इन्टरनेटले जथाभावी वाईफाई हटस्पट छोड्न नपाउने, मोबाइल सेवाप्रदायकलाई राहत

525
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुलाई जथाभावी वाईफाई हटस्पट सञ्चालन गर्न नदिने भएको छ । प्राधिकरणले मोबाइल सेवा प्रदायकले मात्रै वाईफाईको माध्यमबाट सेवा दिन पाउने व्यवस्था भएकोले सोही अनुसार गर्न अन्यथा कारवाही गर्ने चेतावनी दिएको छ ।

प्राधिरकणले वाईफाई हटस्पट सेवा सञ्चालन सम्बन्धमा एक सूचना जारी गरेरै मोबाइल सेवाप्रदयकले मात्रै वाईफाई सेवा दिन पाउने र अरु सेवाप्रदायकले कानूनी व्यवस्था अनुसार तोकिएको क्षेत्र र समयका लागि मात्रै एक पटकको लागि सेवा दिन पाउने उल्लेख गरेको छ ।

प्राधिकरणले ‘वाईफाई हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५’ को विपरीत इन्टरनेट सेवाप्रदायकले यस्तो सेवा दिइरहेको गुनासोका आधारमा सार्वजनिक सूचना प्रकासन गरेर उक्त चेतावनी दिएको हो ।

प्राधिकणले दूरसञ्चार सेवामा पहुँच विस्तार गरी सेवालाई सर्वसुलभ बनाउन यस प्राधिकरणबाट आधारभूत दूरसञ्चार सेवा वा मोबाइल टेलिफोन सेवा वा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले मात्र वाईफाईको माध्यमबाट समेत सिमलेस कनेक्टिभिटि/ रोमिङ/मोबिलिटि प्रदान गर्न सकिने उल्लेख गरेको छ ।

अन्य सेवाप्रदायक अर्थात आइएसपीको लाइसेन्स प्राप्त सेवा प्रदायकहरूले हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ ले तोकेका शर्तअनुसार मात्रै वाईफाई हटस्पट सेवा सञ्चालन गर्न पाउँछन् ।

हाल प्राधिकरणबाट आधारभूत दूरसञ्चार सेवाको अनुमति नेपाल टेलिकमले मात्रै पाएको छ भने मोबाइल सेवाको अनुमति नेपाल टेलिकम र एनसेलसँग मात्रै छ । आधारभूत टेलिफोन सेवाको अनुमति पाएको यूटीएल भने सञ्चालनमा छैन् ।

प्राधिरकणले हटस्पट विनियमावली २०७५ को विनियम २ (ङ) र २ (च) मा परिभाषित निश्चित क्षेत्र वा परिधिभित्र वाई–फाई हटस्पट सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, विनियम ५ (१) अनुसार एक पटकको लग–इनबाट निश्चित समयावधि वा मात्राका लागि वाई–फाई हटस्पट सेवा प्रयोग गर्न सक्ने व्यवस्था छ । यस्तो व्यवस्था अनुसार सेवाप्रदायकले विनियम ५ को १ अनुसार एक पटकाको लगइनबाट निश्चित समयावधिलाई वाईफाई हटस्पट सेवा सञ्चालन गर्न पाइने व्यवस्था छ ।

यो प्रावधान विपरीत हाल इन्टरनेट सेवा प्रदायकहरूले आफूखुशी वाईफाई हटस्पट सेवा दिइरहेको छ । वाईफाई हटस्पट सेवामा वल्र्डलिंक अगाडि छ । यसले जताजतै फ्रिवाईफाई हटस्पट सञ्चालन गरेको छ भने यसको सेवामा एक पटक लगइन गरेपछि दोस्रोपटक आफैं सञ्चालन हुने र समयवधि असिमित छ ।

सञ्चार मन्त्रालको निर्देशपछि दूरसञ्चार प्राधिकरणले वल्र्डलिंकसहितका इन्टरनेट प्रदायकहरूलाई कानुनविपरीत वाई–फाई हटस्पट सञ्चालन नगर्न निर्देशन दिएको हो । प्राधिकरणले यो निर्देशन पछि अब वल्र्डलिंकका १४ हजार वाईफाई हटस्पटले तोकिएको शर्त पालना गरेर मात्रै सेवा दिन पाउने छ । अन्यथा प्राधिकरणले कारवाही गर्ने पनि उल्लेख छ ।

दूरसञ्चार प्राधिरकणले वाई–फाई हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले तोकिदिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीति, २०८० को दफा ७.४, अनुसूची ४ बमोजिम पावर लिमिट, ब्याकहल÷ब्याकबोन रेस्ट्रिक्सन लगायतका शर्तहरू अनिवार्य पालना गर्नपर्ने भनेको छ । यसका लागि प्राधिकरणबाट टाइप–एप्रुभल भएका रेडियो उपकरणहरू मात्र प्रयोग गर्न पनि सम्बन्धित सेवाप्रदायकलाई निर्देशन दिएको छ ।

नेपालमा वाई–फाई हटस्पटको सबैभन्दा ठूलो सञ्जाल इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकको छ । वल्र्डलिंकले ‘वाईफाई एक्सप्रेस’को नाममा देशभर १४ हजारभन्दा बढी ठाउँमा निःशुल्क वाई–फाई हटस्पट सेवा सञ्चालन गरिरहेको छ ।