
एजेन्सी । दुई साताअघि मलेसियको राजधानी क्वालालम्पुरमा महत्त्वपूर्ण अर्थराजनीतिक घटनाक्रम भएको छ ।
दक्षिणपूर्वी एसियाका मुलुकहरूको संगठन आसियान, खाडी मुलुकहरूको संगठन जीसीसी र चीनका प्रतिनिधिहरू सहभागी भएको सम्मेलनले दुईवटा क्षेत्रीय शक्ति र चीनबीचको आर्थिक सम्बन्ध थप गहिरिँदै गएको संकेत दिएको छ । यस त्रिपक्षीय सहकार्य संयन्त्रले विश्व राजनीतिलाई तरंगित बनाउने देखिन्छ ।
दक्षिणपूर्वी एसिया अहिले भूराजनीतिको केन्द्र बन्न थालेको छ । त्यहाँ चीन, अमेरिका र अन्य विश्वशक्तिहरूले आफ्नो प्रभाव बढाउनका लागि प्रयास गरिरहेका छन् । गत अप्रिल महिनामा चीनका राष्ट्रपति सी चिनपिङले चीनको प्रभावलाई थप मजबुत बनाउनका लागि कम्बोडिया, मलेसिया र भियतनामको भ्रमण गरेका थिए ।
त्यसैताका अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका विशेषदूत कम्बोडिया र भियतनामको भ्रमणमा गएका थिए । ट्रम्पले लगाएको भन्सार दरका कारण बिग्रिएको सम्बन्ध सुधार्नका लागि र स्वतन्त्र एवं खुला हिन्द प्रशान्तप्रति प्रतिबद्धता कायम राख्नका लागि ती विशेषदूतले आसियान मुलुकका सदस्य राष्ट्रका प्रतिनिधिहरूलाई भेटेका थिए ।
त्यससँगै अमेरिकी राष्ट्रपतिले खाडीका तीनवटा मुलुकको भ्रमण गरेका थिए । त्यसक्रममा उनले खाडी क्षेत्रमा अमेरिकाले विगतमा अपनाएको हस्तक्षेपको नीतिलाई निन्दा गरेका थिए र नयाँ सम्झौताहरू गरेका थिए । मे महिनाको अन्त्यतिर फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले पनि इन्डोनेसिया, सिंगापुर र भियतनामको भ्रमण गरी बेइजिङ र वाशिङटनको विकल्पमा युरोपेली संघ पनि बलियो साझेदारका रूपमा रहेको बताएका थिए ।
मलेसियामा चीन–आसियान–जीसीसी सम्मेलन आयोजना गरिनु दैवसंयोग हैन । आसियानको बहालवाला अध्यक्षका रूपमा मलेसियाले उक्त संगठनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम क्षेत्रीय एकता तथा नयाँ साझेदारीहरूका मुखर पक्षपाती हुन् ।
यस त्रिपक्षीय सम्मेलनअघि आसियानका सदस्यहरू क्वालालम्पुरमा भेला भएर आफ्नो भविष्यको खाका कोरिरहेका थिए । त्यसै अवसरमा आसियानका १० सदस्य राष्ट्रले २० वर्षे अवधारणा ‘आसियान २०४५’ पारित गरेका थिए । दक्षिणपूर्वी एसियालाई अन्य क्षेत्रसँगको सहकार्यमा विश्वव्यापी आर्थिक वृद्धिको उत्प्रेरक बनाउने महत्त्वाकांक्षा सहित उक्त अवधारणा सार्वजनिक गरिएको हो ।
त्यस्ता साझेदारमध्ये सबभन्दा महत्त्वपूर्ण चीन र जीसीसी सदस्य राष्ट्रहरू हुन् । जीसीसीका सदस्य राष्ट्र बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र संयुक्त अरब अमिरात (यूएई) र आर्थिक महाशक्ति चीनले विश्वको एकचौथाइ जनसंख्याको प्रतिनिधित्व गर्दछन् र तिनले विश्वको कुल गार्हस्थ्य उत्पादनको लगभग एकचौथाइ भाग समेट्छन् । यिनीहरूको आर्थिक सम्पर्क पनि बलियो छ । आसियान र जीसीसी दुवैका लागि चीन सबभन्दा ठूलो व्यापारिक साझेदार हो । चीनको सबभन्दा ठूलो आर्थिक साझेदारका रूपमा आसियान अहिले युरोपेली संघभन्दा पनि अघि बढिसकेको छ । त्यस्तै चीनले आयात गर्ने कच्चा तेलको एकतिहाइ भाग जीसीसी मुलुकहरूबाटै आउने गरेको छ ।
क्वालालम्पुरमा भएको सम्मेलनले विश्वको दोस्रो र पाँचौं ठूलो अर्थतन्त्र (क्रमशः चीन र आसियान) सँगै ऊर्जा र कच्चा पदार्थका निर्यातकहरूलाई एकै मञ्चमा आउने अवसर दियो । ती मुलुकका नेताहरूले यस साझेदारीबाट उत्पन्न आशालाई अभिव्यक्त गरेका छन् ।
प्रधानमन्त्री अनवर इब्राहिमले चीनको कन्फ्युसियन र खाडीको इस्लामी सभ्यताहरूबीचको अन्तःसांस्कृतिक संवादको अवधारणा ल्याउँदै त्यसलाई चीनको विश्वव्यापी सभ्यता पहल (जीसीआई) सँग जोडे ।
चीनका प्रधानमन्त्री ली छ्याङले विश्वव्यापी सुरक्षा र समृद्धिको एउटा खम्बाका रूपमा चीन, आसियान र जीसीसीका रूपमा विशाल त्रिकोणको अवधारणा ल्याए । त्यसक्रममा उनले पश्चिमी मूल्यमान्यताभन्दा विपरीत साझा एसियाली मान्यताका रूपमा खुलापन, सहकार्य र एकताको कुरा उठाए ।
बेइजिङको आधिकारिक दस्तावेजमा यी एसियाली मूल्यमान्यताहरूलाई विशेष जोड दिइएको छ । गत अप्रिल महिनामा सीले एसियाली मुलुकहसँगको सम्बन्धका विषयमा उच्चस्तरीय सम्मेलनको आयोजना गरेका थिए । चीनको विकास, सुरक्षा र कूटनीतिक प्राथमिकताका लागि उक्त सम्बन्ध अपरिहार्य रहेको उनको भनाइ थियो ।
अन्य क्षेत्रीय शक्तिहरूलाई चीनको यस्तो अभिव्यक्ति आफ्नो प्रभाव स्थापनाको प्रयास लाग्न सक्छ । तर चीनले यस्ता किसिमका व्याख्यालाई नकार्ने गरेको छ । सम्पर्क, एकता र समानतालाई जोड दिने रेशममार्ग जस्ता वैकल्पिक ऐतिहासिक मोडलहरूलाई उसले सन्दर्भ बनाउने गरेको छ ।
चीन–आसियान–जीसीसी सम्मेलन पनि त्यसैको निरन्तरता थियो । बेइजिङले विद्यमान चीन– आसियान खुला व्यापार क्षेत्रलाई विस्तार गरेर जीसीसीलाई पनि समेट्ने प्रस्ताव राखेपछि दक्षिणपूर्वी एसियाका नेताहरूले त्यसलाई स्वागत गरेका थिए । व्यापार उदारीकरणका लागि चीनले गरिरहेको प्रयासलाई यस पहलले थप गति दिनेछ र यसले क्षेत्रीय विस्तृत आर्थिक साझेदारी (आरसीईपी) बाट प्राप्त हुने लाभलाई पनि बढोत्तरी गर्नेछ । आरसीईपी विश्वको सबभन्दा ठूलो खुला व्यापार क्षेत्र हो र त्यसमा सबै आसियान मुलुकहरू समेटिएका छन् ।
यस सम्मेलनका एजेन्डाहरू आर्थिक विषयमा केन्द्रित थिए । आसियानको रणनीतिक सोच र खाडी मुलुकहरूको चासो आर्थिक विषयमै छ भन्ने कुराको संकेत यसबाट पाइन्छ ।
विगत एक दशकमा चीनले आसियानका सदस्यहरूसँग मिलेर बेल्ट यान्ड रोड इनिसिएटिभ अन्तर्गत अनेकौं परियोजना आरम्भ गरेको छ । जीसीसीसँगको सहकार्य पनि कच्चा पदार्थ जस्ता परम्परागत क्षेत्र भन्दा अघि बढेर कृत्रिम बौद्धिकता, डिजिटल अर्थतन्त्र र ५जी प्रविधितर्फ विस्तार भइरहेको छ । यसरी अर्थतन्त्रमा जोड दिनु आफैंमा रणनीतिक निर्णय हो र यसले सरोकारवालाहरूलाई विवादित राजनीतिक एवं सुरक्षा मामिलामा नपर्नका लागि सहज बनाएको छ ।
राजनीतिका विवादित विषय कायम छन् । चीनले आसियान र जीसीसीसँग बलियो सम्बन्ध कायम राखेको भए पनि द्विपक्षीय सम्बन्धमा समस्या कायम छन् । आसियानभित्रै पनि सीमासम्बन्धी विवाद र सार्वभौमसत्ताका विषयमा चिन्ता कायम छन् । विशेषगरी दक्षिण चीन सागरमा रहेका यी विवादले मुलुकहरूलाई एकअर्कासँग विश्वासको वातावरण बनाउन रोकेका छन् ।
ब्रुनाई, मलेसिया, फिलिपिन्स र भियतनामसँग चीनको विवाद लामो समयदेखि चलिरहेको छ र यसले क्षेत्रीय सम्बन्धमा दरार ल्याएको छ । चीनले आफ्नो प्रभुत्व दाबी गरिरहँदा उसमाथिको अत्यधिक आर्थिक निर्भरता, सम्भावित ऋण पासो र बेइजिङको राजनीतिक शक्तिका विषयमा चिन्ता व्यक्त हुने गरेका छन् । यिनै कारणहरूले गर्दा फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर हालैका वर्षमा चीनको साटो अमेरिकासँग नजिकिन थालेका हुन् ।
चीन र अमेरिकाबीचको प्रतिस्पर्धा पनि त्रिपक्षीय साझेदारीको महत्त्वपूर्ण कारकतत्त्वका रूपमा रहेको छ । आसियान र जीसीसी मुलुकहरूले ऐतिहासिक रूपमा अमेरिकासँग बलियो सम्बन्ध राख्दै आएका छन् । अमेरिका अहिले पनि आसियान मुलुकहरूको सबभन्दा ठूलो बजार हुनुका साथै अग्रणी विदेशी लगानीकर्ता हो ।
जीसीसी मुलुकहरू वाशिङटनसँग लामो समयदेखि साझेदारी गर्दै आएका छन् । तर अहिले उनीहरू अमेरिकी र चिनियाँ चासोबीच सन्तुलन मिलाउन सचेत छन् । विशेषगरी संवेदनशील प्रविधि तथा सुरक्षा सहकार्यमा उनीहरूले यस्तो सन्तुलन मिलाउनुपर्नेछ । साउदी अरबले चिनियाँ ५जी र कृत्रिम बौद्धिकता प्रविधि अपनाएकोमा वाशिङटनले विरोध गरिरहेको छ । यस्तै किसिमका चिन्ताका कारण अमेरिका र यूएईबीच सैन्य सम्झौताहरू रद्द भएका छन् । यसबाहेक युआनमा तेलको व्यापार गर्ने निर्णयले पेट्रोडलर प्रणालीलाई चुनौती दिन्छ र पश्चिमले यसमा निगरानी बढाउँछ ।
यी भूराजनीतिक जटिलताहरूले त्रिपक्षीय साझेदारीमा बाधा ल्याउन सक्छन् र यिनले विद्यमान दरार एवं संरचनागत जोखिमहरूलाई उजागर गर्छन् । व्यापार, ऊर्जा, संरचना र अत्याधुनिक प्रविधिले सहकार्यको अवसर दिलाएको भए पनि भूराजनीतिक प्रतिस्पर्धा र सांस्कृतिक भिन्नताले गम्भीर अवरोध तेर्स्याएका छन् । त्यसबाहेक मुलुकहरूबीच कायम शक्ति असन्तुलन पनि विचारणीय छ । आसियानका साना मुलुकहरूसँग त्रिपक्षीय फर्म्याटमा पूर्ण रूपमा सहभागी हुनका लागि आवश्यक संस्थागत र आर्थिक क्षमता नहुन सक्छ ।
यसो हुँदाहुँदै पनि चीन आसियान जीसीसी मञ्चले उदीयमान बहुध्रुवीय विश्व व्यवस्थाभित्र नयाँ आयाम थपेको छ । (उदाउँदा अर्थतन्त्रका रूपमा रहेका मुलुकहरूबीचको) दक्षिण दक्षिण सहकार्य अहिले बढिरहेको सन्दर्भमा यस सम्मेलनले त्यसलाई गतिमान बनाएको छ । त्यसले बहुपक्षीयता र आर्थिक भूमण्डलीकरणलाई बहुध्रुवीयतासँग जोड्छ ।
ट्रम्पको आयात कर आक्रामकताले आसियान र खाडी मुलुकहरूलाई अमेरिकासँगको आर्थिक सम्बन्धका विषयमा सचेत बनाएको छ । साझेदारीहरूलाई विविधता दिलाउन र व्यावहारिक विकल्पलाई अँगाल्नका लागि यसले अवसर प्रदान गरेको छ । बेइजिङसँग निकट सम्बन्ध राख्नु भनेको एउटा महाशक्तिको छत्रछायाँ छोडेर अर्कोमा ओत लाग्न जानु हैन । बरू, आसियान र जीसीसी दुवैले सम्भव भएसम्म चीन र अमेरिका दुवैसँग सम्पर्क राख्न खोज्छन् । तर हालैका घटनाक्रम हेर्दा वाशिङटनले आफ्नो फाइदाका लागि मुलुकहरूलाई चीनसँग सम्बन्ध टुटाउनका लागि दिइरहेको दबाबले काम नगर्न थालेको संकेत पाइन्छ।
बहुध्रुवीय विश्वमा स्वायत्त ध्रुव बन्नका लागि आसियानले महाशक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धालाई प्रभावकारी रूपमा सन्तुलन गर्न सक्छ कि सक्दैन भन्ने अहिलेको ज्वलन्त प्रश्न हो । क्षेत्रीय शक्तिहरूले यस सन्तुलनलाई कायम राख्दै एसिया प्रशान्त क्षेत्र र अन्यत्र सैन्य खेमा बनाउन कामलाई रोक्न सक्लान् ? विश्वमा भूराजनीतिक तनावहरू बढिरहेको बेलामा यो त्रिपक्षीय साझेदारी टिकिरहन सक्छ कि सक्दैन ? यी प्रश्नहरूको जवाफ समयले नै दिनेछ ।
(चाइना–सीईई इन्स्टिच्युटका गैरआवासीय रिसर्च फेलो लादिस्लाभ जेमानेकले आरटीमा प्रकाशित गरेको लेखलाई क्लिकमान्डुका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।)
प्रतिक्रिया