
मे २९ मा सगरमाथा आरोहण क्लोज हुन्छ । समय केवल ६ दिन बाँकी छ । चैत दोस्रो सातातिरै बेसक्याम्प पुगेकाहरू अहिले कोही आरोहणमा छन्, कोही तेस्रो/चौथो क्याम्पमा क्युमा छन् । म यसपालि सेमिफाइनल बेसक्याम्पसम्म भनेर वैशाख २७ मा पुगेको मान्छे, ट्रेनिङ सकाएको लगत्तै क्याम्प १ हुँदै क्याम्प २ पुगेको छु । अब यहाँबाट फाइनल अघि बढुँ कि, फर्कुँ कि, या रोटेसन मा जाऊँ ? शेर्पा साथीहरूसँग आजको साँझ परामर्शमा छु ।
रोटेसन भन्नाले ?
८ हजार मिटरभन्दा माथिको हिमाल आरोहण गर्ने क्रममा ६००० मिटरभन्दा माथिको उचाइमा पुगेपछि एक्लिमटाइज गर्न फेरि १५०० देखि २००० मिटर तलतर्फ आरोहीलाई फर्काइँदो रहेछ । त्यसरी तल फर्किँदा यात्रामा थप अभ्यस्त हुन र एक साता जति आराम गर्न अनुकूल हुँदोरहेछ । यही प्रक्रियालाई रोटेसन भनिँदो रहेछ ।
सफल आरोहण र अवतरण गर्न रोटेसन अत्यन्तै महत्त्वपूर्ण मानिँदो रहेछ । भारतीय सैनिकको एउटा टिम ७२०० मिटरको क्याम्प ३ बाट फर्किएर ४४१० मिटरको दिङबोचेमा रोटेसन र आरामका लागि पुगेको मैले वैशाख २४ मा भेटेको थिएँ । अहिले बुझ्दैछु ४०/४२ दिनको समय किन लाग्दो रहेछ । भारतीय सैनिकको टिम आज जेठ ८ गते क्याम्प ४ पुगिसकेको छ । आरोहण सम्भवत भोलि ।
छोटो रोटेसन लिने कि अघि बढ्ने ? दुई विकल्प
आँट र स्टेमिना निरन्तर साथ छन् । हाइ एल्टिच्युडसँग जुध्दै नै छु। टाउको दुख्ने या जिउ फतक्क गल्ने स्थितिबाट हालसम्म मुक्त छु । थोरै अनुभव, केही प्रशिक्षण र यहाँहरूको शुभेच्छा साथ छँदैछ । त्यसैले रोटेसन मा बेसक्याम्प झर्ने एउटा विकल्प भएपनि, समयको चाप दृष्टिगत गरेर भोलि जेठ ९ गते झिसमिसेमै क्याम्प ३ तर्फ मुभ हुनु उपयुक्त हुन्छ कि ? आजको साँझ यो टुंगो गर्दैछौं ।
यद्यपि उक्लनुभन्दा ओर्लनु कठिन
प्रशिक्षणमा म सबल उत्तीर्ण भएको उक्लिनमा हो । ओर्लिनमा मेरो दक्षताको चित्तबुझ्दो प्रगति, न मैले महसुस गरेको छु, न शेर्पा साथीहरूले गर्नुभएको छ । त्यसैले अझै माथि उक्लनु पूर्व ओर्लने क्षमता थप विकास गर्नुछ, रोटेसनले त्यो अभाव पूर्ति गर्नेछ भन्ने मानसिक र व्यवहारिक दबाब छ । श्रद्धेय पासाङ ल्हामुलाई स्मरण गर्दैछु । सफल आरोहण गर्नुभयो तर अवतरण क्रममा सदैवका लागि बिदा लिनुभयो । त्यसैले पिकको नजिक पुग्नै त लागें भन्ने भावनात्मक आवेगभन्दा अवतरण योग्यता विकासका लागि रोटेसन र हाइकिङको व्यवहारिक सतर्कताप्रति पनि म उत्तिकै गम्भीर छु । आजको साँझ यसबारे निधो लिनुछ ।
मे २९ मा क्लोज किन ?
तेन्जिङ शेर्पा र एडमण्ड हिलारीले प्रथम पटक सगरमाथा आरोहण गरेको मिति मे २९, अन्तर्राष्ट्रिय एभरेस्ट डेका रूपमा यो दिनलाई मनाइन्छ । यही दिनलाई आरोहण सिजनको अन्तिम दिन मानिन्छ । मे २९ को अन्तिम मिति राख्नुको अर्को कारण त्यसपछि मौसम थप बिग्रने अनुभव पनि रहेछ । जेठ १५/१६ तिर र त्यसपछि हिमपात र हिमपहिरोको प्रकोपबाट आरोहीहरूको जीवन रक्षाका लागि समिट क्लोज स्वाभाविक नै हो ।








प्रतिक्रिया