क्यान्सर विशेषज्ञ सेवा र स्वास्थ्य बिमाले सीएमसीलाई दियो प्रतिफल, व्यापार र नाफामा व्यापक सुधार

322
Shares

काठमाडौं । चितवन मेडिकल कलेजले गत आर्थिक वर्षको १० महिनाको अवधिमै २ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले गत आवको १० महिनामा अवधिमा २ अर्ब ३ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो जुन अघिल्लो आर्थिक वर्षभर गरेको आम्दानीभन्दा ६ करोड बढी हो ।

कम्पनीले सन् २०२४ मा १ अर्ब ९७ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ६९ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब ७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

व्यापार बढ्दा सीएमसीको नाफा मार्जिन पनि सुधारिएको छ । सन् २०२३ मा २५.३६ प्रतिशत रहेको सञ्चालन नाफा २०२४ मा ३०.१५ र २०२५ को १० महिनामा सञ्चालन आम्दानीको २९.५८ प्रतिशत रहेको छ ।

खासगरी २०२४ जुलाइदेखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम र क्यान्सर विशेषज्ञ सेवामा सुधार आएर अस्पतालको आम्दानी बढेको हो । स्वास्थ्य बीमा कार्यक्रममार्फत् बिरामीको संख्या बढ्दा कारोबार बढेको छ । कारोबार बढेसँगै नाफा पनि बढेको छ । सीएमसीले यो १० महिनामा १४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२४ मा १३ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सन् २०२३ मा अन्कोलोजी (क्यान्सरको उपचार गर्ने चिकात्साको विधा)को नयाँ सेन्टर स्थापना गरेसँगै बिरामीको संख्या बढ्दा व्यापारमा वृद्धि भएको जनाएको छ । १० महिनाको अवधिमा अघिल्लो वर्ष बराबर नै अर्थात् कुल सञ्चालन आम्दानीको ७ प्रतिशत खुद नाफा कमाएको जनाएको छ ।

डाक्टरहरुको समूहले सन् २००६ मा स्थापना गरेको कलेज सन् २०२४ मा पब्लिक कम्पनीको रुपमा परिणत भएको छ । चितवन मेडिकल कलेजले मेडिकलसम्बन्धी विभिन्न सेवासँगै मेडिकल कलेजको पनि सेवा दिँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट इजाजत प्राप्त भएको मेडिकलले कलेजले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ३ करोड २३ लाख रुपैयाँको रेटिङ गराएको छ । सीएमसीले अघिल्लो वर्षको भन्दा कर्जा लिमिट बढाएको हो ।

मेडिकल कलेजले दीर्घकालीन कर्जाका लागि २ अर्ब ४७ करोड ७० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५५ करोड ५३ लाख रुपैयाँको रेटिङ गराएको छ । चिकित्सा र शिक्षा क्षेत्रमा २ दशक अनुभव बटुलेका डा. हरिसचन्द्र न्यौपाने अध्यक्ष रहेको सीएमसी हस्पिटल सञ्चालनको नेतृत्व निर्देक डा. दयाराम लम्सालले तथा कलेज सञ्चालनको नेतृत्व डा. गोपेन्द्र प्रसाद देउले गर्छन् । डा. न्यौपाने एक सय शैय्या भएको लखनाउमा रहेको शेखर हस्पिटलको अध्यक्ष पनि हुन् ।

सीएमसीमा ८ सय ७७ जना मेडिकल र नन–मेडिकल कर्मचारी तथा १ सय ३३ जना फ्याकल्टी स्टाफ छन् ।

सीएमसीले ५ सय ३७ शैय्याको सुविधासहित सेवा दिँदै आएको छ । हस्पिटलमा ७ सय ५० शैय्याको क्षमता रहेको छ । सीएमसीले डेन्टिस्ट्री, फरेन्सिक मेडिसिन, अप्थाल्मोलोजी, ओरल एन्ड म्याक्लिोफेसियल सर्जरी, प्याथोलोजी, अर्थोडोन्टिक्स, पेडोडोन्टिक्स, रेडियो डाइग्नोसिस, सर्जरी, ओन्कोलोजी आदिको सुविधा दिँदै आएको छ । साथै, आइसीयू, एनआईसीयू र पीआइसीयूको पनि सुविधा रहेको छ ।

सीएमसीले अस्पतालसँगै शैक्षिक सेग्मेन्टबाट आम्दानी गर्दै आएको छ । मेडिकल कलेजमा एमबीबीएस, एमडीसहित १३ वटा विभिन्न कोर्सको अध्यापन गराइन्छ ।

सीएमसीको ५६ प्रतिशत आम्दानी हस्पिटलबाट र ३८ प्रतिशत मेडिकल कलेजबाट हुने गरेको छ । सीएमसीमा बीएन, बीएससी, एमबीबीएस, बीडीए र अन्य ब्याचलरका कार्यक्रम अध्यापन हुन्छ ।

सन् २०२३ मा विशेषगरी क्यान्सरको सेवा दिने योजनासहित नयाँ भवन निर्माण गरेको थियो । चितवन मेडिकल कलेजले १ अर्ब १२ करोड १० लाख रुपैयाँ लगानीमा सो भवन निर्माण गरेको थियो ।

वैशाखको तथ्यांकअनुसार सीएमसीले २ अर्ब २६ करोड २० लाख रुपैयाँ कर्जा लिएको छ । जुन २०८१ असारमा २ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । खासगरी कर्जा लिएर पुँजीगत खर्च गरेको, ऋण लिएर कलेजको सिभिल कार्य विस्तार गरेको र नयाँ उपकरण जोडेका कारण ऋण बढेको बताइएको छ । चितवन मेडिकल कलेजको ऋण अझै बढ्ने छ । थप पुर्वाधार निर्माण खर्च गर्ने र हालको कर्जाको किस्ता पुनर्संरचना गरिएकाले पनि ऋण थप बढाउनेछ ।

चितवन मेडिकल कलेज २०८० माघमा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो ।

Skip This