
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आईपीओ स्वीकृतिमा सार्वजनिक लेखा र अर्थ समितिको दुईथरी निर्देशनले धितोपत्र बोर्ड अन्यौलमा परेको बताएका छन् ।
बिहीबार अर्थ समितिमा भएको छलफलमा अध्यक्ष श्रेष्ठले दुई समितिको निर्देशन बाझिँदा समस्या पैदा भएको बताए ।
‘अर्थ समितिबाट २०८२ जेठ १९ गते केही निर्देशनहरु प्राप्त भयो । खासगरी, आईपीओको विषयमा निर्देशन आएको थियो । तर, सबैलाई जानकारी नै छ संसदकै सार्वजनिक लेखा समितिबाट पनि यसका सन्दर्भमा केही निर्देशनहरु आएका थिए,’ अध्यक्ष श्रेष्ठले भने, ‘तत्कालीन समितिमा लेखा समितिबाट ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ रोक्ने र प्रिमियममा आईपीओ जारी गर्ने सन्दर्भमा निर्देशन प्राप्त भएको थियो ।’
उक्त निर्देशनपश्चात् धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकबाटै उक्त निर्देशन कार्यान्वयन गर्ने भन्ने निर्णय गरेको र सो समयमा आफू अध्यक्ष नभएको उनले बताए । तर, पछि अर्थ समितिले कानुनअनुरुप अगाडि बढ्नु भनेको थियो जुन निर्देशन कार्यान्वयन प्रस्ताव सञ्चाल समितिमा लगेको जानकारी उनले दिए ।
‘दुई वटा समितिको कुरा बाँझिदा अन्यौलको स्थिति सिर्जना भएको छ । दुई समितिको निर्देशन आउँदा अब कसरी अगाडि बढ्ने भन्ने अन्यौल सिर्जना भएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘अर्थ समितिको निर्देशन प्राप्त भएपछि फेरि लेखा समितिले हाम्रो निर्देशन कार्यान्वयनको अवस्था कस्तो छ ? भनेर सोधेको छ ।’
उनले लेखा समितिलाई यसको जानकारी गराएको र अर्थ समितलाई पनि सो को जवाफ दिइसकेको बताए ।








प्रतिक्रिया