
भारतको अहमदाबादमा बिहीवार भएको विमान दुर्घटनामा १२० जनाको मृत्यु भएको हुन सक्ने स्रोतहरूलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले खबर दिएको छ ।
उक्त विमान एक मेडिकल कलेजको विद्यार्थी बस्ने होस्टल भवनमा ठोकिएको भिडियोहरू सार्वजनिक भएका छन् ।
समाचार संस्था पीटीआईले सार्वजनिक गरेको भिडियोमा दुर्घटनाग्रस्त विमानको एउटा चक्का भवनको छतमा अड्किएको देखिन्छ । उक्त भवन बीजे मेडिकल कलेजमा इन्टर्नशिप गरिरहेका डाक्टरहरूको होस्टलको भएको स्रोतहरूले हिन्दुस्तान टाइम्सले खबर दिएको छ ।
एयर इन्डियाको एआई १७१ उडानको बोइङ ७८७ ड्रीमलाइनर विमान अहमदाबादबाट लन्डनको गाटविक विमानस्थलतर्फ जाँदै गर्दा उडेको ५ मिनेटमा दुर्घटनाग्रस्त भएको थियो । उड्डयन अधिकारीहरूका अनुसार, विमान दुर्घटना हुनुअघि पाइलटहरूले अहमदाबाद एयर ट्राफिक कन्ट्रोललाई संकटको सूचना दिने मेडे कल गरेका थिए ।
उक्त विमानमा लामो यात्राका लागि भनेर टन्न इन्धन राखिएको थियो । त्यसले गर्दा पनि दुर्घटना भएपछि ठूलो विस्फोट भयो र दनदनी आगो बल्यो ।
विमानमा १६९ भारतीय, ५३ जना बेलायती, एक क्यानडेली र सातजना पोर्चुगालीहरू सवार रहेको एयर इन्डियाले पुष्टि गरेको छ ।








प्रतिक्रिया