
काठमाडौं । बैंकहरुले स्थायी चालु पुँजी कर्जा १० वर्षभन्दा लामो अवधिका लागि पनि प्रदान गर्न पाउने भएका छन् ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भएको घोषणा अनुसार स्थायी चालु पुँजी कर्जा ३ देखि १० वर्षसम्मको प्रवाह गर्नुपर्ने व्यवस्था संशोधन गर्दै अब आवधिक चालु पुँजी कर्जा आवश्यकता अनुसार हुने व्यवस्था गरेको हो ।
‘बैंक तथा वित्तीय संस्थाले स्थायी चालु पुँजी आवश्यकताको लागि आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्दछ । यस्तो आवधिक कर्जाको भुक्तानी अवधि आफ्नो चालु पुँजी कर्जा नीति बमोजिम निर्धारण गर्नुपर्छ,’ निर्देशनमा भनिएको छ ।
यसअघि प्रवाह भएको यस्तो चालु पुँजी कर्जा ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा २०८३ असार मसान्तसम्ममा एकपटकका लागि मात्र पुनर्तालिकीकरण गर्न सकिने संशोधित व्यवस्थामा उल्लेख छ ।
कर्जा पुनर्तालिकीकरणलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनर्तालिकीकरण भएको नमानिने संशोधित व्यवस्थामा उल्लेख छ ।
यस्तै चालु पुँजी कर्जा विशेष गरी क्यास क्रेडिट कर्जामा ऋणीले आर्थिक वर्षको कुनै एक समयमा लगातार ७ दिनसम्म बक्यौता रकम १० प्रतिशतभन्दा कम गर्नुपर्ने व्यवस्था पनि संशोधन भएको छ । चालु पुँजी कर्जा भुक्तानी भएको भन्दै एक पटक ७ दिनको लागि १० प्रतिशतभन्दा तल ल्याउनुपर्ने व्यवस्था संशोधन गर्दै ३० प्रतिशतभन्दा कम कायम गर्नुपर्ने व्यवस्था गरेको हो ।
यस्तै बैंकहरुले चालु पुँजी कर्जा नीति निर्माण गर्दा उद्यम वा व्यवसायको प्रकृति, क्षेत्र, नगद प्रवाह तथा चालु पुँजी सम्बन्धी विश्लेषण समेतका आधारमा स्थायी चालु पुँजीको लागि प्रदान गरिने आवधिक कर्जाको अवधि निर्धारण गर्ने पद्धति एवं क्षेत्रगत रुपमा यस्तो अवधिको न्यूनतम तथा अधिकतम सीमा जस्ता व्यवस्था गर्नुपर्ने भएको छ । स्थायी चालु पुँजी कर्जालाई सोही नीति अनुसार कर्जा दिनुपर्ने व्यवस्था मार्गदर्शनमा गरेको छ।







प्रतिक्रिया