चितवन मेडिकल कलेजमा १० वर्षमा सात हजारभन्दा बढी मुटुको शल्यक्रिया



चितवन । चितवन मेडिकल कलेज (सिएमसी) ले १० वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा. डा. श्यामराज रेग्मी र प्रा. डा. विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो ।

१० वर्षसम्म काठमाडौँको गंगालाल हृदयरोग केन्द्रको अनुभव लिएर चितवन आएका प्रा. डा. रेग्मीले सिएमसी क्याथल्याब सुरु गरेपछि यस क्षेत्रका बिरामी बाहिर जानु परेको छैन भने काठमाडौँलगायत अन्य सहरबाट समेत मुटुको उपचारका लागि यहाँ आउने गरेको पाइएको छ ।

क्याथल्याब इन्चार्ज अमृत काफ्लेका अनुसार २०७० भदौ ११ देखि हालसम्म अस्थायी पेसमेकर तीन सय २० जनामा, स्थायी पेसमेकर तीन सय जनामा, क्रोनरी एन्जियोग्राफी तीन हजार पाँच सय जनामा, क्रोनरी एन्जियोप्लास्टी दुई हजार पाँच सय पाँच जनामा गरिएको छ ।

मुटुको सानो भल्व बेलुनले फुलाउने (बिपीभी) १५ जनामा, मुटुमा जमेको पानी तान्ने एक सय ५० जनामा, मुटुको आसपासका नसाको एन्जीयोग्राफी १५० जनामा र मुटुको बाथरोगको बेलुनद्वारा फुलाउन दुई सय ५० जनामा शल्यक्रिया गरिएको उनले जानकारी दिए ।

डा. रेग्मीका अनुसार सात वर्षदेखि ९६ वर्षसम्मका बिरामीको मुटुको शल्यक्रिया गरिएको छ । नेपालमा मुटु रोगको उपचार हुने सरकारी अस्पताल गंगालालसरहको शल्यक्रिया शुल्क लिँदै आइएको अस्पतालले जनाएको छ । अस्पतालमा नेपाल सरकारले उपलब्ध गराउँदै आएको एक लाखको छुटसमेत बिरामीले पाउने गरेका छन् ।

चितवनसहित देशैभरका बिरामीले अस्पतालबाट सेवा लिइरहेको उनले जानकारी दिए । डा. रेग्मीले आफूले गरेका शल्यक्रियामा ३० प्रतिशत ७५ वर्षमाथिका वृद्धवृद्धा रहेको बताए । मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानेले काठमाडौँसहित देशैभरबाट मुटुको उपचारका लागि बिरामी आउने गरेको जानकारी दिए ।


रवि धिताल