गरेको आरोप छ । यी सबै घटनाहरूका कारण जेलेन्स्कीले निरंकुश शासन चलाइरहेको आरोपलाई बल पुगेको छ ।
युक्रेनमा यति धेरै विवाद भइरहँदा जेलेन्स्कीको अन्तर्राष्ट्रिय विश्वसनीयता पनि कमजोर भइरहेको छ । गत फेब्रुअरी महिनामा अमेरिका भ्रमण गर्दा जेलेन्स्कीले अलिक बढी बोलेकाले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भ्यान्सले बेस्सरी झपारेका थिए । पहिलाको जस्तो गरी उनलाई पश्चिमी राष्ट्रहरूमा बोलाएर स्वागत सत्कार गर्न छोडिएको छ ।
अमेरिका र युरोपेली संघले जेलेन्स्कीको नेतृत्वको अब मिति सकिएको अनुभव गर्न थालेको विश्लेषकहरू बताउँछन् । अनहर्ड अन्लाइन पत्रिकामा पत्रकार टमस फाजीले ‘ह्याज जेलेन्स्की लस्ट द वेस्ट ?’ शीर्षकमा लेख लेखेर जेलेन्स्की पश्चिमी साझेदारहरूका लागि बोझ बन्न थालेको तर्क गरेका छन् । जेलेन्स्कीले युक्रेनलाई एकढिक्का राखेर रुसको प्रतिकार गर्न नसक्ने सोच पश्चिमाहरूमा आउन थालेको देखिन्छ । युक्रेनको नेतृत्वमा परिवर्तन ल्याएमा जनताले पनि स्वीकार गर्ने र युक्रेनलाई युरोपेली संघमा ल्याउन पनि सजिलो हुने आकलन पश्चिमले गरिरहेको बताइन्छ ।
यसैबीच रुसको गुप्तचर निकाय एसभीआरले गत साता सार्वजनिक गरेको एक प्रतिवेदनमा अमेरिकी र बेलायती अधिकारीहरूले आल्प्स पर्वतको एक शहरमा जेलेन्स्कीका चीफ अफ स्टाफ आन्द्रे येरमाक, युक्रेनी गुप्तचर निकाय जीयूआरका प्रमुख बुदानोभ र पूर्व सेनाप्रमुख भ्यालरी जालुज्नीसँग गोप्य बैठक गरेर युक्रेनको भविष्यका बारेमा कुराकानी चलाएको उल्लेख गरेको छ । त्यस बैठकमा येरमाक र बुदानोभले जेलेन्स्की हटाएर जालुज्नीलाई ल्याएमा पश्चिमसँग युक्रेनको सम्बन्धमा नयाँपन आउने उल्लेख गरेको गोप्य प्रतिवेदनमा उल्लेख छ ।
जेलेन्स्कीको साटो भ्यालरी जालुज्नीलाई पश्चिमले विचार गरिरहेको अमेरिकाका प्रख्यात खोज पत्रकार सिमुर हर्शले आफ्नो लेख ‘दी एन्ड फर जेलेन्स्की ?’ मा दाबी गरेका छन् । जालुज्नी पहिले युक्रेनी सेनाका सेनापति थिए भने अहिले उनी बेलायतका लागि युक्रेनका राजदूत हुन् । युक्रेनमा जेलेन्स्कीभन्दा जालुज्नी लोकप्रिय रहेको बताइन्छ । उनको छवि पनि स्वच्छ छ र युद्धको समयमा उनको नेतृत्वको प्रशंसा पनि भएको थियो ।
विगतमा ट्रम्पले पनि जेलेन्स्कीलाई शान्तिका खातिर मार्गप्रशस्त गर्न सल्लाह दिएका थिए । अहिले पनि अमेरिकाले जेलेन्स्कीलाई निर्वासनमा पठाउन तयारी गरेको बताइन्छ । पत्रकार हर्शले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जेलेन्स्कीले स्वैच्छिक रूपमा अवकाश नलिएमा बलपूर्वक हटाइने दाबी गरेका छन् । युक्रेनमा निर्वाचन गराएर जालुज्नीलाई नयाँ राष्ट्रपति बनाउने पक्षमा ट्रम्प पनि रहेको बताइन्छ । त्यसो गर्दा रुससँग शान्तिवार्ताका लागि सहजता आउने र युक्रेन सुधारको बाटोमा हिँडिरहेको सन्देश जाने सोच पनि पश्चिमी साझेदारहरूले बनाइरहेको बुझिन्छ । युद्धोत्तर राजनीतिक संक्रमणको कार्ययोजना बनाउनुपर्ने भएकाले जेलेन्स्कीबाहेकका व्यक्तिलाई भविष्यको नेतृत्वमा ल्याउनु उचित हुने पश्चिमको सोच देखिन्छ ।
रुसले युक्रेनविरुद्ध चलाइरहेको युद्धमा सशक्त प्रतिकार गरी पश्चिमको समर्थन जुटाउन सफल भएका जेलेन्स्कीले देखाएको निरंकुश चरित्रले पश्चिमलाई झस्काएको पक्का हो
तर, जेलेन्स्कीलाई हटाउँदा अनेकौं जोखिम आउने तर्क पनि विश्लेषकहरू गर्छन् । कीभ पोस्टमा टिमोथी याशले ‘जेलेन्स्की इज नट द प्रब्लम’ शीर्षकको लेखमा जेलेन्स्कीलाई हटाउँदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको विजय हुने तर्क गरेका छन् । पुटिनले जेलेन्स्की अवैध राष्ट्रपति भएकाले उनीसँग वार्ता नहुने बताउँदै आएका छन् । युद्ध चलिरहेको बेलामा नेतृत्व परिवर्तन गर्दा युक्रेन राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा हतोत्साहित हुने याशको भनाइ छ ।
त्यसमाथि जेलेन्स्कीको उत्तराधिकारीका रूपमा हेरिएका जालुज्नीसँग देश चलाउने राजनीतिक अनुभव छैन । युद्धोत्तर युक्रेनको शासनका लागि आवश्यक राजनीतिक गठबन्धन, नागरिक स्तरको सञ्जाल र कूटनीतिक निपुणता जालुज्नीमा छ कि छैन भन्ने स्पष्ट नभएको विश्लेषकहरू बताउँछन् ।
युक्रेनीहरू पनि युद्ध नसकिउन्जेल निर्वाचन गराउन नहुने पक्षमा छन् । पश्चिमको दबाबमा निर्वाचन विना नै जालुज्नीलाई राष्ट्रपति बनाइएमा युक्रेनीहरूले प्रतिकार गर्ने र देशमा अव्यवस्था छाउने खतरा पनि छ । त्यसलाई जालुज्नीले सैन्य दमनमार्फत दबाउलान् तर त्यस्तो दमन सधैंभरि टिक्दैन ।
जे होस्, रुसले युक्रेनविरुद्ध चलाइरहेको युद्धमा सशक्त प्रतिकार गरी पश्चिमको समर्थन जुटाउन सफल भएका जेलेन्स्कीले देखाएको निरंकुश चरित्रले पश्चिमलाई झस्काएको पक्का हो । त्यसैले उनलाई विस्थापित गर्ने प्रस्ताव यतिबेला अनुमान मात्र नभएको प्रतीत हुन्छ । फकाएर हुन्छ कि दबाब दिएर हुन्छ, जेलेन्स्कीलाई हटाएर स्वच्छ छवि भएको व्यक्तिलाई राष्ट्रपति बनाउनका लागि पश्चिमले पहल गर्ने सम्भावना देखिन्छ ।







प्रतिक्रिया