गभर्नर माथिबाट सेटिङ गरेर रबर स्ट्यामपझैं नियुक्ति हुने होला: स्वर्णिम वाग्ले (भिडियो)

168
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया लामो समयदेखि अल्झाएर चलखेल गरिरहेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्दै वाग्लेले सरकारले ‘सेटिङ’मा निर्णय लिने गरेको आरोप लगाए ।

‘सानो एउटा राष्ट्र बैंकको गभर्नर नियुक्तिमा दुई महिनादेखि प्रक्रिया अल्झिएको छ,’ वाग्लेले भने, ‘माथिबाट सेटिङ गरेर समिति गठन गरिन्छ, अन्ततः एउटा रबर स्ट्यामपझैं नियुक्ति हुने देखिन्छ।’

उनले सिफारिस समितिले स्वतन्त्र ढंगले योग्य व्यक्ति छान्ने सम्भावना निकै कम भएको दाबी गरे ।

वाग्लेले अर्थतन्त्र सुधारमा सरकारको ध्यान नपुगेको आरोप लगाए । ६ महिनाअघि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदनमाथि सरकारले कुनै कदम नचालेको उनको भनाइ छ ।

वाग्लेले सरकारलाई भुक्तानी, अनिवार्य दायित्व, उदारो असुली ऐन र जग्गा अधिग्रहणसम्बन्धी ऐन तत्काल ल्याउन सुझाव दिइएको स्मरण गराए ।

अहिलेको विशिष्ट परिस्थितिलाई सरकारले महसुस गर्न नसेको उनको भनाइ छ ।