
काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने कार्यविधि, २०८२ लागू गरेको छ ।
राष्ट्र बैंकले खातामा रकम मौज्दात नभएको वा मौज्दात पर्याप्त नभएको कारण चेक अनादर हुने अवस्थामा धारकले चेक अनादर भएको प्रमाणित गराउन चाहेमा बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले चेक अनादर भएको प्रमाणित गर्ने प्रयोजनका कार्यविधि लागू गरेको हो ।
उक्त कार्यविधि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ (दोस्रो संशोधन, २०८२ समेत) को दफा ३क को उपदफा (७) र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि बनाई लागू गरिएको हो ।
‘खातामा रकम मौज्दात नभएको वा मौज्दात पर्याप्त नभएको कारण चेक अनादर हुने अवस्थामा धारकले चेक अनादर भएको व्यहोरा प्रमाणित गराउन चाहेमा यस कार्यविधिबमोजिमको प्रक्रिया पूरा गरी बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले प्रमाणित गर्नुपर्नेछ,’ कार्यविधिमा भनिएको छ ।
कार्यविधिअनुसार कसैले पनि आफ्नो खातामा रकम मौज्दात नभएको वा मौज्दात पर्याप्त नभएको अवस्थामा चेक जारी गर्नु हुँदैन । मौज्दात नभएको वा मौज्दात पर्याप्त नभएको चेक पेस हुन आएमा बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले धारकलाई फिर्ता गर्नुपर्नेछ ।
खातामा रकम मौज्दात नभएको वा मौज्दात पर्याप्त नभएको कारणले धारकले चेक अनादर भएको प्रमाणित गराउन विभिन्न प्रक्रिया पूरा गरी चेक जारी गर्ने बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले चेक अनादर भएको प्रमाणित गरिदिनुपर्ने कार्यविधिमा उल्लेख छ ।
कार्यविधिअनुसार बैंक वा वित्तीय संस्थाले भुक्तानीका लागि आफू समक्ष पेश हुन आएको चेकको भुक्तानी गर्न आवश्यक मौज्दात खातामा नभएमा उक्त विषय उल्लेख गरी त्यस्तो चेक धारकलाई नै फिर्ता दिनुपर्नेछ ।
‘चेक अनादर भएको व्यहोरा प्रमाणितका लागि धारकले चेक जारी गर्ने बैंक वा वित्तीय संस्था वा सहकारी बैंक समक्ष उक्त चेकको सक्कल प्रति सहित निवेदन पेश गर्नुपर्नेछ,’ कार्यविधिमा भनिएको छ ।
कार्यविधिमा बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले चेक नम्बर, चेक धारकको नाम, चेक जारी गर्ने खातावाला व्यक्ति वा संस्थाको नाम, भुक्तानी हुने रकम र चेक जारी भएको मिति समेत उल्लेख गरी चेक अनादर प्रमाणित गरिएको पत्र समेत सम्बन्धित धारकलाई उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ ।
चेक अनादर भएको व्यहोरा प्रमाणित गर्ने कार्यका लागि बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले धारकसँग कुनै किसिमको शुल्क लिन नपाइने तथा अनादर प्रमाणित भएको चेकबाट कुनै पनि बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले भुक्तानी दिन नपाइने व्यवस्था कार्यविधिमा गरिएको छ ।
तर, चेक जारी गर्ने पक्षले चेक धारकलाई अनादर प्रमाणित भएको चेकमा उल्लिखित रकम भुक्तानी गरी चेक फिर्ता लिन यस व्यवस्थाले बाधा पुगेको नमानिने उल्लेख छ ।
‘बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले आफूसमक्ष धारकले पेस गरेको चेक धारकले यकिन गर्न सक्ने अवस्था बाहेकका (गलत हस्ताक्षर, खाता बन्द, खाता रोक्का आदि) कारणले फिर्ता हुने अवस्थामा समेत सम्बन्धित खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीका लागि पर्याप्त नभएको अवस्था यकिन गर्नुपर्नेछ,’ कार्यविधिमा भनिएको छ ।
यसरी अन्य कारणले चेक फिर्ता हुने अवस्थामा समेत खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीका लागि पर्याप्त नभएको खण्डमा कार्यविधिबमोजिम चेक अनादर भएको व्यहोरा प्रमाणित गरिदिनुपर्ने व्यवस्था गरिएको छ ।








प्रतिक्रिया