
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच नेपाल राष्ट्र बैंकको गभर्नरका विषयमा केन्द्रित भएर झन्डै डेढ घण्टा छलफल भएको छ ।
नेपाल राष्ट्र बैंकको गभर्नर पद एक महिनादेखि रिक्त रहेको परिवेशमा आइतबार साँझ दुई शीर्ष नेताबीच सोही विषयमा पुनः छलफल भएको स्रोतको भनाइ छ।
राष्ट्र बैंकको गभर्नरबाट महाप्रसाद अधिकारी गत चैत २४ मा बिदा भएसँगै केन्द्रीय बैंक नेतृत्व विहीन छ ।
देउवा थाइल्यान्ड जानुअघि नै अर्थात् वैशाख २ गते नै राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन उपयुक्त हुने सल्लाह भएकामा हालसम्म पनि सरकारले गभर्नर नियुक्त गर्ने छाँटकाँट देखाएको छैन । सहमतिअनुसार गभर्नर नियुक्ति प्रक्रिया लामो समयसम्म अघि नबढेपछि देउवाले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
छलफलमा प्रधानमन्त्री ओलीले गभर्नर नियुक्ति प्रक्रिया थप ढिलाइ नगर्ने प्रतिबद्धता जनाएको देउवा निकटको उच्च स्रोतले क्लिकमान्डुलाई बतायो । ओलीले सिफारिस समिति पूर्ण भइसकेको र केही दिनभित्रै प्रक्रिया टुंग्याएर वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकबाट गभर्नर नियुक्त गर्ने गरी आश्वस्त पारेको उनको दाबी छ ।
भेटमा देउवाले गभर्नर पद १ महिनादेखि रिक्त रहेको र अब धेरै खाली राख्नु उपयुक्त नहुने बताएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले समितिले सिफारिस गरेपछि २५ गते नै गभर्नर नियुक्त गरिने बताएका थिए ।
‘गभर्नर १ महिनादेखि खाली हुँदा राम्रो सन्देश नजाने र खाली राख्नु ठिक नभएको भन्दै सभापतिज्यूले भन्नुभयो,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यूले सिफारिस समितिले पूर्णता पाएकोले २५ गते गभर्नर नियुक्त हुन्छ भन्नुभयो ।’
डा. गुणाकर भट्टलाई गभर्नर नियुक्ति गर्दा राम्रो हुने देउवाको भनाइ थियो ।
तर, कायममुकायम गभर्नर नीलम ढुंगा तिम्सिनाबाट डा गुणाकर भट्टको राजीनामा स्वीकृत भएको छैन । भट्टको राजनीनामा स्वीकृत गराएर उनलाई नियुक्त गर्ने तयारी रहेको स्रोतको भनाइ छ । ढुंगाना आफैं पनि गभर्नरको दौडमा रहेकीले आनाकानी गरिरहेकी छन् । प्रधानमन्त्री ओली ढुंगानालाई नेपालकै पहिलो महिला गभर्नर बनाउन चाहिरहे पनि सत्ता गठबन्धन दल कांग्रेसले दाबी गरेपछि अप्ठ्यारोमा परेका छन् ।
सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य राखेर समितिको पुनर्गठन गरिएको छ । अर्थमन्त्री संयोजक रहने समितिमा डा. विश्व पौडेले अर्का सदस्य हुन् ।
गभर्नरको स्वाद चाखिसकेको एमालले यो पद कांग्रेसलाई नदिने जोडबल गरिरहेको छ । कांग्रेस पनि कुनै पनि हालतमा गभर्नर नछोड्ने अडानमा छ ।
अब सिफारिस समितिले तीनजनाको नाम मन्त्रिपरिषदमा पेश गर्नु पर्नेछ । आइतबार साँझ ओली देउवाको भेटपछि अर्थमन्त्री विष्णु पौडेल देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । बजेटबारे छलफल गर्न पुगेका पौडेललाई देउवाले गभर्नरबारे पनि कुरा गरेको बताइएको छ ।
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले १ महिनासम्म पनि एक जना गभर्नर नियुक्त गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।
‘एक महिना बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन । दुई तिहाइको अहंकार त अब मैले हेर्दा त्यो बेलुन फुटिसकेको देख्छु,’ प्रचण्डले सोमबार प्रतिनिधि सभाको बैठकमा भने ।
उनले हरेक नियुक्ति र निर्णयमा स्वार्थ समूह नै हावी भएको आरोप लगाउँदै भने, ‘जनताले सेवा प्रवाह सहज रुपमा पाउन सकेका छैनन् । सार्वजनिक संस्थानमा चरम राजनीतिकरण भइरहेका छन् ।’







प्रतिक्रिया