रवि बिरामी परेपछि निवासमा छलफलमा जुटे बालेनसहितका नेता, रास्वपा विधान संशोधनको तयारी

889
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अस्वस्थ भएपछि नयाँ सरकार गठन र पार्टीका महत्त्वपूर्ण निर्णयबारे छलफल उनको निवासमै भइरहेको छ ।

चुनावी दौडधुपका कारण केही दिनदेखि बिरामी परेका लामिछाने हाल बूढानीलकण्ठस्थित घरमै आराम गरिरहेका छन् । उनको सचिवालयका अनुसार लामिछानेलाई ज्वरो र पिसाब संक्रमण (युरिन इन्फेक्सन) देखिएको छ ।

चिकित्सकले लामिछानेलाई अझै एक–दुई दिन आराम गर्न सुझाएका छन् ।

लामिछानेको स्वास्थ्य अवस्थाका कारण पछिल्ला दिनमा पार्टीका शीर्ष नेताहरूबीचको छलफल पनि उनको निवासमै भइरहेको स्रोतको भनाइ छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार लामिछानेलाई भेट्न निवासमै पुगेका थिए । निर्वाचन परिणाम सार्वजनिक भएपछि उनीहरूबीच भएको यो पहिलो भेट हो ।दुई नेताबीच वान–टु–वान छलफल भएको जनाइएको छ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइको जित ल्याएपछि रास्वपाभित्र सरकार गठनको विषयमा छदलफल भइरहेको छ । चुनावअघि नै पार्टीले वरिष्ठ नेता बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो ।

यसैबीच पार्टी कार्यालय वनस्थलीस्थित घण्टीघरमा भने नेता–कार्यकर्ता भेटघाटका लागि पुगिरहेका छन् । त्यहाँ उपसभापति डीपी अर्यालले नवनिर्वाचित सांसद तथा नेता–कार्यकर्तासँग भेटघाट गरिरहेका छन् ।

अहिले समानुपातिक सांसद चयन, संसदीय दलको नेतृत्व प्रक्रिया मिलाउने तथा सम्भावित मन्त्रिपरिषद् गठनबारे आन्तरिक गृहकार्य भइरहेको छ । निर्वाचन आयोगले बिहीबार तीनदिनको समय दिएर समानुपातिकतर्फ पठाउने उम्मेदवारहरूको सूची पठाउन दलहरुलाई पत्र पठाएकाले पनि रास्वपाले त्यसलाई टुंग्याउने तयारी गरेको छ ।

रास्वपाको विधानले बालेनलाई प्रधानमन्त्री बनाउन सहज नहुने भएपछि त्यसलाई मिलाउने विषयमा पनि छलफल भइरहेको स्रोतको भनाइ छ ।