करोडौं डलर शुद्धीकरण गरेको आरोपमा अर्जेन्टिनाका फुटबल अधिकारीहरूमाथि अमेरिकी अनुसन्धान

329
Shares

एजेन्सी । अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले अर्जेन्टिनाका फुटबल अधिकारीहरूले अमेरिकी बैंकहरू प्रयोग गरेर करोडौँ डलर ‘मनी लाउन्ड्रिङ’ (सम्पत्ति शुद्धीकरण) गरेको आरोपमा अनुसन्धान गरिरहेको खबर सार्वजनिक भएको छ ।

अभियोजकहरूले अर्जेन्टाइन फुटबल एसोसिएसन (एएफए) सँग सम्बन्धित रकम अमेरिकी बैंकहरूमार्फत सारिएको र यसले मनी लाउन्ड्रिङ र ठगी जस्ता अपराधको रूप लिन सक्ने विषयमा जाँच गरिरहेका छन्।

यो खबर यस्तो समयमा आएको छ जब लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाको टोली लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यका साथ क्यान्सास सिटीमा स्विजरल्याण्डविरुद्ध क्वार्टरफाइनल खेल खेल्ने तयारीमा छ।

एएफएका विदेशी प्रायोजकहरू र व्यावसायिक साझेदारहरू (जस्तै एडिडास र वार्नर) बाट भुक्तानी संकलन गर्न प्रयोग गरिएको फ्लोरिडास्थित एउटा कम्पनीमार्फत १९ करोड पाउण्ड भन्दा बढी रकम प्रवाह भएको थियो।

अर्जेन्टिनी समाचार पत्र ‘ला नासियोन’ का अनुसार, अनुसन्धानकर्ताहरूले उक्त रकम वास्तवमा कहाँ गयो, कसले प्राप्त गर्‍यो र यस क्रममा कुनै अमेरिकी कानुन उल्लंघन भयो कि भएन भन्ने कुरा पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

उक्त सञ्चारमाध्यमले दाबी गरेअनुसार सो रकमको केही हिस्सा मात्र फुटबलसँग सम्बन्धित गतिविधिमा प्रयोग भएको देखिन्छ ।

यस सिलसिलामा एक व्यवसायीले गत हप्ता एफबीआई एजेन्टहरू र संघीय अभियोजकहरूसँग भिडियो कलिमार्फत तीन घण्टा कुराकानी गरेको बताइएको छ ।

अनुसन्धानकर्ताहरूले एएफएका वर्तमान अध्यक्ष क्लाउडियो टापियाको नेतृत्वमा भएको आर्थिक कारोबारबारे भित्री जानकारी राख्ने अन्य व्यक्तिहरूबाट पनि प्रमाण खोजिरहेका छन् ।

यस अनुसन्धानको केन्द्रमा फ्लोरिडास्थित ‘टुरप्रोडइन्टर एलएलसी’ नामक कम्पनी रहेको छ यसले अर्जेन्टिना फुटबलका ठूला व्यावसायिक सम्झौताहरूको भुक्तानी व्यवस्थापन गरेको थियो ।

ला नासियोनले समीक्षा गरेका कागजातहरूका अनुसार उक्त कम्पनीले एएफएसँग सम्बन्धित कम्तीमा १९ करोड पाउण्ड व्यवस्थापन गरेको थियो।
थप ४.२ करोड पाउण्ड विभिन्न कम्पनी र व्यक्तिहरूलाई भुक्तानी गरिएको पाइएको छ, जसको उद्देश्य स्पष्ट छैन ।

सूक्ष्म रूपमा हेरिएका कारोबारहरूमध्ये करोडौँ डलर ती ‘शेल’ (नक्कली) कम्पनीहरूलाई पठाइएको पाइएको छ जुन कम्पनीका मालिकहरू ब्युनस आयर्स र ब्यारिलोचेमा सरकारी भत्तामा आश्रित मानिसहरू भनिएको छ।

अहिले सिटी बैंक, बैंक अफ अमेरिका, जेपी मोर्गन र पीएनसी बैंक जस्ता ठूला बैंकहरूमा रहेका खाताहरूबाट भएको पैसाको लेनदेन पछ्याउने काम भइरहेको छ ।

एएफएको आर्थिक कारोबारबारे ‘ला नासियोन’ मा शृंखलावद्ध रिपोर्टहरू छापिएपछि यस वर्षको सुरुदेखि यो अनुसन्धानले गति लिएको हो ।

अमेरिकी न्याय विभागले यसबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन । अर्कोतर्फ, एएफएका प्रतिनिधिहरूले यी आरोपहरूमा सतर्क रहन आग्रह गरेका छन् । गत हप्ता मियामीमा आयोजित एक कार्यक्रममा एएफएका उत्तर अमेरिकाका राजदूत टोमास रेगालाडोले भने, ‘अनुसन्धान प्रक्रिया अघि बढ्दैमा कोही दोषी वा जिम्मेवार ठहरिँदैन ।’