बिमा दाबीमा अस्वभाविक ‘बार्गेनिङ’, दोब्बर माग्ने प्रवृत्तिले बिग्रिँदै भुक्तानी प्रक्रिया

1.5k
Shares

काठमाडौं । नेपालमा बिमा दाबी प्रक्रियामा ‘बार्गेनिङ’ गर्ने प्रवृत्ति बढ्दै गएको छ । बिमितले भुक्तानी पाउनुपर्ने भन्दा दोब्बरदेखि तेब्बर बढीसम्म दाबी गर्ने र बार्गेनिङमा उत्रिने प्रवृत्ति हावी भएको हो । वास्तविक पाउनुपर्ने रकम भन्दा बढी दाबी गर्दा भुक्तानी प्रक्रिया जटिल हुन्छ भने समय पनि लम्बिन्छ । तर, यी कुरालाई मध्यनजर नगरी बिमितहरुमा बार्गेनिङ गर्ने प्रचलन बढ्दै गएको गुनासो बिमकहरु गर्छन् ।

जस्तै, एक करोडको दाबी गर्नुपर्नेमा त्यतिको मात्रै दाबी गर्दा बिमा कम्पनीले घटाउँछन् भन्ने सोचका साथ बिमितहरुले दुई करोडसम्मको दाबी माग गर्ने गरेका छन् । एक करोडको दाबीलाई ५० लाख रुपैयाँ मात्रै भुक्तानी दिन्छ भन्ने सोचका साथ बिमितहरूले दुई करोडसम्मको दाबी माग गर्ने गरेका हुन् । उनीहरुमा यदी दुई करोडको दाबी माग ग¥यो भने एक करोड पक्कै आउँछ भन्ने सोच देखिन्छ ।

नेपाल बिमक संघको निवर्तमान अध्यक्षसमेत रहेका सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री दाबी भुक्तानीमा बार्गेनिङ गर्ने प्रवृत्ति उचित नभएको बताउँछन् । ‘बढी दाबी गरी बार्गेनिङ गर्दा भुक्तानी धेरै पाइने सोच बिमितमा देखिन्छ,’ अध्यक्ष क्षेत्रीले भने, ‘तर, बढी दाबी गरेको संका लागेमा बिमा कम्पनीहरुले सर्भेयरमार्फत् मूल्यांकन गर्ने गर्दछन् । बिमा कम्पनीले सही दाबी माग गर्नेलाई सहजै भुक्तानी दिएपनि बढी दाबी गर्नेको हकमा भने वास्ताविकता धेरै खोजी गरिन्छ ।’

उनले दाबीमा बार्गेनिङ गर्ने प्रवृत्तिले बिमा दाबी भुक्तानी कारोबारलाई अप्ठ्यारोमा पार्ने बताए । उनका अनुसार बिमितहरुले पहिला–पहिला नबुझेर बढी दाबी गर्ने गर्दथे । कुनै व्यक्तिले एक करोड रुपैयाँको घर बनाएको छ भने उसले ५० लाख रुपैयाँ मात्रै कर्जा लिएको हुन्छ र सोही कर्जा बराबरको (५० लाखको) मात्रै बिमा गरेको हुन्छ । उस्तो अवस्थामा ५० लाखको बिमा गरेको भएपनि १ करोडको क्षेति भएको भन्दै दाबी गर्ने प्रचलन धेरै अगाडि देखियो जुन अधिकांश रुपमा नबुझेर गरिन्थ्यो ।

वास्तवमा बिमितले जतिको बिमा गरेको हुन्छ त्यतिको मात्रै जोखिम कभर गर्छ । यो कुरा बुझ्दाबुझ्दै अहिले भने दाबी बढी गर्ने काम भइरहेको क्षेत्रीको तर्क छ । ‘बिमितले दाबी गरेको रकम बढी र संकास्पद भएमा सर्भेयर लगाएर प्रक्रिया अगाडि बढाइन्छ । दाबीमाथि भित्रभित्र गएर बिमा कम्पनीले सुक्ष्म अध्ययन पनि गर्छन्,’ क्षेत्री भन्छन्, ‘यस्तो गर्दा भुक्तानी कार्य झन् ढिलो हुन्छ भने प्रक्रिया पनि लम्बिन्छ ।’ सर्भेयर कम्पनी र बिमित दुबैको मध्यस्थता भएको उचित काम गरेपनि समय भने बढी लाग्ने बताए ।

हुन, त केही समय अगाडिसम्म बिमा कम्पनीको तर्फबाट पनि यो समस्या धेरै मात्रामा देखिने गरेको थियो । बिमा कम्पनीहरुले एक करोड दाबीमा भुक्तानी दिन ५० लाखबाट सुरु गर्यो भने ७०–८० लाखमा पक्कै झर्छ भनेर बार्गेनिङ गर्ने अभ्यास थियो । एक करोडको दाबीमा ८० लाख रुपैयाँ मात्रै भुक्तानी गर्न सकियो भने कम्पनीका लागि २० लाख नाफा हुने भएकाले कम्पनीहरुले यसतर्फ पहिलापहिला बल गर्ने गरेको बिमा विज्ञ रविन्द्र घिमिरे सुनाउँछन् ।

‘बिमामा कम्पनीको उद्देश्य नै नाफा कमाउने भएपछि दाबीमा भुक्तानीको रकम घटाउने पर्यत्न गर्ने र रकम घटाउन सकिएन भने ढिलासुस्ती गर्ने अभ्यास थियो,’ घिमिरे भन्छन्, ‘यदि एक महिना ढिला गर्यो भने एक करोडलाई बैंकमा राख्दा लाखौं ब्याज आम्दानी हुन्छ । त्यो ब्याज कम्पनीका लागि आम्दानी हुने भएकाले यसतर्फ बढी लालहित हुने प्रचलन थियो ।’ उनले झन् मुद्दा–मामिलामा गयो भने एक–दुई वर्ष ढिलासुस्ती हुने र आम्दानी झनै बढ्ने अवस्था पहिला रहेकाले यस्तो अभ्यास हुने गरेको बताउँछन् ।

तर, पछिल्लो समय बिमितले मुद्दा जित्यो भने ब्याजसहित भुक्तानी तिर्नुपर्ने भन्ने कानुनी व्यवस्था गरिएको छ । यो व्यवस्थाबमोजिम भुक्तानी ढिलो गर्दा बिमा कम्पनीलाई घाटा हुने गर्दछ । यसकारण बिमा कम्पनीको तर्फबाटे ढिलासुस्ती गर्ने र बार्गेनिङ गर्ने प्रवृत्ति अहिले खासै नरहेको देखिन्छ । दाबी भुक्तानीमा ढिलाइ गर्ने, विभिन्न विवाद सिर्जना गर्ने, भुक्तानी अस्वीकार गर्ने परिपाटी भएमा नागरिकमा बिमाप्रति निरासा पैदा हुने गर्दछ ।

नेपालको सन्दर्भमा कम्पनीले बिक्री गर्ने प्रोडक्टलाई नै बिमाको रुपमा लिइन्छ । आजका दिनमा पनि प्रोडक्टको खरिदबिक्री गर्नु बिमा व्यवसाय हो । यद्यपि, समयमा दाबी भुक्तानी नभएका गुनासोहरू आउन छाडेका छैनन् । दाबी भुक्तानी ढिलासुस्ती हुँदा नागरिकमा यसतर्फको वितृष्णा पैदा हुने भएको नियामकले यसमा काम गर्न आवश्यक रहेको देखिन्छ ।

बिमा सर्भेयर संघ, नेपाल (निसा)का अध्यक्ष मोहनपुरुष ढकाल बिमा दाबी भुक्तानीमा बार्गेनिङ गर्ने प्रवृति ठुलो मात्रामा रहेको बताउँछन् । ‘दाबीकर्ता अर्थात् बिमितलाई बढी भुक्तानी लिन पाए हुन्थ्यो भन्ने सोच हुन्छ भने भुक्तानीकर्ता (बिमक)लाई कम दिन पाए हुन्थ्यो भन्ने हुन्छ जुन मानवीय स्वभाव नै हो,’ ढकाल भन्छन्, ‘तर, बिमा दाबीमा गरिने बार्गेनिङले यो क्षेत्रलाई नै नकारात्मक असर पु¥याउँछ । यसर्थ, यो पाटोमा नियामकदेखि सबैले विचार पु¥याउन आवश्यक छ ।’

उनले बिमितले पनि धेरै लिन खोज्न नहुने र बिमकले पनि उचित भुक्तानी दिन गाह्रो मान्न नहुने बताए । बिमकले सेवा प्रदान गर्छु भनेर ग्राहक बनाउने र प्रिमियम लिने भएकाले भुक्तानी कम गर्ने भन्दा पनि बरु थोरै दाबी भएको खण्डमा थपेर दिने अभ्यास सुरु गर्न आवश्यक भएको ढकालको भनाइ छ । बार्गेनिङको अवस्था अन्त्य गर्नका लागि सर्भेयरलाई उचित भूमिका दिन सकिने सुझाव पनि उनले दिए ।खासगरी, जलविद्युत्, गाडीहरुको बिमा दाबीमा पनि यो किसिमको समस्या देखिने गरेको छ ।

यी क्षेत्रको बिमा गर्दा बिमा गरेको समयको मूल्यको आधारमा गरिन्छ । तर, पछि गएर ती सामान महँगीएका हुन्छन् । तर, सामाग्री महँगो भएपनि बिमकले भने पहिला जुन मूल्य कायम गरेर बिमा गरेको हुन्छ सो बराबरको नै भुक्तानी दिने गर्दछन् । यद्यपि, बिमितले भने दाबी गर्दा पहिलाको नभएर क्षती हुँदा बखतको मूल्यका आधारमा दाबी गर्ने गर्दछ ।

बिमा पहिला गर्ने र पछिको मूल्यको आधारमा भुक्तानी खोज्ने कार्यले पनि बार्गेनिङको गर्नुपर्ने स्थिति कतिपय सन्दर्भमा भने निस्कने गरेको छ । यद्यपि, यसको तुलनामा नियोजितरुपमै बढी दाबी गर्ने प्रवृत्ति बढी देखिन्छ । यस किसिमको प्रवृत्तिले दीर्घकालीन रुपमा पनि असर पार्ने गर्दछ ।

यथार्थ विपरीत दाबी र बारम्बार बार्गेनिङ भएमा बिमा कम्पनी तथा बिमित दुबैको समय र स्रोत बढी खर्च हुन्छ । यसर्थ, दाबी प्रक्रियामा स्पष्ट मापदण्ड र कागजात मार्गनिर्देशन अवलम्बन गर्नुपर्ने पनि आवाज उठिरहेको छ । यसका लागि नियमित निगरानी र तथ्यपरक सर्वेक्षण हुन पनि जरुरी छ । बार्गेनिङ गर्ने हिसाबमा दाबी गर्दा हुने घाटाका विषयमा बिमा कम्पनी र नियामकले सचेतना फैलाउनसमेत आवश्यक देखिन्छ ।