
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बोर्डको प्राथमिकता नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिनुसँगै नेप्से पुनर्संरचनामा पनि रहेको बताएका छन् ।
बिहीबार अर्थ समितिमा भएको छलफलमा अध्यक्ष श्रेष्ठले सरकारको निर्देशनअनुसार नयाँ स्कटलाई लाइसेन्स दिनुको साथमा नेप्से पुनर्संरचना गर्ने विषय पनि बोर्डको प्राथमिकतामा रहेको बताए ।
‘नयाँ स्टकको लाइसेन्स दिने विषय धेरै पुरानो र विवादमा परेको हो । विभिन्न समिति, अदालतमा उजुरी परेको पनि थियो । अहिले कतैबाट पनि नयाँ स्टकलाई लाइसेन्स दिन रोकतोक भएको छैन,’ अध्यक्ष श्रेष्ठले भने, ‘सर्वोच्च अदालबाटसमेत दुईदुई पटक यसको बाटो खोलिदिएको छ ।’
उनले अहिलेको अवस्थामा मूल्यांकन गर्नका लागि खाम सिलबन्दी रहेको र तीन वटा प्रस्ताव आएको विषय टुंग्याउनु अगाडि अन्य विषयलाई सेबोनले हेरिरहेको बताए । चिन्तामणी शिवाकोटीको प्रतिवेदनले अहिले थप मापदण्ड र सर्त सिफारिस गरेकाले आवेदन दिएका कम्पनीमाथि कसरी मूल्यांकन गर्ने भन्ने विषय अध्ययनको चरणमा रहेको उनको भनाइ छ ।
‘नेप्सेको सुधारको पाटोमा काम गर्न धितोपत्र बोर्ड, नेप्से र नेपाल सरकारको भूमिका हुन्छ । यसका लागि सरकारलाई हामीले सुझाव पेस गरेका छौं,’ श्रेष्ठले भने, ‘साथै, हामीले नेप्सेलाई पनि नेप्से पुनर्संरचनाका विषयमा चासो राख्दै पत्र काटेको अवस्था छ ।’ उनले यसका लागि सरकारले सबैभन्दा धेरै काम गर्नुपर्ने आवश्यक्ता रहेको औंल्याए ।








प्रतिक्रिया