
काठमाडौं । वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका लागि विश्वका विभिन्न मुलुकमा नेपाली पुगेका छन् । विभिन्न मुलुकमा लाखौँको संख्यामा रहेका नेपालीमध्ये धेरैजसो निश्चित क्षेत्र वा शहरमा केन्द्रित भएर बस्दै आएका छन् जहाँ नेपाली समुदायकै बसोबास बाक्लो हुन्छ । यसरी, नेपाली समुदायले बाक्लो उपस्थिति जनाएको निश्चित् क्षेत्र बिमाको सम्भाव्य बोकेको क्षेत्र हो ।
यस्ता क्षेत्रमा पुगेर नेपाली बिमकले बिमा गराउन सकेमा बिमाको दायरा विस्तार हुने सम्भावना छ । नेपाल जस्तो सानो बजार रहेको मुलुकमा बिमा गराइरहेका कम्पनीहरुले विदेशमा पुगेर आफ्नो सेवा प्रवाह गर्न सकेमा त्यसले बिमकको व्यवसाय दिगो बनाउन सक्दछ । विदेशमा रहेका नेपालीलाई बिमा गराउने विषयमा जानकारी राख्दै नेपाल बिमा प्राधिकरणले यसको बाटोसमेत खोलिसकेको छ ।
नेपाल बिमा प्राधिकरणले बिमकको शाखा कार्यालय सञ्चालन सम्बन्धी निर्देशिका २०७९ जारी गर्दे बिमकले विदेशमा पनि शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न पाउने व्यवस्था गरेको थियो । उक्त व्यवस्थाबमोजिम केही नेपाली बिमा कम्पनीले शाखा कार्यालय खोल्न इच्छा देखाए पनि यसतर्फ अघि बढीसकेका भने छैनन् । अझ भनौं, तत्कालै उनीहरुले बाहिर गएर शाखा कार्यालय खोल्ने आँट गर्न सकेका छैनन् ।
‘यदि, कुनै कम्पनी बाहिर शाखा कार्यालय खोल्न चाहन्छ भने उसले सुरुमा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने हुन्छ । यसपछि नेपाल राष्ट्र बैंकबाट पनि पुँजी लैजानका लागि अनुमति लिनुपर्छ,’ प्राधिकरणका सूचना अधिकारी पूर्णबहादुर थापाले भने, ‘नेपालबाट यी प्रक्रिया पुरा गर्दै गर्दा कार्यालय खोल्न चाहेको मुलुकको नीति नियम पनि पालना गर्नुपर्ने हुन्छ ।’
उनले यी प्रक्रिया पूरा गरेर कुनै कम्पनी शाखा कार्यालय खोल्न जान चाहेमा प्राधिकरणले त्यसलाई प्रोत्साहन गर्ने बताए ।
विदेशमा बसेका नेपालीलाई त्यहिँ गएर बिमा गर्न लगाउने, सुविधा दिने कार्य गरेमा उनीहरुको पुँजी पनि सही ठाउँमा लगानी हुने र नेपाली बिमा बजार विस्तार हुने तर्क उनको छ । प्राधिकरणले यहि सोचेर कानुनी व्यवस्था गरेको जानकारी उनले दिए ।
हुन, त प्राधिकरणको काम कानुनी व्यवस्था गर्ने र बजार उपलब्ध गराइदिने हो । यसपछि त्यहाँको व्यवसाय, दिगोपन र प्रतिफल हेरेर लगानी गर्ने नगर्ने विषय भने बिमा कम्पनीमा निर्भर रहन्छ । खाडी मुलुकदेखि कोरियासम्म, जापानदेखि अष्ट्रेलियासम्म नेपाली समुदाय ठूलो संख्यामा छन् । यी ठाउँमा नै पुगेर बिमा सेवा पु¥याउन प्रवाह गर्न सकेको खण्डमा त्यसले बिमा बजार विस्तार हुने कुरामा दुईमत छैन ।
तर, बिमा कम्पनीले माग गरेर प्राधिकरणले उक्त व्यवस्था गरेपनि बाहिर जानलाई सहज स्थिति नरहेको बिमा विज्ञ रविन्द्र घिमिरे बताउँछन् । ‘नेपाली बिमा कम्पनी बाहिर गएर शाखा कार्यालय खोल्नका लागि त्यहाँको कानुनी मापदण्ड, पुँजी तथा अन्य थुप्रै प्रावधानहरु पुरा गर्नुपर्ने हुन्छ जुन सहज छैन,’ घिमिरे भन्छन्, ‘यहि कारण नेपाली बिमा कम्पनीहरुले बाहिर गएर आफ्नो व्यवसाय विस्तार गर्न नसकेका हुन् ।’
उनले भारतमा नेपालको पुनर्बिमा कम्पनीले भारतमा शाखा कार्यालय खोलेर चलाउन नै कठिन रहेकाले झन् अन्य मुलुकमा नेपाली बिमा कम्पनीहरुले व्यवसाय विस्तार गर्न कठिन रहेको बताए । यहि, कारण बाहिर बजारको सम्भावना उच्च हुँदा हुँदै पनि बिमकले आँट गर्न नसकेको तर्क उनको छ । यद्यपि, नेपाली बिमा कम्पनी सक्षम र सबल भएको खण्डमा यसमा जान असम्भवकै स्थिति भने छैन ।
विदेशमा रहेका नेपालीहरूका लागि जीवन बिमा, स्वास्थ्य बिमा र वैदेशिक रोजगारसम्बन्धी बिमा महत्वपूर्ण हुन सक्छ । बिमा कम्पनीहरू र नियामक निकायबीचको सहकार्यमा विदेशमा सेवा विस्तार गरिए नेपाली बिमा उद्योगको सम्भावना थप उज्यालो बन्न सक्ने देखिन्छ । साथै, यो सफल भएमा विदेशी मुद्रा आर्जनको राम्रो स्रोतसमेत बन्न सक्ने सम्भावना छ ।
यस्तो छ नीतिगत व्यवस्था
बिमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका, २०७९ मा नेपाली बिमा कम्पनीले विदेशमा शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न पाउने व्यवस्था गरिएको छ । निर्देशिकामा उल्लेख भएअनुसार विदेशमा यस्तो कार्यालय खोल्न प्राधिकरणबाट पूर्व सहमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
विदेशमा शाखा कार्यालय खोल्नका लागि प्राधिकरणले तोकेको न्युनतम चुक्ता पुँजी कायम गरेको, बिमक तथा बिमकका सञ्चालकलाई प्राधिकरणबाट कुनै कारबाही भएको भए त्यस्तो कारबाही भएको छ महिना पूरा भइसकेको हुनुपर्ने उल्लेख छ ।
इच्छुक बिमकले विदेशमा शाखा कार्यालय स्थापना गर्न पहिला प्राधिकरणबाट सैद्धान्तिक सहमति प्राप्त गर्नुपर्ने हुन्छ । यसका लागि विदेशमा शाखा स्थापना सम्बन्धमा सञ्चालक समितिको निर्णय, सम्बन्धित मुलुकको नियामक निकायले तोकेको नीतिगत व्यवस्था र सोको पालना गर्न सक्ने सम्बन्धमा बिमकको तर्फबाट गरिएको स्वघोषणा प्राधिकरणलाई बुझाउनुपर्ने हुन्छ ।
शाखा कार्यालय खोल्नका लागि प्रस्तावित स्थानको बिमा व्यवसायको सम्भाव्यता अध्ययन प्रतिवेदन, प्रस्तावित व्यवसायको योजना, तुलनात्मक लागत लाभ विश्लेषण, व्यवसायिक रणनीति, सूचना प्रविधि व्यवस्थापन र आन्तरिक नियन्त्रण तथा जोखिम व्यवस्थापन सम्बन्धी विवरण कम्पनीले प्राधिकरणमा बुझाउनुपर्छ । यी सबै विवरण हेरेर प्राधिकरणले शाखा खोल्न सैद्धान्तिक सहमति प्रदान गर्नसक्छ ।
प्राधिकरणबाट सैद्धान्तिक सहमति प्राप्त गरे पछि बिमकले विदेशमा शाखा खोल्नका लागि सम्बन्धित मुलुकले तोकेका मापदण्ड अनुरुप सहमति प्राप्त भए पछि कार्यालय खोल्ने अन्तिम स्वीकृतिको लागि फेरि प्राधिकरण समक्ष निवेदन पेस गर्नुपर्ने व्यवस्था छ । यसका लागि शाखा कार्यालय खोल्न उपयुक्त देखिएको र त्यस्तो कार्यालय सञ्चालन गर्न बिमक सक्षम रहेको सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाउनुपर्छ ।
शाखा कार्यालय सञ्चालनको गर्न तोकिएको पूँजी (विदेशी मुद्रामा) सम्बन्धित मुलुकमा लगानी गर्न प्रचलित कानून बमोजिम सम्बन्धित निकायको स्वीकृति पत्र, जुन मुलुकमा त्यस्तो कार्यालय स्थापना गरिने हो सो मुलुकको नियामक निकायले तोकेको पुँजी पुरा भएको विवरण प्राधिकरणलाई बुझाउनुपर्छ ।
यसपछि, प्राधिकरणले शाखा कार्यालय स्थापना गर्न सकिने देखिएमा आवश्यक शर्त समेत तोकी अन्तिम स्वीकृति प्रदान गर्नेछ । यसरी, प्राधिकरणबाट अन्तिम स्वीकृति प्राप्त गरेको छ महिनाभित्र बिमकले त्यस्तो शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोली सोको जानकारी प्राधिकरणलाई दिनुपर्ने र सो अवधिभित्र त्यस्तो कार्यालय सञ्चालन नभएमा स्वीकृति स्वतः रद्द हुने व्यवस्था निर्देशिकाले गरेको छ ।
प्रतिक्रिया