ब्रोकरले पुँजी पुर्‍याउने समय ९ महिना थप, अर्थले दियो स्वीकृति


काठमाडौं । धितोपत्र ब्रोकर कम्पनीलाई चुक्ता पुँजी पुर्‍याउने समय ९ महिना थप भएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै चुक्ता पुँजी पुर्‍याउने समय बढाएर स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको थियो ।

बोर्डले पुँजी थपका लागि संशोधन गरेर पठाएको नियमावलीलाई अर्थ मन्त्रालयले सोमबार स्वीकृति गरेसँगै ब्रोकरले पुँजी पुर्‍याउने समय ९ महिना थप भएको हो ।

‘सोमबार अर्थ मन्त्रालयले पुँजी थपका लागि संशोधन गरेर पठाएको धितोपत्र व्यवसायी नियमावलीलाई स्वीकृति दिएको छ,’ स्रोतले भन्यो, ‘यो सँगै पुँजी नपुगेका ब्रोकरलाई पुँजी पुर्याउने समय नौ महिना थप भएको छ ।’

अर्थको स्वीकृतिसँगै असार मसान्तसम्मको समय सीमा पाएका ब्रोकरले अब चैत मसान्तसम्म चुक्तापुँजी कायम गर्ने समय पाएका छन् ।

अघिल्लो साता बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले निर्णय गरी ब्रोकर कम्पनीलाई तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने समय ९ महिना थप गर्नेगरी नियमावली संशोधन गर्दै स्वीकृतिका लागि अर्थमन्त्रालयमा पठाएको थियो । बोर्डका अनुसार अब २३ वटा ब्रोकर कम्पनीले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्‍याउन बाँकी रहेको छ ।

बोर्डले गत २०८१ पुस ८ मा पुँजी नपुगेका ब्रोकर कम्पनीलाई पुँजी पुर्‍याउने योजना माग गरेको थियो । ब्रोकर कम्पनीले पेस गरेको पुँजी वृद्धि योजना समेतको आधारमा सेबोनले नौ महिना समय थप गर्ने प्रस्ताव गरेको थियो ।

चालु आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गरेर पुँजी पुर्‍याउन नसक्ने कम्पनीले पुँजी थप्नुपर्ने वा मर्जरमा जाने विकल्प बोर्डले दिएको जनाइएको छ ।

धितोपत्र बोर्डले २०७९ मा नयाँ ब्रोकरलाई लाइसेन्स दिन न्यूनतम पुँजी बढाउँदै धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली–२०६४ संशोधन गरेको थियो । बोर्डको प्रस्तावमा मन्त्रिपरिषद्ले नियमावली संशोधन गर्दै सेयर ब्रोकरको पुँजी बढाउने निर्णय गरेको थियो ।

२०७९ भदौमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली–२०६४ संशोधनमार्फत ब्रोकर कम्पनीको पुँजी ३० गुणासम्मले बढाउनुपर्ने भएको थियो । उक्त नियमावली संशोधनमार्फत ब्रोकर तीन तहमा विभाजित भएका छन् ।

२०७९ भदौमा भएको संशोधित नियमावलीको व्यवस्थाअनुसार सीमित कारोबार गर्ने ब्रोकरको पुँजी २० करोड, पूर्णकारोबार गर्ने ब्रोकरको पुँजी ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको थियो ।

नियमावलीको संशोधित व्यवस्थाअनुसार नै बोर्डले ४२ वटा स्टक ब्रोकरलाई लाइसेन्स दिएको थियो । तर, उक्त सयमयमा सञ्चालनमा रहेको सेयर ब्रोकरको लागि भने पुँजी पुर्‍याउने अवधि २०८२ असार मसान्तसम्म तोकिएको थियो । तर, २३ वटा ब्रोकरले पुँजी पुर्‍याउन नसक्ने भएपछि बोर्डले समय थप गर्नेगरी नियमावली संशोधन प्रस्ताव अर्थमन्त्रालयमा पठाएको थियो ।

Skip This