अख्तियार प्रमुख प्रेम राईविरुद्ध नै अख्तियारमा उजुरी दर्ता

वाइडबडीसँगै निगमको जग्गा खरिद र नक्कली भुटानी शरणार्थीमा संलग्न रहेको भन्दै अनुसन्धानको माग

791
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध आयोगमै उजुरी परेको छ । आइतबार युवराज पौडेल (सफल)ले आइतबार उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा वाइडबडी जहाज खरिद प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद घोटाला, नक्कली भुटानी शरणार्थी काण्ड लगायतका विषयमा राई मुछिएको उल्लेख गर्दै आवश्यक अनुसन्धान गरी कारबाहीको माग गरिएको छ ।

पौडेलले दर्ता गराएको उजुरीमा भनिएको छ, ‘मिति २०८१ मङ्सिर २० गतेको मुद्दा नं. ०८० सीआर ०१४५ को अन्तिम फैसला सार्वजनिक भएको पूर्णपाठमा समेत आरोपित प्रेमकुमार राईमाथि मुद्दा नचलाइएकोप्रति विशेष अदालतले आपत्ति जनाएको छ । एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नगरी अर्कालाई अभियोजन गर्नु समान न्यायको सिद्धान्तविरुद्ध हुने फैसलामार्फत अदालतले औँल्याएको छ ।’

त्यस्तै, उजुरीमा राई आपूर्ति सचिवका रूपमा कार्यरत रहँदा नेपाल आयल निगमले भैरहवा, चितवन, सर्लाही, झापा लगायत जिल्लामा करिब डेढ अर्ब रुपैयाँ बराबरको जग्गा खरिद गरेको प्रसंग उल्लेख गरिएको छ । सो निर्णय गर्ने निगमको सञ्चालक समितिका अध्यक्ष समेत रहेका राईको भूमिकाबारे प्रश्न उठाउँदै उजुरीमा भनिएको छ, ‘उक्त खरिद प्रक्रियामा अनियमितता देखिएपछि कार्यकारी निर्देशक गोपालबहादुर खड्कामाथि मुद्दा चलाइयो तर निर्णय गर्ने प्रमुख पदाधिकारी राई भने उन्मुक्त भए।’

पौडेलले कोरोना महामारीको समयमा राई संलग्न रहेको आयल निगम जग्गा प्रकरणको मुद्दा हतारमा तामेलीमा राखिएको दाबी गरेका छन् ।

‘यस्तो व्यक्तिले अख्तियारकै प्रमुख भएर बसेको अवस्था न्याय र सुशासनका दृष्टिले घातक हुन्छ । अदालतले समेत अभियोग चल्नुपर्ने संकेत दिइसकेको अवस्थामा उनी स्वयं राजीनामा दिएर छानबिनमा सहकार्य गर्नु उपयुक्त हुन्छ,’ उजुरीमा उल्लेख छ।

पौडेलले उजुरीमार्फत अख्तियार प्रमुख राईलाई भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।