अस्ट्रेलिया र भारतबीच युरेनियम निर्यात सम्झौता, नवीकरणीय ऊर्जामा सहकार्य बढाउने प्रतिबद्धता

21
Shares

एजेन्सी । अस्ट्रेलिया र भारतबीच बिहीबार अस्ट्रेलियाली युरेनियम भारत निर्यात गर्ने विषयमा सम्झौता भएको छ ।

यससँगै दुवै देश नवीकरणीय ऊर्जा, महत्त्वपूर्ण खनिज र हरित हाइड्रोजनको क्षेत्रमा सहकार्य बढाउन सहमत भएका छन् । भारतले सन् २०४७ सम्ममा १०० गिगावाट आणविक ऊर्जा क्षमता पुर्याउने लक्ष्य राखेको छ जसका लागि उसले लामो समयदेखि अस्ट्रेलियाको युरेनियम भण्डारमा आँखा लगाइरहेको थियो ।

अर्कोतर्फ, अस्ट्रेलिया आफ्नो मुख्य व्यापारिक साझेदार चीनमाथिको निर्भरता घटाउँदै व्यापार विविधीकरण गर्न चाहन्छ ।

अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी एल्बानिजीले भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तालाई टुंग्याउँदै अस्ट्रेलिया र भारत घनिष्ठ साझेदार र असल मित्र भएको बताए । उनले यस व्यवस्थाले भारतको गैर–जीवाश्म इन्धन ऊर्जा क्षमता बढाउन र अस्ट्रेलियाको स्रोत क्षेत्रका लागि थप बजार उपलब्ध गराउन मद्दत गर्ने उल्लेख गरे ।

दुई देशबीच सन् २०१४ मै आणविक सहकार्य सम्झौता भएको थियो तर आणविक इन्धन ऊर्जा उत्पादन जस्ता शान्तिपूर्ण उद्देश्यका लागि मात्र प्रयोग हुने सुनिश्चितता सम्बन्धी चिन्ताका कारण युरेनियम निर्यात सीमित रहँदै आएको थियो ।

प्रधानमन्त्री मोदीले भारत र अस्ट्रेलियाको सम्बन्धले दुवै देशका लागि विभिन्न क्षेत्रमा सहकार्यका ऐतिहासिक अवसरहरू प्रदान गरेको बताए । उनले अस्ट्रेलियाको प्रविधि, पुँजी र स्रोतले भारतको ऊर्जा सङ्क्रमणलाई गति दिन मद्दत गर्ने बताउँदै न्यून–कार्बन आल्मुनियम आयोजनाहरूमा पनि सहकार्यको संकेत गरे ।

मोदीले अस्ट्रेलियाको व्यावसायिक समुदायलाई भारतका सडक, बन्दरगाह, रेल र शहरी पूर्वाधार आयोजनाहरूमा दीर्घकालीन लगानी गर्न आग्रह गर्दै भारत लगानीका लागि सुरक्षित, स्थिर र दिगो वृद्धिको विकल्प भएको बताए ।

यसै क्रममा अस्ट्रेलियाको सबैभन्दा ठूलो पेन्सन कोष अस्ट्रेलियन सुपरले भारतको राष्ट्रिय लगानी र पूर्वाधार कोषमा थप ५० करोड अस्ट्रेलियाली डलर लगानी गर्ने घोषणा गरेको छ । व्यावसायिक कार्यक्रममा मोदीलाई भेटेपछि प्रधानमन्त्री एल्बानिजीले भारतीय नेतालाई अस्ट्रेलिया र भारतबीचको जीवन्त पुलको संज्ञा दिए ।

मोदीको दृष्टिकोणले भारतसँगको अस्ट्रेलियाको आर्थिक संलग्नताको मार्गचित्रलाई नयाँ रूप दिन मद्दत गरेको उनको भनाइ थियो ।

चीन, जापान, अमेरिका र दक्षिण कोरियापछि भारत अस्ट्रेलियाको पाँचौं ठूलो व्यापारिक साझेदार हो । अस्ट्रेलियाको २ करोड ८० लाख जनसंख्यामध्ये करिब १० लाख मानिस भारतीय मूलका छन् । प्रधानमन्त्री मोदीले बिहीबार साँझ मेलबर्नको एउटा ठूलो रंगशालामा हजारौं प्रवासी भारतीयहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उनले यसअघि पनि बेलायत, अमेरिका र ठूलो संख्यामा भारतीयहरू रहेका अन्य देशहरूको भ्रमणका क्रममा यस्ता ठूला कार्यक्रम आयोजना गर्दै आएका छन् ।

मोदी इन्डोनेसियाको भ्रमणपछि अस्ट्रेलिया पुगेका हुन् । त्यहाँ उनले कृषि, रक्षा र ब्रह्मोस क्रूज मिसाइल प्रणाली लगायतका विभिन्न सम्झौताहरूमा हस्ताक्षर गरेका थिए । उनी शुक्रबार दिउँसो न्युजिल्यान्ड प्रस्थान गरी त्यहाँबाट भारत फर्कनेछन् ।