सिटिजन्स सदाबहार योजना: ५ लाख इकाईसम्म खरिद गर्न सकिने

238
Shares

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रथम खुलामुखी योजना संचालन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट रकम पचास करोडको एसआईपी समेत गर्न सकिने सिटिजन्स सदाबहार योजना संचालन अनुमति प्राप्त गरेको छ ।

असार १३ गते देखि असार १७ (बैंकिङ्ग समय सम्म) योजनाको इकाई निष्काशन खुला रहने बैंकले जनाएको छ । साथै, उक्त समय सम्ममा सम्पूर्ण इकाई बिक्री नभएको अवस्थामा असार २७ गते बैंकिङ्ग समय सम्म इकाई बिक्रीका लागि खुला रहने बैंकले जनाएको छ ।

सिटिजन्स सदाबहार योजना खरिद गर्नका लागि आफ्नो मेरो शेयर खाता मार्फत वा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेको सि–आश्वा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएको शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

यस योजनामा सहभागी हुनका लागि न्यूनतम १०० र अधिकतम ५००,००० इकाई खरिद आवेदन दिन सकिने प्रावधान रहेको छ । साथै, यस योजनाको प्रथम चरणमा निष्काशित इकाई बाँडफाँड पश्चात नियमक निकायहरुको नियमानुसार तथा स्वीकृति लिई एसआईपी मार्फत थप इकाईहरु निष्काशनको व्यवस्था समेत मिलाइने बैंकले जनाएको छ ।

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित अन्य योजनाहरु मध्ये प्रति इकाई अंकित मूल्य रु.१० दरका आठ करोड बीस लाख इकाईहरु रहेको सिटिजन्स म्युचुअल फण्ड १ नामक ७ बर्षे बन्दमुखी योजना परिपक्व भई, अन्तिम प्रति इकाई खुद सम्पत्ति मूल्य ११.३० रुपैयाँ मा प्रचलित कानून बमोजिम कर कट्टी समायोजन गरी इकाईधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जेठ २७ गतेदेखि क्रमानुसार रकम १३५ प्रतिफल समेत जम्मा गर्न सुरु गरिएको बैंकले जनाएको छ ।

सिटिजन्स म्युचुअल फण्ड १ को अवधिभरमा पुँजीगत लाभ तथा विगतका आर्थिक वर्षहरुमा वितरण गरिएको प्रतिफल समेत प्रति इकाई लगानीको औषत वार्षिक प्रतिफल १२% रहेको छ ।

भौतिक रुपमा इकाई धारण गरी हालसम्म पनि अभौतिकीकरण नगराएका इकाईधनीहरुले रकम फिर्ता भुक्तानी (प्रतिफल समेत) प्राप्त गर्नका लागि यस सिटिजन्स क्यापिटल लिमिटेडमा वास्तविक तीनपुस्ते विवरण तथा आफ्नो खाता रहेको बैंकको नाम, खाता नं. र हितग्राही खाता नं. स्पष्टसँग उल्लेख गरी निवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । आफ्नो इकाई धितोमा राखी कर्जा सुविधा उपभोग गरेका इकाईधनीले सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट धितो राखेको इकाईको संख्या समेत खुल्ने गरी फुकुवा पत्र सिटिजन्स क्यापिटल लिमिटेडमा पेश गरे पश्चात् इकाईधनीको हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिने बैंकले जनाएको छ ।